राधामाथि लात्ती र मुड्की बर्साउने भोलेबाबाबारे नयाँ तथ्य बाहिरियो, युवतीमाथि यौन शोषण गरेको खुलासा

धनगढी, २७ फागुन ।

सेती अंचल अस्पतालको सर्जिकल वार्डको वेड नम्बर १ मा भर्ना गरिएकी १८ बर्षिय राधा चौधरीको अवस्थाले जोकोहीलाई भावुक तुल्याउँछ। कुटाईले थिलथिलो भएकी राधा खुट्टादेखि टाउकोसम्मको दुःखाईले अस्पतालको शैय्यामा छटपटाइरहेकी छन्। उनलाई शारीरिक पीडा जति भइरहेको छ त्यो भन्दा सयौं गुणा बढी पीडा मानसिक छ। सयौं मान्छेकोबीचमा बोक्सीको आरोपमा लगातार ६ घण्टा मरणासन्न हुनेगरी कुटिनु परेको घटनाले उनलाई ठुलो मानसिक पीडा दिएको छ।

‘मेरो जस्तो पिडा अरु दिदी, बहिनीले भोग्नु नपरोस’, राधाले भनिन्, ‘तीन दिनदेखि केही खाएको छैन, खुट्टादेखि टाउँकोसम्म सबैतिर दुःखी रहेको छ।’ केही गल्ती नगरिकनै कुटाई खानु पर्दा उनी निकै दुःखी भएकी छन्। कुटाइले गाला र घाँटीमा भित्री चोट लागेकाले उनलाई बोल्न समेत अप्ठ्यारो हुने गरेको छ।

दुःखी रहेकाले बोल्न गाह्रो हुँदा बेला बेलामा उनी एक हातले गाला थिचेर बोल्ने गर्थिन। तीन दिनदेखि उनी भोकै छिन्। खुट्टादेखि टाउकोसम्म बाहिरी र भित्री चोट छ। अपराधीलाई कारवाही नभएमा आफू, आफ्नो वहिनी अथवा आमालाई यस्तै घटना दोहोरिन्छ कि भन्ने त्रास उनको मनमा छ। ‘अपराधीलाई कारवाही नभएसम्म मेरो मनमा लागेको घाउँ निको हुदैन’, उनले भनिन्, ‘म घर पनि फर्कन सक्दिन।’ अपराधीहरुलाई कारवाही नभएमा उनीहरुले बहिनी, आमा वा आफूमाथि नै यस्तो घटना दोहोर्याउने त्रास छ। ‘मैले त यो घटना भोगे, अब अरु कसैमाथि यस्ता घटना दोहोरिन नदिन अपराधी जोगिनु हुदैन’, उनले भनिन्।

अस्पतालको शैय्याबाटै किटानी उजुरी
पीडित राधाले बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गर्ने, दुव्यर्वहार गर्ने भगवानको अवतार मिलेको भन्दै आफुले भोलेवावा बताउने २३ बर्षीय राम बहादुर चौधरी, १८ बर्षीय किस्मती चौधरी र एक जना नाम नखुृलेकी ‘भोलेवावाकी सहयोगी पार्वतीमाता’ गरी ३ जनाको नाममा शनिवार अस्पतालको शैयावाटै किटानी उजुरी दिएकी छन्। किटानी उजुरीमा पीडित राधाको हस्ताक्षर गराउन प्रहरी टोली आफै अस्पतालको शैयामा पुगेको थियो। बोक्सीको आरोपमा कुटपिट भनेर ३ जनाको नाममा पीडित युवतीले उजुरी दिएको प्रहरीले जनाएको छ। पीडित युवतीका आमा फुलकेशरी चौधरीले पीडक पक्षबाट घटना मिलाउन भन्दै धम्की आइरहेको बताइन्।

अझै २ जना पक्राउ परेनन्
राधालाई वोक्सीको आरोपमा कुटपिट गर्ने भोलेवावा भनिएका २३ बर्षिय रामबहादुर चौधरीलाई प्रहरी पक्राउ गरेर हिरासतमा राखेको छ। राधालाई घरबाट घिसार्दै भोलेवावा कहाँ ल्याउने र उनलाई निर्घात कुटपिट गर्ने किस्मती चौधरी र अर्को पार्वती मातालाई शनिवार साँझसम्म प्रहरीले पक्राउ गरेको छैन्। कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले राम बहादुर चौधरीलाई पक्राउ गरिएको र अन्य २ लाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताए। बोक्सीको आरोपमा वा ज्यान मार्ने उद्योगमा पनि कुटपिट गर्ने माथि मुद्दा लाग्न सक्ने उनले बताए।

