अव हामीले साच्चिकै अर्थमा तीज कस्तो हुनु पर्ला त खास वहस यता तर्फ केन्द्रित गर्न जरुरी छ ।

ओमकुमारी पौडेल,

तीज – हिजो आज र भोलि

नेपाल वहुल जाति वहुल भाषा विविध धर्म संस्कार र संस्कृतिले सुसजित मुलुक हो यहाँ हरेक जातजाति धर्म र समुदायका मानिसहरुको वसोवास छ ति सवै जातजातिका आफ्ना – आफ्ना धर्म संस्कार परम्परा र रीतिरिवाजहरु प्रचलनमा छन अनि ति प्रचलन र संस्कारहरुले हामी सवै कुनै न कुनै रुपमा वाधिएका र आपसमा संवन्धित पनि छौ , प्रभावित छौ ।

त्यसैले नेपालका हरेक समुदायहरुले मनाउने चाडपर्वहरु हामी सवैका साझा चाडपर्व जस्ता बनेका छन । तिनै चाडमध्यको एउटा निकै महत्वपुर्ण पर्व हो तीज । आजसम्म आउदा यो पर्व निकै महत्वको सर्वाधिक चर्चाको सवैले मान्दै आएको एक ऐतिहासिक पर्वको रुपमा रहि आएको छ । तीजका वारेमा एउटा किम्वदन्ती प्रचलनमा छ ।

प्राचीनकालमा हिमालय पर्वतकी छोरी पार्वती महादेवसग प्रेममा परिन उनलाई महादेव असाध्यै मन पर्यो र उनै महादेवलाई स्वामी अर्थात श्रीमान बनाउन पाउ भनी आफ्ना बुवासग औधी विलौना गरिन जिद्दी गरिन र अनुनय विनय समेत गरिन तर छोरी पार्वतीको यो विलौनालाई हिमालय पर्वतले पटक्कै सुनेनन किनकी महादेव त्यतिबेला अति उदण्ड थिए अराजक थिए अनुशासनहिन थिए भाङ्ग धतुरो खान्थे नसाको सुरमा नाङ्गै भएर कपडा समेत नलगाइ हिड्थे सर्पहरु शरीरभरी बेरेर यत्रतत्र हिड्दथे सरसफाइमा उनी पटक्कै रुचि राख्दैनथे बरु खरानी खरानी भएर हिड्दथे ।

त्यस्ता महादेवसग छोरी प्रेममा परेको कुरा थाहा पाएपछि तत्कालै पार्वतीलाई विष्णुसग विहे गरिदिने सुर हिमालय पर्वतले गरे यो कुरा उनका साथीहरूले थाहा पाएपछि भाद्र शुक्ला तृतीयका दिन पार्वतीलाई घरवाट छुटाएछन (हरित- हरण , आलिका – साथीहरू = हरितालिका) र पर जङ्गलमा लगेर राखेछन अनि सवै कुरा पार्वतीलाई बताएछन त्यसपछि पार्वतीले एउटा कठोर निर्णय लिन पुगिन पानी समेत नपिएर निराहार र कष्टसाध्य भोक हड्ताल गरेर (व्रत/ उपासना बसेर) बुवा हिमालय पर्वतलाई झुकाएरै छाड्ने ,अन्त्यमा केही सीप नलागेपछि हिमालय पर्वत झुकेछन र छोरी पार्वतीलाई महादेवसगै विहे गरिदिएछन र यता महादेवले पनि पार्वतीले शिवलिङ्गको स्थापना गरि पुजा अर्चना सहितको भक्ति प्रकट गरेको देखेर प्रभावित भइ तथास्तु भनेछन भन्ने सन्दर्भ उल्लेख छ ।

भनिन्छ त्यस दिन देखि पार्वतीले भाद्र शुक्ला तृतीयका दिन सधैं आफ्ना पतिको सुस्वास्थ्य र दिर्घायुको लागी उपासना गरिन त्यसैले आजसम्म पनि खासगरी भाद्र शुक्ला तृतीयका दिन हरेक अविवाहित महिलाहरुले राम्रो स्वामी पाउ भनेर यस प्रकारको व्रत बस्नुपर्ने र विवाहित सवै चेलीहरुले आफ्ना पतिको सुस्वास्थ्य र दिर्घायुको कामना सहित सकेसम्म कष्टसाध्य व्रत बसि पुजा अर्चना र भक्ती भाव प्रकट गर्नु पर्ने भनाइ यस पर्वसग जोडिएको छ ।

