वैवाहिक वर्षगाँठको अवसरमा कार्कीद्धारा ‘बा-आमा घर’ आश्रमलाई सहयोग

ललितपुर: बा-आमा घर आश्रमलाई आर्थिक सहयोग प्राप्त भएको छ। नेपाली काँग्रेस भक्तपुरका युवा नेता तथा समाजसेवी विष्णुराज कार्कीले २५ औ वैवाहिक वर्षगाँठको अवसरमा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रले संचालन गर्न लागेको बा-आमा घर आश्रमको लागि १ लाख एक रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रले संचालन गर्न लागेको आश्रममा पुगी संस्थाका अध्यक्ष विनयजंग बस्नेतलाई एक कार्यक्रमका बिचमा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले सहयोग हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष विनयजंग बस्नेतले कार्कीको सहयोगले आफुलाई समाजसेवामा लाग्न थप हौसला प्रदान गरेको भन्दै बा-आमा घर आश्रम मातातिर्थ औशी अर्थात् आमाको मुख हेर्ने दिन देखि संचालनमा आउने जानकारी दिएका छन ।

बा-आमा घर आश्रममा काठमाडौँ उपत्यका लगायत आसपासका जिल्लाका बेवारिसे बा-आमालाई राखिने उनले बताए। ‘१८ लाख लागतमा आश्रम निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आजको सहयोग सम्म ३ लाख ३४ हजार विभिन्न सहयोगी मनहरुबाट प्राप्त भयो। बाँकी रकम पुर्ख्यौली ४ आना जग्गा सहकारीमा धितो राखेर आश्रम निर्माण गरिरहेको छु’ ,अध्यक्ष बस्नेतले बताए। उनले थपे, ‘कोहि पनि व्यक्ति बेसाहारा बेघर भएर सडकमा मरेर कुहिन नपरोस भनि आश्रम लगायत कुलतमा लागेकाहरुलाई निशुल्क उपचार गरिरहेका छौ ।’

बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष विनयजंग बस्नेतले हालसम्म एक बिदेशी नागरिक सहित १८८ बेवारिसे शबहरुलाई आफ्नै हातले दागबत्ति दिएर ससम्मान दाहसंस्कार गरिसकेका छन। विगत ५ बर्षदेखि निरन्तर रुपमा बस्नेतले बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत बेवारिसे व्यक्तिको व्यवस्थापन तथा बेवारिसे शबको दाहसंस्कार गर्दै आएका छन। यसको अलावा संस्थाले लागुपदार्थ दुर्व्यसनीहरुको उपचारको लागि समेत महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ।