पल शाहविरुद्ध नवलपुरमा जबरजस्ती करणीसम्बन्धी अर्को किटानी जाहेरी

नवलपुर। अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी परेको छ। आइतबार गैँडाकोट क्षेत्रमा बलात्कार गरेको भन्दै पीडित नाबालिका गायिकाले इलाका प्रहरी कार्यालय गैँडाकोट नवलपुरमा अर्को किटानी जाहेरी दिएकी हुन्।

आज (आइतबार)  दिउँसो आफन्तहरूसहित ती गायिकाले प्रहरी कार्यालयमा पुगेकी छिन्। उनी अहिले पनि प्रहरी कार्यालयमा रहेकी छन्।प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा गैँडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ। जाहेरीमा भनिएको छ, ‘एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए।’

जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन्। लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो। आज (आइतबार) शाह आफैं तनहुँ प्रहरीमा हाजिर भएका छन्।