यो पर्व हरेक एक वर्षमा आउने गर्छ र प्राय: हिन्दु नारीहरु अघिल्लो द्वितीयकै दिन आ-आफ्नो गक्ष अनुसारको खाना (दर )खाएर भोलीका निमित्त पुजा अर्चना र रमाइलो नाच गानको तयारीमा हुन्छन र तृतीयको दिनभर निराहार बसि रमाइलो सकेर बेलुकी पुजापछि पतिको गोडाको पानी खाएर पन्चमीको पुजा समापनको तयारीमा रहन्छन , हाम्रा पुर्वजहरुले यस प्रकार तीजको महत्वलाई अर्थ्याउदै आए बताउदै आए र सोही अनुसार अभ्यास पनि गर्दै आए । तर आजसम्म आउदा हिन्दु नारीहरु , सवै हिन्दु समुदायका अलवा सवै जातजाति, भाषा , धर्म र संस्कृतिका नारीहरु सवै जसो नै यस पर्वमा निकै उल्लास पुर्वक सहभागी हुने गरेका छन सवैले व्रत (उपासना ) वसि पुजा अर्चना गरि यस पर्वलाई खुशी पुर्वक मनाउने गर्छन त्यसैले हामी यो भन्न सक्छौ कि तीज केवल हिन्दु नारीहरुको मात्रै खास पर्व रहेन यो त सवैको महत्वपूर्ण पर्व बनिसकेको छ ।

सदा झै हामी सवै यतिवेला तीजको संघारमा छौ हरेक तीजमा साना नानीहरु देखि वृद्ध आमाहरु समेत निकै उत्साहित भएर रमाइरहेका देख्न सक्दछौ र हामी रहेको सिङ्गै समाज यसैका वरपर रमाएको देख्न सक्छौ त्यसैले पनि तीज पर्वको महत्व कति छ भन्ने अनुमान जो कसैले सहजै लगाउन सकिन्छ । नेपालमा मात्रै होइन आज संसारभर रहनु भएका नेपाली समुदाय र नेपाली मुलका नारीहरु तीज पर्वमा रमाउनु भएको देख्न सकिन्छ बुझ्न सकिन्छ र हाम्रा अनुभवले यहि सिद्द गरिराखेको छ । तर आजको समाजको चेतना र विशेषताले तीज पर्वलाई आ-आफ्नो हैसियत र रितिरिवाज अनुसार सहभागी हुने पर्व हो यसलाई शव्य र शिष्ट बनाउदै जानूपर्छ भनेर सचेतना जगाउदै तडकभडक र भड्किलो हुनवाट जोगाउनु अनि एक नियमित पर्वका रुपमा बुझ्नु बुझाउनु अनिवार्य कर्तव्य बनेको छ र बन्नु पर्दछ ।

हाम्रो नेपाली समाजमा तीज पर्वसग केही मान्यताहरु स्थापित भएका छन – तीजमा हरेक विवाहित चेलीहरु रातै पहेलै भएर माइत जाने एक दिन भनेपनि माइतिसगै बसेर मीठो मसिनो खाने , घरको बुहार्तन पिर वेदना र आफू माथिका अत्याचारहरुलाई गीतका माध्यमवाट पस्कने , समाजमा व्याप्त विकृति विसङतिको सोही अनुरुप भन्डाफोर गर्ने आदि इत्यादि तर यहि तीज अहिले आधुनिकतामा फेरीएको छ भावना पोख्ने पस्कने शैलीहरु फेरिएका छन जस्तो कि – ” अहिलेको तीजमा पोइला जान पाम ” देखि राजनितीक सामाजिक व्यवस्थाका नकारात्मक पक्षहरुका टीका टिप्पणी हुँदै ” म त नाच्दिन क्यारे मेरो प्यारो मायाले नहेरे ” यति मात्रै हो र ” भन्देउ न कुन चाहिँ राम्री हामी दुइमा ” भन्ने सम्मका आफ्ना चाहना र प्रेम कहानिहरुलाई व्यक्त गर्ने थलोको रुपमा प्रकट हुँदै आएको छ ।

