नेपाली खेल जगतका उदियमान तारा रोमी गिरी

रामकुमार श्रेष्ठ

बुद्ध जन्मेको देश शान्तिको देशबाट विश्व तेक्वान्दो महासंघ तथा नेपाल तेक्वान्दो संघको प्रतिनिधित्व गर्दै नेपालकी छोरी २३ वर्षीया रोमी गिरी यहाँहरु माझ उपस्थित छु….राष्ट्रसंघमा बोलिसकेपछि रोमीलाई लाग्यो “अब अझै धेरै चुनौतीसँग जुध्न सक्ने र जिम्मेवारी सम्हाल्ने ताकत राख्नुपर्छ” भलै यो नै उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता भने थिएन ।

विस्वभरका तेक्वान्दो खेलाडीहरुको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको मुख्यालयमा मन्तव्य दिन जाने भएपछि रोमी गिरीलाई मैले सन्देश पठाएँ, “बहिनी, मन्तब्य दिने क्रममा बिशेष गरी केही प्राबिधिक कारणले गर्दा वुद्ध जन्मस्थल बिषयमा विस्वब्यापी दिग्भ्रम सिर्जना भएको कारण  नेपाललाई वुद्धको जन्मभूमिको रुपमा उल्लेख गर्न नभुल्नू है” ।

एउटा सच्चा राष्ट्रबादीको लागि यो प्रस्ताब अस्वीकार्य हुने भन्ने कुरै थिएन र उताबाट स्वीकारोक्तियुक्त जबाफ आयो ।

२९ अप्रिल, सन् २०१६ का दिन रोमी गिरीले राष्ट्र संघमा मन्तब्य दिने क्रममा “बुद्ध जन्मेको देश र शान्तिको देशबाट विश्व तेक्वान्दो महासंघ तथा नेपाल तेक्वान्दो संघको प्रतिनिधित्व गर्दै म नेपालकी छोरी २३ वर्षीया रोमी गिरी यहाँहरु माझ उपस्थित छु…” भन्दै शुरु गरिन ।

रोमीले राष्ट्र संघमा मन्तब्य दिराख्दा कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बच लगायत अन्तराष्ट्रिय खेल जगतका विशिष्ट व्यक्तित्व र खेलाडीहरुको उपस्थिति भएकोले त्यो क्षण रोमी वा उनको परिवारका लागि मात्र नभएर नेपाली तेक्वान्दो तथा खेलकुद क्षेत्रका लागि गर्विलो क्षण थियो । राष्ट्र संघमा त्यसरी मन्तब्य दिने सबैभन्दा कम उमेरकी नेपाली युवती पनि भएकीले त्यो क्षण संपूर्ण नेपालीको लागि पनि गर्बिलो क्षण थियो ।

                     रोमी र उन्की बहिनी रोजी राष्ट्रपतिसंग

निर्धारित नेपाली सामाजिक बिभिन्न घेराबाट बाहिर आएर आफ्ना अभिभाबककै नजरमा समेत ‘बिग्रिएकी छोरी’ बनेकी तिनै रोमी पहिलो महिला एथ्लेटको रुपमा राष्ट्र संघमा बोलिराख्दा बिशेषत: उन्का अभिभावकहरुले आफूलाई कति गर्बिलो महसूस गरे होलान भन्ने कुरा हामीले त अनुमान गर्ने मात्रै हो ।

आमाबुबाले समय नै भएको छैन भन्दाभन्दै पनि तेक्वान्दो पाँचौ डानका काका सोभित गिरीले हौस्याएका कारण ८ वर्षदेखि नै अनेकन समस्याका बाबजूद खेल्न शुरु गरेकी रोमी स्कूले जीवनको अधिकांश समय पढाइभन्दा बढी खेल्नमै बिताउँथिन । उन्को बिशेष लगावका कारण एसएलसी पास गर्नुअघि नै तेक्वान्दोमा सेकेन्ड डान पनि भइन् र नयाँ खेलाडीहरुको गुरु बनिन् । तेक्वान्दो सिकाएर कमाउने भइन् ।

समाजले चाहेजस्तै छोरी बनोस् भन्ने चाहनाका कारण ड्याडी ममीले छोरीले घर नछोडोस् भन्नेतिर जोड दिने भएकोले आफ्नो कुरो सुन्ने साथीहरुसँगै धेरै समय बिताउँथिन रोमी र पनि पढाईलाई भने राम्रै निरन्तरता दिन पनि छाडिनन । पढाइकै बीच हो उन्ले राष्ट्रसंघको कार्यक्रममा गएर बोलेको । उन्का लागि यो अवसर र चुनौती दुवै भएकोले यस्मा उनी

