एक्कासी किन पुगे प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवासमा?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । शीतल निवासमा साढे ७ बजेदेखि भेटवार्ता जारी रहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो ।

मन्त्रिपरिषद् बैठकका निर्णय जानकारी गराउन प्रधानमन्त्री ओली शीतल निवास पुगेको बताइएको छ । यसैबीच, सरकारले संसद् अधिवेशन आह्वान गर्ने तयारी पनि गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नीति तथा कार्यक्रमअगावै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने छलफल पनि भइरहेको बताएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विश्वासको मत प्राप्त नगरी सरकारले बजेट ल्याउन नमिल्ने बताइरहेको छ ।

यो पनि पढ्नुहोस

काठमाडौं । नेकपा (एमाले) सहमतितिर अघि बढिरहँदा राष्ट्रियसभा सदस्यको उपनिर्वाचन बाधक बन्ने खतरा देखिएको छ । यही जेठ ६ गते हुने उपचुनावमा एमालेकै दुईजना उमेदवार मैदानमा छन् । एमालेको आधिकारिक उमेदवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छन् । गठबन्धनका तर्फबाट डा. खिमलाल देवकोटा मैदानमा छन् ।

एमाले विवाद उत्कर्षमा पुगेका बेला नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसमेतलाई सहमत गराएर नेता नेपालले साझा उमेदवार खडा गरेका हुन् । मौन अवधि सुरु हुनुपूर्व मंगलबार उमेदवार बादल नेता नेपाल भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए ।

नेता नेपालले सहयोग गर्न नसक्ने बताएको उनको सचिवालयले स्पष्ट पारेको छ । “आज रामबहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेता माधवकुमार नेपालले उमेदवारी दर्ताको परिस्थितिमा अन्य दलहरूसहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उमेदवार बनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो,” सचिवालयले भनेको छ ।

त्यसपछि थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौँ भन्ने प्रस्ताव गरेको सचिवालयले जिकिर गरेको छ । “मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ,” सचिवालयले भनेको छ ।

नेता नेपालले यस्तो बताएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्ष अहिले आन्तरिक परामर्शमा जुटेको छ ।

आजै निर्वाचन परिचालन कमिटीको बैठक सिंहदरबारमा बसेको थियो । पार्टी महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको कार्यकक्षमा बसेको बैठकमा परिचालन कमिटीका संयोजक तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाडौंका जिल्ला अध्यक्ष कृष्ण राई, काभ्रेका सांसद गोकुल बास्कोटासमेत बसेर मतको आँकलन गरेका थिए ।

त्यही समूह अहिले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा छलफलमा छ । उनीहरूले नेपाल समूहले मत नहाल्ने निष्कर्ष निकालेका छन् । व्यक्तिगत सम्पर्कका आधारमा मत तानेर बादललाई जिताउने रणनीति तयार पारिरहेको बुझिएको छ ।