घुमिफिरी रुम्जाटार : ७ वर्षपछि प्रचण्ड-बाबुराम एकैठाउँ

काठमाडौं, २९ साउन । माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नवगठित नेपाल समाजवादी पार्टी एउटै चुनाव चिन्ह लिएर चुनाव लड्न सहमत भएका छन्। माओवादी पार्टीबाट बाहिरिएको ७ वर्षपछि घुमिफिरी रुम्जाटार भनेझै डा. बाबुराम भट्टराई माओवादीकै चुनाव चिन्हबाट आउने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा भाग लिने भएका हुन् ।

माओवादी अध्यक्ष प्रचण्डसँगको चरणबद्ध वार्तापछि एउटै चुनाव चिन्ह र घोषणापत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने सहमति भएको छ । यसको औपचारिक घोषणा भने भोलि साझसम्म हुने नेताहरुले बताएका छन् ।

बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी गोलाकारभित्रको हसिया हथौडाबाट चुनाव लड्ने सहमति भएको छ । दुवै पार्टीको घोषणापत्र पनि एउटै हुनेछ ।

दुई पार्टी एक चुनाव चिन्हको मान्यताबाट अघि बढिने र निर्वाचन आयोगमा पनि सोही बमोजिम जानकारी गराइने भएको छ । योबाहेक सीट बाँडफाँटका बारेमा भने छलफल हुन बाँकी छ । नेसपा दल अलग्गै रहे पनि चुनाव चिन्ह भने माओवादीको कायम हुनेछ ।

बाबुराम भट्टराई माओवादीको चुनाव चिन्हबाट चुनाव लड्न सहमत भएसंगै माओवादी नेताकार्यकर्तामा उत्साह छाएको माओवादीका एक केन्द्रिय नेताले जानकारी दिए। बाबुराम माओवादीकै चुनाव चिन्हबाट चुनाब लड्नु भनेको उनि माओवादीमै समाहित हुने प्रक्रियाको थालनी भएको समेत ति नेताको तर्क रहेको छ।