यस अवसरमा सवैले राम्रा-राम्रा महँगा गरगहना लत्ताकपडा पहिरिने निकै महङ्गा व्रान्डेड पेय पदार्थ (रक्सी)हरुका साथमा भव्यतम पार्टी प्यालेस बुक गरेर महिनौ अगाडि देखि लाइन लागेर दर खाने खुवाउने सम्मको चलन बनिसकेको छ र यसो गर्नु हरेक वर्षको तीज पर्वको अनिवार्यता जस्तै बनेको छ । यथार्थमा राजनीति सामाजिक क्षेत्रमा रहेर सचेत पंक्तिको नेतृत्व गर्ने तप्का समेत यसमा नजानिदो तवरले लहसिदै गएको बर्तमान अवस्थामा शिक्षित र चेतनशील वर्ग पनि स्वरमा स्वर मिलाएर परापुर्व कालदेखिको चलन भनेर यसैमा समाहित हुदैछ । यसको मतलब आजको दिनमा तीज पर्व के हो यसलाई कसरी मनाउने भन्ने वारेमा खास दिशानिर्देश गर्न सकेको अवस्था देखिदैन यद्यपि यस वर्ष भने विभिन्न जिल्लाका प्रशासन कार्यालयहरुवाट जारी गरिएका सुचनाहरु र संघसंगठनका स्वतस्फूर्त रुपमा भएका पहलकदमीहरुले भने केही हदसम्म भएपनि कम खर्चिलो हुने अनुमान गर्न सकिन्छ ।

अव हामीले साच्चिकै अर्थमा तीज कस्तो हुनु पर्ला त खास वहस यता तर्फ केन्द्रित गर्न जरुरी छ । तीजका वारेमा राजनीतिक नेतृत्व अधिकारकर्मी लेखक पत्रकार सामाजिक अभियान्ता र हरेक सचेत नागरिक सवैले आफ्ना धारणाहरु विभिन्न माध्यम मार्फत पस्किनु भएको पाइन्छ बेला बेलामा वहस चल्ने पनि गरेका हुन्छन तथापि यस पर्वलाई समय अनुकुल व्याख्या गर्न र यथोचित सुधार गरेर शव्य सुसंस्कृत तुल्याउन भने सकिएको देखिदैन , तीजका वखतको एउटै मात्रै उदाहरण लिउ महिलाहरु महिनावारी भएका बेला अशुद्द हुन्छन छोइछिटो हुन्छ यसवेला के के पाप गरेका हुन्छ्न होला भनेर पन्चमिको दिन ३६५ वटा दतिवनका डाठ चपाएर शरीरभरि माटोले धोइ पखाली गरि पाप कटनी गर्ने र जौ तिलको पानीले शिर देखि नै नुहाउने भन्ने चलन आज पनि उतिकै चल्तिमा छ देशका ठुला-ठुला शहरभरी समेत ठूलो परिमाणमा त्यसदिन दतिवनको कारोबार हुने गर्छ ताकि सवैको घर घरमा दतिवन पुगोस र रिति अनुसार यसको प्रयोग गर्न पाइयोस त्यसैगरी पन्चमिको पुजा महिनावारी भैसकेका चेलीहरुले मात्रै लगाउने चलन छ ।

महिनावारि एउटा शारीरिक प्रक्रिया हो यो हरेक महिलालाई उमेर पुगेपछि अनिवार्य हुने गर्छ यो समयमा छोइछिटो भन्ने नै हुदैन अशुद्ध भन्नू नै वाइयात हो स्वस्थ खानेकुरा र आवश्यक सरसफाइ पछाडि आम नागरिक सरह महिलाहरु काम गर्न चुलोचौको गर्न सभा सम्मेलन गर्न नियमित कर्ममा सरिक हुन सक्छन भनेर आजको दुनियाँमा हामीले चेतना प्रवाह गर्न सकेका छैनौं बरु उल्टै एक मुठ्ठा दतिवन खोज्न धेरै टाढा टाढासम्म पुग्ने गरेका छौ । तीजका वारेमा सचेतता पुर्वक आयोजना गरिने कार्यक्रमहरुमा समेत यस्ता प्रकारका त्रुटीहरु प्रशस्त देखिने गरेका छन ।