                                    उपराष्ट्रपतिसंग

खुशी मात्रै नभएर उनीभित्र एक किसिमले डर पनि लागिरहेको थियो । राष्ट्रसंघमा बोलिसकेपछि रोमीलाई लाग्यो “अब अझै धेरै चुनौतीसँग जुध्न सक्ने र जिम्मेवारी सम्हाल्ने ताकत राख्नुपर्छ” भलै यो नै उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता भने थिएन । सन् २०१५ मै जापानको टाकोहुमा आयोजित १४ औँ युथ लिडरसीप कार्यक्रममा नेपाल तेक्वान्दो संघको प्रतिनिधित्व गर्दै सहभागिता जनाइसकेकी थिइन् ।

महिलालाई शारीरिक मात्र नभएर बौद्धिक रुपमा पनि कमजोर मान्ने, हेप्ने, दबाउने परिवेशबीच परिवार, समाज र आफू जोडिएका संस्थाहरुमा प्रतिबद्ध स्वभावका कारण आफ्नै परिचय स्थापित गर्न सक्षम रोमी जिद्धी र रहर मार्न नसक्ने बानीले गर्दा नै यहाँसम्म आइपुग्न सफल भएको ठान्छिन । केही गरेर नदेखाएसम्म आफ्नो क्षमतामाथि अरुले विश्वास नगर्ने भएकोले प्रयासलाई निरन्तरता दिन छाडन नहुने ठान्छिन उनी ।

खेलकुदले गर्दा छोरीको पढाई ध्वस्त हुन्छ भन्ने आमाबुबाको अनुमानलाई गलत प्रमाणित गरिदिइन । पढाइ र तेक्वान्दो दुवैलाई निरन्तरता दिंदै फोर्थ डानसम्म पुरा गरिन् भने एमबीए पनि गरिन् । नेपाल तेक्वान्दो महासंघको तर्फबाट दक्षिण कोरियाको इन्चोनमा वर्ल्ड तेक्वान्दो फेडेरेसनमा रहेर वर्ल्ड तेक्वान्दो अन्तर्गतको कार्यक्रमकै अंशको रुपमा अनाथ तथा असाहय बालबालिकाको शारीरिक एवं मानसिक विकासका लागि सहयोग पुग्ने खेलकुद व्यवस्थापन र प्रशासनमा १ वर्ष लामो इन्टर्न सकाएर फर्केकी रोमी पुन: कोरियाबाट छात्रवृत्ति पाएर अर्को डिग्रीका लागि कोरिया हिडिन यही महिना ।

रोमीको योजना नेपाली खेल क्षेत्रमा आवश्यक सुधार र परिवर्तन ल्याउनु हो । खेलाडीसँगै केही समय रेफ्रीका रुपमा पनि काम गरेकी उनी अब भने कुनै ब्यबस्थापकीय नेतृत्व सम्हाल्ने गरी काम गर्ने योजनामा छिन् । ‘सधैं यो भएन, त्यो भएन’ भनेर गुनासो मात्रै गरेर व्यवस्थापनतर्फ ध्यान दिने काम नभएकोले खेल क्षेत्रको व्यवस्थापक बनेर आफू त्यसो गर्न चाहेको बताउँछिन उनी ।

फेब्रुअरीमा म नेपाल आउँदा भेटने लिस्टमा पारिए तापनि त्यो बेला रोमी कोरिया नै हुने भएको र यो पटक उनी पुन: कोरिया गएर नफर्कदै म अस्ट्रेलिया फर्किसक्ने भएकोले यो पटक भने जसरी पनि भेट्ने योजनानुरुप दरवारमार्गमा एकाध घण्टा आ-आफ्ना अनुभव साट्ने क्रममा अभियानका गतिबिधिहरु र उपलब्धीहरुबारे पनि लामो कुराकानी भए रोमीसंग ।

