रवि लामिछानेले ‘नेतृत्व’ खोज्ने एउटा रियालिटी शो चलाउने भएछन् । अरिङ्गालको गोलो त्यतै खनिन शुरू भएछ ।

– नारायण गाउँले , बेलायत।
तर्क छ, नेता ‘आन्दोलन’ले जन्माउने हो, रियालिटी शो’ले होइन । उसो त सुन्दरी जन्मिने पनि सुन्दरी प्रतोयोगिताबाट होइन, आमाबाट हो । गायक जन्मिने साधनाबाट हो ‘नेपाल आइडल’ या ‘सारेगमप’बाट होइन ।

तिनलाई लाग्दो रहेछ, नेता जन्मिने ढोका सधैँ एउटै हुन्छ र त्यसको चाबी तिनीहरूसँग मात्रै छ । रविहरूले ‘नेता’ खोज्नु अपराध हो ।
आन्दोलनको अर्थ पनि तिनको दिमागले हत्या, हिंसा र विनाशबाहेक अर्को लगाएजस्तो लागेन । विश्वविद्यालयबाट, खेल मैदानबाट, समाजसेवाबाट, कृषिबाट, कलाबाट, टेलिभिजनबाट या समाजका अन्य कुनै पनि अङ्गबाट नेता जन्मिन सक्छन् भन्ने बुझ्न तिनलाई अझै केही समय लाग्दो हो । रियालिटी शोहरू पनि एउटा आन्दोलन बन्न नसक्ने ग्यारेन्टी तिनले कसरी गर्न सक्छन् ?

तिनलाई विश्वास त छैन तर डर त लाग्दो हो नै कतै यस्ता कार्यक्रमले साँच्चिकै एक दुई नेता जन्मिए भने आफ्ना नेताको ठाउँ खोसिने त होइन ? ती आफै भने नेता होइनन् ।

रियालिटी शो अनेक विषयमा हुन सक्छन् । ‘नेतृत्व’मा हुन नसक्ने कुरो भएन । त्यहाँ केही प्रतिभाशाली युवाहरूले भाग लेलान्, देश र समाजका विकृति र समस्याबारे बोल्लान् र समाधानका प्ऱ्याक़्टिकल उपायहरू बताउलान् । देशका युवाहरूमा देश र समाज बनाउने कस्तो भिजन रहेछ भन्ने दर्शकले थाहा पाउलान् र मन पर्नेलाई भोट गरेर प्रतियोगिता जिताउलान् । पार्टीका हनुमानहरू त विरोधमैं भएकाले पक्कै भाग लिन नजालान् । नेतृत्व विकास ढुङ्गा बोकेर मात्रै हुँदैन भन्ने बुझ्ने अवसर पनि बन्न सक्ला यो । आज अक्सफोर्डदेखि हार्वर्डजस्ता विश्वविद्यालयमा ‘नेतृत्व विकास’का शैक्षिक कार्यक्रमहरू चल्छन् । तिनले नेता जन्माउन सकिन्छ भन्ने सोच्छन् ।

दलबहादुरहरूको ठोकुवा के छ भने ती विजयीहरू सामाजिक सञ्जालमा नेता बन्लान् तर चुनाबमा पक्का फेल हुन्छन् ।
रविले चलाउने शोले सांसद या प्रधानमन्त्री जन्माइहाल्छ भन्ने होइन । यस्ता शो जित्नेहरू हराएर जान पनि सक्छन् । तर लिडर बन्ने भनेको संसदको चुनाब जित्ने भन्ने मात्रै होइन । तिनको आत्मविश्वास, ज्ञान र उत्साह बढ्यो भने तिनले समाजका विभिन्न क्षेत्रमा नेतृत्व गर्न सक्छन् । दलहरूले तिनलाई नेतृत्वमा ल्याए सबैलाई राम्रै हुन्छ ।

आजको विश्व एउटा गाउँजस्तो छ । हामीलाई ढुङ्गा हान्ने र जेल बस्ने मात्रै नेता चाहिएला, त्यसमा केही समस्या छैन । विश्वले यस्ता प्रतिभाशाली नेतालाई सजिलै एडप्ट गर्न सक्छन् । यस्ता प्रतिभालाई ‘म्यानेजर’का रूपमा हेरिन्छ र धेरै देशले यस्ता म्यानेजर हायर गर्छन् । ब्याङ्क अफ इंग्ल्याण्डले क्यानेडियन म्यानेजर हायर गर्न सक्छ, गुगलले इण्डियन म्यानेजर नियुक्त गर्न सक्छ भने भोलि यस्ता केही नेपाली प्रतिभा विश्वका अन्य कुनै क्षेत्रमा नबिक्लान् भन्ने के ग्यारेन्टी छ र ? नबिक्लान् रे, यस्तो कार्यक्रममा प्रतिभा देखाएर र माझेर कसैको केही बिग्रिने त होइन । राज्यलाई दुई रुपियाँ भए पनि ट्याक्स आउँछ र दुईचार जना युवाले प्रतिभा देखाउन पाउँछन् भने अरूको टाउको दुख्नुपर्ने एकमात्र कारण अवचेतन मनको डर नै हो ।

आफै चुनाब हारेकाहरू निर्णायक छन्, तिनले जन्माउने नेता कसरी सफल हुन्छ भन्ने तर्क अलि बच्चा खालको छ । रवीन्द्र मिश्र होऊन् या बाबुराम, आफ्नो क्षेत्रमा हामीभन्दा अब्बल र सक्षम व्यक्ति हुन् । हामी ती जत्तिको बन्न सके पनि सफल हुन्छौं । एउटा सफल पत्रकार हुन्, अन्तर्राष्ट्रिय मिडिया समूहको सफल नेतृत्व गरेका हुन् र अर्का अर्थमन्त्री हुँदै प्रधानमन्त्रीसम्म बन्न सफल भएका नेता हुन् । तेस्रो त पूर्वप्रधान न्यायाधीश नै रहिछन् । के केपी ओली र शेरबहादुरलाई निर्णायक बनाउने ? रवि लामिछाने आफैमा लोकप्रिय र सफल पत्रकार हुन् । नेता हुन् । कुनै झण्डाबिना चितवनमा लाखौं व्यक्ति समर्थनमा उत्रिएको बिर्सिनुभो ?

रेफ्रीले खेल खेलाउने र विजयी छान्ने हो । रेफ्री आफै खेलेर गोल गर्ने होइन । रेफ्रीहरू सफल फुटबलर हुनै पर्ने भन्ने पनि छैन । सुन्दरी प्रतियोगिताका निर्णायकहरू प्रतियोगी भन्दा सुन्दर हुनुपर्ने नियम हुन्छ र ? रवीन्द्र या बाबुरामले नेता जन्माउने होइन । प्रतिभाशाली व्यक्ति छान्ने हो । नेतृत्वका गुण भएका व्यक्ति छान्ने हो । त्यसका लागि चाहिने जति क्षमता तिनमा छ । छैनजस्तो लाग्छ भने नहेर्ने र भोट नगर्ने हाम्रो अधिकार सुरक्षित छँदै छ ।

दलबहादुर नबनी बाँच्नै नसकिने त होइन नि !