टिपरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

झापा- झापामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

बाह्रदशी गाउँपालिका- ५ निवासी अन्दाजी ४६ वर्षीय सागर पौडेलको मृत्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।

प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका- ४ स्थित माई खोलाको पुलमा पूर्वतर्फ जाँदै गरेको प्रदेश ०३-००१ क ००-१ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१३ प ८३१९ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो साढे ३ बजे ठक्कर दिएको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक पौडेल र पछाडि सवार उनकी श्रीमती ४० वर्षीया गीता पौडेल गम्भीर घाइते भएका थिए।

घाइते दुवै जनालाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकोमा मोटरसाइकल चालक पौडेलको उपचारका क्रममा साँझ पौने ६ बजे मृत्यु भएको थियो।

इलाका प्रहरी कार्यालय सुरुङगाले टिपर चालक मकवानपुरको गडी गाउँपालिका- ८ निवासी २३ वर्षीय मन रत्न लामासहित दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ।