काठमाडौंको फोहोर फाल्न रोक्ने को रहेछ सबै बालेनले पत्ता लगाए, प्रमाण सहित बाहिर ल्याए यस्तो तथ्य…

Spread the love

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सोमबार पनि फोहोर व्यवस्थापन सहज नभएको बताएका छन् । उनले सत्तारुढ दलकै स्थानीय नेताको अगुवाइमा भएको अवरोधका कारण फोहोर व्यवस्थापन गर्न समस्या भएको बताएका छन् ।

सोमबार फेसबकुमा स्टाटस लेख्दै उनले फोहोर व्यवस्थनमा राज्य संरचना निरीह बनेको टिप्पणी गरेका छन् । बञ्चरेडाँडमा ५ अर्ब भन्दा बढी लगानी गरिसकेको र दुई दशकदेखि योजना बनाएको अवस्थामा पनि फोहोर लैजान माथापच्ची गर्नुपरेकोमा उनले असन्तुष्टि जनाएका छन् ।

‘२०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरिह किन बन्छ ?’ बालेनले प्रश्न गरेका छन् ।

बालेनको भनाइको पूर्णपाठ
फोहोर लैजाने कुरा आज पनि सहज भएन । सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको देखियो ।

यद्यपि २०० भन्दा बढी प्रहरीहरुको परिचालनबाट फोहोरका गाडीहरु बञ्चरे लगियो । तर केही समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरियो । यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरु बञ्चरे डाँडा लैजान सकियो ।

केही दिन र केही समयबाट देखिरहेको समस्या सतही मात्रै हो । यसका गहिरा र अलग्गै कारणहरु छन् । नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढि लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नुपर्छ ? २०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरिह किन बन्छ ?

यहाँ केही कमजोरी, केही गल्ती भएकै छ । सिसडोलमा गरिएको लापरवाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयहरुले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन । तर हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहोर्‍याएर अपराध गर्ने छैनौँ ।

यसका लागि केही समय भने पक्कै लाग्छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगिताका लागि महानगर संवेदनशील छ । हामी आफूले गरेका सहमतिहरुको पालना गर्नेछौँ । सबै पक्षबाट हामी त्यही किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राख्दछौँ ।

पुन: भन्न चाहन्छौँ, व्यवस्थापन हाम्रो स्वार्थहरुको गर्नु पर्ने होइन, फोहोरको हो । आफ्ना कुत्सित स्वार्थहरुको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भएको छ भने त्यो भ्रम हो । त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन । सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर छ ।

गगन थापा भन्छन् : फोहोरमाथिको राजनीति स्वीकार्य हुँदैन
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फोहोरमा राजनीति जो सुकेले गरे पनि स्वीकार्य नहुने बताएका छन् ।नेपाली कांग्रेसले स्थानीय तहका जनप्रतिनिधिका लागि काठमाडौंमा राखेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै फोहोरको विषय संवेदनशील भएकोले एक ठाउँमा बसेर छलफल गर्नुको विकल्प नभएको बताए । उनले जुनसुकै दल सहभागी भए पनि फोहोरलाई राजनीति गरे ठिक नहुने तर्क गरे ।

काठमाडौंको जनप्रतिनिधिले प्रधानमन्त्री भेट्न चाहेको भन्दै उनले प्रधानमन्त्री र मन्त्रीले समस्या समाधानको लागि कदम चाल्न आग्रह गरेको पनि सुनाए । थापाले शहरी विकास मन्त्रालयले फोहोर व्यवस्थापनको लागि अग्रसरता लिनुपर्ने बताएका छन् ।

‘मन्त्रालयले धादिङ र नुवाकोट प्रभावित क्षेत्रका जनप्रतिनिधि सहित सबै सम्बन्धितलाई एकै ठाउँमा राखेर छलफल गराउनुपर्छ,’ उनले भने, ‘मैले शहरी विकास मन्त्री मेटमणी चौधरीसँग कुरा समेत गरिसकेको छु, उहाँ काठमाडौं बाहिर हुनुहुँदो रहेछ सचिवलाई भन्नुस भनेको छु । तत्काल छलफल अगाडी बढाउनुको विकल्प छैन । अब शान्त भएर एकठाउँमा बसेर निष्कर्शमा पुग्नुपर्छ ।’

अनुगमन संयन्त्र आवश्यक
महामन्त्री थापाले फोहोरको अनुगमन गर्न संयन्त्र आवश्यक रहेको टिप्पणी गरेका छन् । ‘स्थानीय निर्वाचनमा पछि काठमाडौंमा जम्मा भएका फोहोरको विषयमा महानगर र स्थानीयबासिन्दाबीच केहि सम्झौता भए, संघीय सरकारले पनि केहि सम्झौता गर्‍यो ।

तर कहिलेकाहीं सम्झौता भनेको समयमा चाहेर पनि पूरा गर्न नसकिएला, हाम्रो प्रक्रिया यस्तै छ,’ उनले भने, ‘फेरि वर्षाको समय पनि छ, त्यसकारण एउटा बलियो अनुगमन संयत्र बनाउनुपर्छ भनेर मैले सम्झौताकै बेलामा भनेको थिएँ ।’

थापाले अघि भने, ‘अनुगमन संयन्त्रमा काठमाडौंको पनि, धादिङको पनि सांसदहरु राखौं, अनुमगन पनि भनौं सहजीकरण पनि भनौं । जसले स्थानीय स्तरमा आएका समस्याको गाँठो फुकाउन सकिन्छ । आवश्यकता पर्‍यो प्रधानमन्त्री झकझकाउन सकिन्छ, मन्त्रीलाई भन्न सकिन्छ ।’

संकट परेकोे बेला सम्झौता हुने पछि गएर सम्झौता कुरा यत्तिकै छोडिदिने प्रवृत्तिले समस्या भएको भन्दै थापाले सम्भौताको विषयमा एकठाउँमा बसेर वार्ता गर्नुुपर्ने आवश्यकता रहेको टिप्पणी गरे ।