फटाहा र अपराधकर्ममा संलग्नहरुलाई ऐमालेको सरकार बनेपछि तह लगाइन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि आफ्नो पार्टी सरकारमा आउने दावी गर्नु भएको छ ।

शुक्रबार भक्तपुरमा आयोजित पार्टी निकट राष्ट्रिय युवा संघ, नेपाल बागमती प्रदेश स्तरीय निर्वाचन परिचालन भेलामा बोल्दै नेता बस्नेतले यस्तो दावी गर्नु भएको हो । उहाँले एमाले फुटाउने कर्ममा लागेका फटाहाहरु र अपराधकर्ममा लिप्त रहेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई सफाई दिई फेरी अर्थमन्त्री बनाउने अभियानमा संलग्नहरुलाई आफ्नो पार्टीको सरकार बनेपछि तह लगाउने चेतावनी समेत दिनु भयो ।

नेता बस्नेतले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विजयी गराउन सकेसम्म सर्वसम्मत उम्मेदवार चयन गर्ने र टोलटोलमा पार्टीको संगठन परिचालन गर्ने कामलाई तीव्रता दिने योजना बनाइएको पनि बताउनु भयो ।

नेता बस्नेतले मुलुकमा विकास निर्माण हुन नदिन, भ्रष्टाचारलाई प्रश्रय दिन, राष्ट्रियतालाई समाप्त पार्न सत्तारुढ गठबन्धन एमालेविरुद्ध लागि परेको आरोप समेत लगाउनु भयो ।