नेपाली समाज युएईको नयां नेतृत्वका लागि मणि भुर्तेलको उम्मेदवारी

लालबहादुर ढेंगा, दुबई, युएई

दुबई । सन् १९९० ताका स्थापना भएको नेपाली समाज युएई अहिले २९ औं बसन्तमा प्रवेश गर्दै उकाली ओरालीको सफरमा फेरि एक पटक १४ औं अधिवेशनको चहल पहलमा आई पुगेको छ । युएईको ईतिहास मै सबै भन्दा पुरानो र छाता संस्थाको रुपमा परिचिय पाएको छ यो संस्थाले । अधिवेशन नजिकिदै जांदा समाजमा उम्मेदवारीहरुको पद दावेदारीका लागि व्यस्तता बढ्न थालेका छन् । यो अधिवेशन ((२०१९–२०२१) दुई बर्षे कार्यकालका लागि अध्यक्ष, पार्षद अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, महासचिव, सचिव र सदस्य पदका लागि हुन लागेको हो ।

यहि आउने ६ सेप्टेम्बर शुक्रबारका दिन दुबईमा हुन गई रहेको नेपाली समाज युएईको अधिवेशनमा अध्यक्ष पदका लागि मणि भुर्तेले आफ्नो उम्मेदवारी दिएको छ । उक्त पदको उम्मेदवारी गएको २३ अगष्टका दिन विधिवत रुपमा दर्ता गरेको हो । अध्यक्ष पदका लागि जम्मा दुई जनाको मात्र उम्मेदवारी परेको छ । अर्को उम्मेदवारी गोविन्द ढकालको रहेको छ ।
वैदेशिक रोजगारीका शिलशिलामा १७ बर्ष पहिले युएई छिरेका भुर्तेल कुशल समाजसेवीको रुपमा चिनिन्छन् । सन् २०१३ मा पर्वत सेवा समाज युएईको संस्थापक अध्यक्ष पदमा रहेर कार्य गरिसकेको छ भने २०१५ देखि २०१७ सम्म नेपाली समाज युएईको महासचिवको पदमा रहेर कार्य गरेको छ । त्यसैगरी २०१४ देखि १७ सम्म जिल्ला परिषदको संयोजकको पदमा समेत कार्य गरेका छन् । अन्य विभिन्न संघ संस्थाहरुमा पनि सदस्य र सल्लाहकारको रुपमा क्रियाशिल छन् ।

शान्त स्वभाव, अति नै सहयोगी र हसिलो मुहारका मणि भुर्तेल यसपालिको अधिवेशनमा अध्यक्ष पदको दावेदारीमा छन् । लामो समयदेखि मैले विभिन्न संघ संस्थाहरुमा विभिन्न पदहरुमा कार्य गरे, अब भने नेपाली समाज युएईको अध्यक्ष पदमा रहेर सेवा गर्न मौका पाउनु पर्छ भन्ने भुर्तेलको मान्यता रहेको छ । सामाजिक कार्यमा अनुभवी भएका कारण उहांले एक पटकका लागि मौका मागेको हुनु पर्छ ।