बन्दको प्रभाव : कतै तोडफोड, कतै आगजनी !

काठमाडौं, ७ भदौ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा कार्यकर्ताले आज नेपाल बन्दको आह्वान गरेको छ । बन्दको प्रभाव उपत्यकासहित देशैभर परेको छ ।

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीका साधन कम चलेका छन् भने निजि सवारी साधन संचालनमा रहेका छन् ।

उपत्यकामा बजार पनि निर्वाध रुपमा संचालनमा आएका छन् । बन्दका कारण शैक्षिक संस्था भने पूर्ण रुपमा ठप्प बनेको छ ।

राजधानीबाट बाहिर जाने सवारी साधनहरू फाट्टफुट्ट मात्र चलेका छन् । लामो दूरीका सवारी साधनहरू आज कम मात्रै चलेका छन् ।

यसैबीच, बन्दको अवज्ञा गरेको भन्दै काठमाडौंको कोटेश्वरमा एक सार्वजनिक बसमा बन्दकर्ताले तोडफोड गरेका छन् । बन्दमा चलाएको भन्दै कोटेश्वरमा बसमाथि ढुंगा प्रहार गरिएको हो ।

बन्दकर्ताले महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बसमा ढुंगा हानेका हुन् ।

यता, दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन् ।

चार/पाँच जनाको समुहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगो झोसेर भागेका थिए । आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ ।

कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् । कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

अत्तरियामा टिफिन बक्स जस्तो बस्तु कपडामा बेरेको अवस्थामा र हरैयामा करिब ५० मिटर लामो तारसहित प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले बताए।

यसैबीच, उपत्यकामा सडक अवरोध गराउँदै हिँडेका १८ जना पक्राउ परेका छन् । उनीहरुलाई नयाँ बानेश्वर, कोटेश्वरलगायत उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

सडक र गाडी चलाउन समस्या नहोस् भन्नका लागि सडकमा बिहानैदेखि सुरक्षाकर्मी खटिएका छन् । प्रहरीले ढुक्क भएर गाडी चलाउन आग्रह गरेको छ ।

राजधानीभित्र बजार खुलेको र यातायात चलेको भए पनि राजधानी बाहिरका शहरहरूमा भने यातायात र बजार ज्यादै न्युन मात्रामा चलेको प्रहरीले जनाएको छ ।

यसअघि सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज बन्द आह्वान गरेको बताइएको छ ।