‘प्रेम गीत ३’ को प्रमोशन जतातै,प्रदिप खड्काको फ्यानहरु उत्साहित

बहुप्रतिक्षित नेपाली सिनेमा ‘प्रेमगीत ३’ निर्माण टिमले आधिकारिक रुपमा प्रमोशनको काम सुरु गरिएको जनाएको छ । निर्देशक तथा निर्माता सन्तोष सेन मुम्बईबाट फर्किए लगत्तै अब आफु लगायत आफ्नो टिम सिनेमा प्रदर्शन मिति असोज ७ लाई टार्गेट गरेर प्रचार-प्रसारमा होमिएको बताए । हिजो मात्रै गोगंबुस्थित लोत्से मलमा सिनेमाका मुख्य कलाकारसहितको भब्य ब्यानर राखिएको छ ।

अब काठमाडौंसहित नेपालभरका मुख्य शहरमा यसैगरी प्रचार-प्रसारका सामाग्री राखेर प्रेमगीतमय बनाइने निर्माता तथा निर्देशक सेनले बताए । त्यसपछी मात्रै दर्शक भेटघाट, मिडिया प्रमोशन, सोसल साइट प्रमोशन लगायतमा ध्यान दिने तयारी छ । नेपालसँगै भारतमा पनि प्रदर्शन गर्ने तयारी गरिएको सिनेमा कोरोना महामारीका कारण पछि सरेको थियो । अनिश्चित कालका लागि सरेको सिनेमाको प्रदर्शन अन्नतः केही समय अघि निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै यो वर्ष असोज ७ गते हुँदैछ ।

दशैंको समयमा प्रदर्शन हुन लागेको सिनेमाले ५० बर्षे नेपाली सिनेमाको इतिहासमा यसले अन्तर्राष्ट्रीय सिनेमा बजारमा पहिलोपटक ढोका खोल्ने धेरैको अनुमान छ । नँया प्रदर्शन मिति घोषणा भएसंगै दर्शकहरु निकै उत्साहित छन् । सिनेमामा अभिनेता प्रदीप खड्का र अभिनेत्री कृष्टिना गुरुङ मुख्य भूमिकामा छन् । सिनेमामा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय छ ।

यसअघि सिनेमाका अन्य दुई श्रृङ्खला ‘प्रेम गीत र प्रेम गीत २’ बक्स अफिसमा सफल छन् । सिनेमाको तेस्रो भाग भने अधिल्ला प्रोजेक्ट भन्दा धेरै अपेक्षा गरिएको छ । स्व। छेतेन गुरुङ र निर्माता सन्तोष सेनले निर्देशन गरेको सिनेमाको कथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । सिनेमा भारतमा ‘विश्वजीतम्’ नाममा रिलिज हुँदैछ ।