एमाले रणनीति : ‘एमसीसी पास गराउने, सरकार ढलाउने !

काठमाडौं। संसदबाट एमसिसी अनुमोदन गर्न सत्तागठबन्धनमै रहेका दलहरूबाट सहयोग नपाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षी एमालेसँग ‘निर्णायक’ संवाद थालेका छन्।

एमाले अध्यक्ष केपी ओलीले पनि ‘एमसिसी फेल हुन नदिने’ वचन दिएका छन्। सभामुखको विकल्प खोज्ने र एमसिसी अनुमोदन गर्ने गरी प्रधानमन्त्री देउवाले एमालेसहितको नयाँ गठबन्धन बनाउने पहल थालेका हुन्।

एमसिसी अनुमोदनको सुनिश्चितता तय गर्न बिहीबारको संसद् बैठक स्थगन गरेर प्रधानमन्त्री देउवाले आफैँ र निकट नेताहरूमार्फत वैकल्पिक गठबन्धनका लागि दिनभर वार्ता गरे। प्रधानमन्त्री देउवा र ओलीबीच दिउँसो संसद् भवन नयाँ बानेश्वर र साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा सदनको अवरोध हटाउने, सभामुखको विकल्प खोज्ने, एमसिसी अनुमोदन गर्ने र सत्ता साझेदारीका विषयमा छलफल भएको छ। स्रोतका अनुसार ओलीले एमसिसी फेल हुन नदिने ढाडस प्रधानमन्त्री देउवालाई दिएका छन्।

‘एमसिसी फेलैचाहिँ हुन दिइन्न,’ स्रोतका अनुसार प्रधानमन्त्रीसँगको छलफलमा एमाले अध्यक्ष ओलीको भनाइ थियो। छलफल सकारात्मक ढंगले अगाडि बढेको भन्दै ओलीसँगको छलफलबारे प्रधानमन्त्री देउवाले ‘कोर टिम’भित्र ब्रिफिङ गरेका छन्। उनी अमेरिकाले दिएको १६ फागुनको समयसीमाभित्र जुनसुकै हालतमा एमसिसी अनुमोदन गर्ने रणनीतिमा छन्।
नयाँपत्रिकाबाट।