म र मेरो श्रीमतीको सबै सम्पत्ति सरकारका नाममा दिएँ, मसँग उपचार गर्ने पनि पैसा छैन: ओली

Spread the love

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग स्वास्थ्योपचारका लागि समेत पैसा नभएको बताएका छन्। उनले आफ्नो र आफ्नो श्रीमतीको नाममा रहेको सबै सम्पती मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको बताए। घरघडेरी बेचेर उपचार गर्छु भन्न पनि मिल्ने अवस्था नरहेको बताए।

उनले यो सबै आफ्नो कर्म देशका लागि समर्पित रहेकोले देशकै लागि सम्पती दान गरेको बतााए। अध्यक्ष ओलीले आफ्नो समर्पण सक्रिया किसिमको रहेको बताए। उनले देशको विकासका लागि काम गर्दा बिरोधीहरुले काम गर्न नदिएको भन्दै देश विकास र समृद्ध बनाउने अभियानमा अघि बढीरहने प्रतिवद्धता जनाएका छन्। उनले कुनैपनि युवाभन्दा आफू सक्रियतामा कम नरहेको दाबी गरे।

उनले भने, ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्नेमात्र होइन, मैले आफ्नो प्राइभेट प्रपर्टी, मेरो, मेरो श्रीमतीको सम्पूर्ण सम्पती आफ्नो होइन अब राज्यको सम्पती भनेर पास गरिसकेको छ। किनभने म देशका लागि समर्पित छु। त्यसकारण मेरो घर म बाचुन्जेल, मेरो श्रीमती बाचुन्जेल, म बस्न पाउँछु, त्यसपछि राज्यको हुन्छ। बिरामी भएँ भने तपाईँहरुले उपचार गराउनु भयो भने हो नत्र मसँग पैसा छैन। सांसद छु सांसदको हिसावले थोरै त आउँछ। नत्र मैले घर बेचेर उपचार गर्छु भन्न मिल्दैन, राज्यलाई दान दिइसकेँ। मेरो डेडिकेशन छ, तर इनएक्टिभ खालको होइन, एक्टिभ छ। जबसम्म म जीवित रहन्छु देशका लागि जनताका लागि रहन्छु। कुन्ती मोक्तानले गाएको म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर भने झैँ छु। गीत पनि गाउँदै गर्छु अघि पनि बढ्दै गर्छु। आफ्नो कुरामा आफ्नो अभियानमा म अघि बढीरहन्छु। म युवाहरु भन्दा कम सक्रिय छैन।’

अध्यक्ष ओलीले राजनीतिक दलले युवालाई महत्व नदिएको भन्ने कुरा सत्य नरहेको जिकिर गरे। उनले नेकपा एमालेले काठमाडौं महानगरपालिकामा २९ वर्षको उपमेयर बनाएको उल्लेख गर्दै अन्य पार्टीलाई २९ वर्षका युवालाई उम्मेदवार बनाउने हिम्मत गरेर देखाउन चुनौती दिए।

उनले आफ्ना नयाँ युक्तिहरुलाई अघि सारेर ज्येष्ठ नागरिकका कुरा सुनेर अघि बढ्नुपर्ने बताए। देशमा हिंसा सिर्जना भएका कारण युवाहरु परिवार पाल्न विदेश जानुपरेको बताए। उनले यो क्रम माओवादी जनयुद्ध शुरु भएपछि युवाहरु विदेश पलायन भइरहेको बताए। उनले विदेश पलायन हुने युवाको अवस्था भयावह रहेको बताए।