फरार प्रतिवादी पक्राउ : नेपाल प्रहरी

काठमाडौं, २०७७ भदौ १३ गते

भक्तपुर, सूर्यविनायक नगरपालिका-१० चितापोलबाट बैंकिङ कसुर सम्बन्धी मुद्दाका फरार प्रतिवादी सोही ठाउँ बस्ने ५० वर्षीय दिनेश कार्कीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
कैलाली, जिल्ला अदालत कैलालीको २०७५ भदौ २१ गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ४ वर्ष ११ महिना २ दिन कैद सजाय भई फरार रहेका प्रतिवादी गौरीगंगा नगरपालिका-२ बस्ने २६ वर्षीय बल बहादुर रानालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चौमलाबाट खटिएको प्रहरीले गौरीगंगा नगरपालिका-२ स्थितमा फेला पारी पक्राउ गरेको हो । रानालाई जिल्ला अदालत कैलालीको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय कैलालीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यसैगरी जिल्ला अदालत कैलालीको २०७१ पुस ३ गतेको फैसलाले जालसाजी मुद्दामा १ लाख २८ हजार १ सय २५ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका प्रतिवादी जोशिपुर गाउँपालिका-३ बस्ने ४० वर्षीय शिब प्रसाद डगौरालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । डगौराले जग्गाको कागजातमा सोही ठाउँ बस्ने सुन्दरी दासको किर्ते सहिछाप गरी नक्कली कागज गरी फरार भएका थिए । ईलाका प्रहरी कार्यालय जोशिपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनलाई आफ्नै घरमा फेला पारी पक्राउ गरेको हो । डगौरालाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत कैलालीमा पेश गरिएको छ ।

यसैगरी जिल्ला अदालत कैलालीको २०७१ जेठ २५ गतेको फैसलाले चोरी मुद्दामा १ लाख १७ हजार ५ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका २ जना प्रतिवादीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलारी गाउँपालिका-८ बस्ने ३२ वर्षीय पप्पु चौधरी र सोही ठाउँ बस्ने २९ वर्षीय नरेश चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनीहरुलाई आ-आफ्नै घरमा फेला पारी पक्राउ गरेको हो । पक्राउ दुवै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत कैलालीमा पेश गरिएकोमा अदालतको आदेशले पुर्पक्षका लागि कारागार कार्यालय कैलालीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।