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई सिड्नी आउनु भएको बेलामा उहाँ मार्फत वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक एबं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचन्डलाई वृहत लुम्बिनी विकासको अन्तराष्ट्रिय समितिको संयोजकमा संयुक्त राष्ट्र संघका महासचिब वान की मून बस्न सहमत हुनु भएकोले उहाँ संयुक्त राष्ट्र संघका महासचिब भएकै बेलामा नै सो समिति गठन गरिनुले जति महत्व राख्छ त्यत्ति महत्व सो पदबाट मुक्त भएपछि नहुने भन्दै यथाशीघ्र सो समिति गठनको लागि प्रयास गर्न आग्रह गरिंदै अप्रिल २०१३ मा पत्र पठाइएको र २०१५ डिसेम्बर ३० तारिखका दिन अभियानका तर्फबाट सात देशका रास्ट्रपति र प्रधानमन्त्रीहरुलाई ती देशको पाठ्य पुस्तकहरुमा विस्व शान्तिका प्रतिक वुद्धको जन्मस्थलमा भएको गलत जानकारी ती देशको प्रजातन्त्रको सबलिकण र मानब अधिकार हननको प्रतिरक्षाको लागि सच्याउन आग्रह गर्दै लेखिएको छ: पेज लामो अनुसन्धनात्मक प्रतिबेदन एक कार्यक्रमका बीच वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक एबं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचन्डलाई हस्तान्तरण गर्ने क्रममा पनि बान्की मूनको कार्यकाल सकिन लागेको स्मरण गराउँदै राष्ट्र संघका महासचिब वान की मूनको अध्यक्षतामा गठन गरिने भनिएको अन्तराष्ट्रिय समिति गठन प्रकृयालाई यथाशीघ्र अगाडि बढाइनु पर्ने अनुरोधलाई पुन: स्मरण गराएको कुरा कुराकानीको क्रममा उठे ।

अन्तराष्ट्रिय न्यायालय हेग र युनेस्को मुख्यालय पेरिसमा विस्व शान्तिका प्रतिक वुद्धको मूर्ति प्रतिस्ठापन गर्ने काम भैसकेको र विस्व शान्ति एउटा प्रमुख उद्धेस्य भएको राष्ट्र संघको मुख्यालयमा पनि विस्व शान्तिका प्रतिक वुद्धको मूर्ति प्रतिस्ठापन गर्न नेपाल सरकारका तर्फबाट पहल गरिनु पर्ने कुरामा जोड दिंदै अभियानका तर्फबाट केपी वली यस अघि प्रधानमन्त्री भएको समयमा जनवरी २०१६ मा अनुरोधात्मक पत्र लेखिएको प्रसंग पनि उठ्यो कुराकानीका क्रममा । राष्ट्र संघमा विस्व शान्तिका प्रतिक वुद्धको मूर्ति स्थापना गर्ने काम तात्कालिन राष्ट्र संघका महासचिब वान की मूनकै कार्यकालमा सम्पन्न गर्न नसकिए तापनि वुद्ध र वुद्ध जन्मस्थल लुम्बिनीलाई नेपालीले भन्दा बढी महत्व दिने उन्को कार्यकालमा कम्तीमा पनि निर्णय गराउन सकिंदा स्थापना गर्ने काम भबिस्यमा सहज हुने भनी पत्रमा जोड दिइएको थियो । सरकार र जिम्मेवारी बहन गरेका ब्यक्तिहरु आँफैले गर्नुपर्ने यस्ता राष्ट्रिय मात्रै नभएर अन्तराष्ट्रिय महत्वका कामहरु जनस्तरबाट बारंबार झकझक्याउँदा समेत प्राथमिकतामा पर्न नसकेको गुनासो गर्दा प्रधानमन्त्रीलाई पठाइएको सो पत्र आफूले पाएको भए अभियानको प्रतिनिधिका रुपमा राष्ट्र संघमा मन्तब्य दिन जाँदा राष्ट्र संघका महासचिब वान की मूनलाई सीधै हस्तान्तरण गर्न सकिन्थ्यो भन्दै चिन्ता ब्यक्त गरिन रोमीले ।

परिवार, समाज र आफू आबद्ध संस्थाहरुमा प्रतिबद्ध स्वभाव प्रदर्शन गर्दै आफ्नै पहिचान स्थापित गर्न सक्षम रोमी अबको पढाइपस्चात नेपालमा नै बसेर खेलकुद व्यवस्थापन क्षेत्रमा केही गर्ने सोंचमा छिन् । उनीबाट कोरियाको यो पटकको अध्ययनपस्चात बिद्रोह र बिभिन्न पक्षका बीच सन्तुलित समन्वय कायम गर्दै नेपाली खेल जगतमा समयानुकूल ब्यबस्थापकीय सुधार गरेर नेपालको खेल क्षेत्रलाई नयाँ मोड दिंदै नयाँ उचाइमा पुर्याउन सक्षम हुने कुरामा आशाबादी हुन सकिन्छ रोमी जस्ता आफ्नो उद्धेस्य प्राप्तीमा अत्यन्तै दृढ जुझारु सफल युवतीबाट ।