अव पछाडि नहटौ खुलेर हामीले वहसको शुरूवात गरौ सुस्वास्थ्य र दिर्घायुको कामना चाहना केवल नारीले मात्रै गरेर त्यो परिवार सुखी र खुशी रहन सक्छ त ? महिनावारी भएका वेला छोइछिटो होइन हरेक चेली महिनावारी भइनन भने सृष्टि संचालनमा समेत कठिनाइ पो पर्ला त बरु , धर्म संस्कृति र नियम कानुनको पहाड केवल महिलाहरुको टाउका माथी देखाएर मात्रै समाज सुसंस्कृत हुन सक्ला र ? कि पुरुष दाजुभाइहरुको पनि उत्तिकै भुमिका हुनुपर्ला ? हरेक परिवारमा राम्रो स्कुलको रोजाइ छोराहरुका निमित्त हुने गर्छन आजभोलि पनि , कलेजको फर्म भर्नु अगाडि छोरीका लागि केटा खोज्ने चलन छ समाजमा आजसम्म पनि , त्यति मात्रै होइन छोरी पढाउदा लागेको ऋण यति छ उति छ भनेर लेखाजोखा गर्दै हिड्ने चलन पनि छ समाजमा ताकि छोरा पढाउन ठूलो मुल्य चुकाएको देखिन्छ सवैतिर । त्यस्तै अर्को पाटो महिलाले पनि समाजका प्रति मेरो उत्तिकै दायित्व र जिम्मेदारी छ भन्ने ठान्नु जरुरी देखिन्छ गाउँको एउटा उपभोक्त समितिको अध्यक्ष प्रस्ताव गर्दा नाइ नाइ फलानो दाजु बस्नु हुन्छ भनेर पन्छने संस्कार रहेसम्म समानताको अनुभुति गर्न सकिएला र कतै ? गम्भीरता पुर्वक यता पनि सोच्ने कि अब ।

त्यसैले बेलैमा सवैले प्रण गरौं परिवारमा दिने शिक्षा र चेतनाले हाम्रो सामाजिक मान्यताको प्रतिनिधितित्व गर्दछ , समाजको एउटा अगुवाको चलन चाजोले सामाजिक स्वरुप निर्धारण गर्दछ , सोही कारण हाम्रा रितिरीवाज परम्परा र धर्म संस्कारलाई समय सापेक्षा परिमार्जन र परिस्कृत गर्दै जाऔं , आजको दिनमा समाजमा चेलीहरुलाई श्रीमानको गोडाको पानी होइन सहकार्य र सहयोगी हातहरुको जरुरी छ विश्वास र समन्वयको आवश्यकता छ ।

पानी समेत नपिएर निराहार बसेर होइन स्वस्थ र तन्दुरुस्त भएर अगाडि बढ्न पोसिलो र भोक लागेका बेला प्रशस्त खानेकुरा खान जरुरी छ हिजोका महादेवको परिकल्पना होइन आजको समाज बुझेको साथी र सहयोगी बन्न सक्ने पतिको खाचो छ , रातको १२ वजे गोडाको पानी पिलाउने पति होइन कामवाट थाकेर , सभा सम्मेलनवाट अवेर घर फर्कदा बच्चाबच्ची सम्हालिदिने र खाना बनाएर सहयोग गर्ने साथी जस्तै पतिको खाचो छ चेलीहरुलाई , त्यसैले भोको बसेर होइन समयमा खाना खाएर सामाजिक विकास र उन्नतिका काममा जुटौ यसैमा हाम्रो र समाजको प्रगति हुन सक्छ र हामीले समानताको अनुभुति गर्न पनि सकिनेछ , पहल गरौ चाडपर्वहरुलाई समयानुकुल बदलौ र आफू पनि बदलिऔं हाम्रा हरेक रितिरिवाजहरु सवै जस्तै मानवहरुले निर्माण गरेका हुन र हामीले चाहदा बदल्न र यथोचित परिमार्जन गर्न पक्कै सकिनेछ ।

(लेखीका पौडेल नेकपाका प्रदेश समिति सदस्य हुन्)
nabina039@ gmail.com