नेपालमा काेराेनाकाे थप नयाँ भेरियन्ट पुष्टि, ‘सबै उमेर समूहमा धेरै सङ्क्रामक र जोखिमपूर्ण’

काठमाण्डौ – नेपालमा काेभिड–१९ (काेराेना भाइरस) काे थप नयाँ भेरिएन्ट पत्ता लागेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति निकालेर नेपालमा काेराेना भाइरसकाे थप नयाँ भेरिएन्ट पत्ता लागेको जानकारी गराएको हो । योसँगै नेपालमा अहिलेसम्म कोरोनाका तीन किसिमको भेटिएन्ट पुष्टि भएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

मन्त्रालयकाअनुसार गएकाे हप्ता देशका विभिन्न ठाउँबाट ३५ नमुना सङ्कलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो । भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मङ्गलवार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात् एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ । यो दुवै भेरिएन्ट भारतमा पहिलो पटक भेटिएको थियो ।

यो नयाँ भाइरसले सबै उमेर समूहमा धेरै सङ्क्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरूले पुष्टि गरेकोसमेत मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । नयाँ भेरिएन्ट पुष्टि भएसँगै अब थप स्वास्थ्य मापदण्डमा कडाइ गर्नुपर्ने भएको र यसमा सबैले आ–आफ्नो भूमिका बढाउन मन्त्रालयका सह–प्रवक्ता अधिकारीले आग्रह गर्नुभएको छ ।