यसरी भएको थियो घटना
फागुन २४ गते नारी दिवसको दिन। घोडाघोडी नगरपालिका वाड नं ५ देउकलिया गाउँ निवासी १८ बर्षिय राधा चौधरी बिहान केही नखाई गोरुको गोवर गोठवाट वारीमा फाल्न गईन्। गोवर लागेका हातखुट्टा उनले धुन पाएकी थिइनन्। ७ बजेतिर किस्मती चौधरीसहित उनले नचिनेका ४, ५ जना महिला गाली गर्दै उनीमाथी जाइलागे। उनलाई घिसार्दै करिव १ किलोमिटर दुरीमा रहेको भोलेवावा बताउने २३ बर्षिय रामबहादुर चौधरीको घरको आगनमा लगे।

पुर्व घोषित कुनै नाटक हेर्ने जम्मा भएझै धेरै मान्छेको भिड त्यहाँ पहिले लागिसकेको थियो। वरिपरि मान्छेको भिड रहेको बीचको खाली ठाउँमा राधालाई राखेर भोलेवावाकी सहयोगी दुई युवती (पार्वती माता) निरन्तर कुट्न थाले। कुटपिटले थिलथिलो भएर उनी भुईमा ढलिन। कुटपिट गर्दा गर्दा भोलेवावाकी सहयोगी पारवतीमाता थाकिन्। त्यसपछि भोलेवावा भए भरको तागत लगाएर उनलाई हात र लात्ताले कुट्न थाले। नाच्दै वरिपरि घुम्दै अत्यन्त क्रुर र वर्वरतापुर्ण ढंगले कुटिरहे।

कपाल लुछ्दै हात, लात्ताले उनलाई हिर्काउन थाले। मैले केही गल्ती गरेको छैन, मलाई बचाउनु होस भन्दै राधाले कराईरहिन्। सयौ संख्यामा भएको भिड रमिते मात्र भएन, मरणासन्न हुने गरी कुटपिट गर्नेलाई हौशला मिल्ने गरी ताली बजाए। ‘कुटपिटले असह्य पिडा हुँदा बचाउनुहोस भनेर हात जोडेर गुहार मागे, त्यहाँ ३, ४ सय जना थिए कसैले नपिट्नुहोस भनेन्न’ उनले भनिन्, ‘मलाई कुटपिट गर्दा उनीहरु ताली बजाउथे।’ कुटपिटले उनी बेहोस भएर ढलिन्।

वेहोश भएर ढलेपछि पनि उनीमाथी कुटपिट रोकिएन्। ती पारवती भनिएका महिलाले र भोलेवावाले उनको छाती, पेटमा लाताले हिर्काईरहे। म र मेरा दुई पारवतीले यसलाई ठिक पार्छौ भन्दै रामले कुटपिट गरेको उनी बताउँछिन। नाच्दै वरिपरि घुम्दै ती रामले उनलाई कुटपिट गरिरहे। ‘म वेहोस भएर ढले, होस खुृल्दा पनि उनीहरुले कुट्न छोडेनन्’, उनले भनिन्। करिव १२ बजेतिर उनका नजिकका दाई पर्ने ३ जना आएर उनको उद्दार गरेर लगे। कुटपिटले मरणासन्न र वेहोस भएकी ती युवतीलाई एम्वुलेन्समा राखेर प्रहरी चौकी लगियो।

प्रहरी चौकीमा भोलेवावाले उ बोक्सी भएको जिकिर गरे। कुटाइले थिलथिलो भएको दुःखाई निको हुने भन्दै चामल फुकेर पीडित युवतीलाई खान दिए। प्रहरीले मिलापत्र गर्नुपर्छ भन्दै पीडितका बुवाले दिएको उजुरी दर्ता गरेन। घोडाघोडीका मेयर ममताप्रसाद चौधरी पनि प्रहरी चौकी पुगेका थिए। उनले पनि अपराधीलाई कारवाही गर्नुपर्छ, घटना मिलापत्र गर्नुपर्दैन भनेर भनेन्। दुःखाई निको नभएर वेहोस होला जस्तो भएपछि उनलाई घोडोघोडी अस्पताल लगियो। शुक्रवार उनलाई थप उपचारका लागी सेती अंचल अस्पातल ल्याइएको हो।

संसदमा कारवाहीको माग
बोक्सीको आरोपमा निर्घात कुटपिट भएको घटनाको प्रदेश शभा ७ को शनिवारको बैठकमा सासंदहरुले अवाज उठाएका छन्। शुरुमा वोल्दै माओवादी केन्द्रका कुन्ती जोशीले वोक्सीको आरोपमा राधा चौधरीलाई कुटपिट गर्नेमाथी कडा कारवाही गर्न माग गरिन्। उनले उनको निःशुल्क उपचार पनि सरकारले गर्नुपर्नेमा जोड दिइन। यसैगरी राजपाका मालमती रानाले वोक्सीको आरोपमा युवतीमाथी कुटपिट भएको घटनाको छानविन गर्न संसदीय टोली गठन गर्नुपर्ने बताइन्।

कैलालीमा लगातार ६ घण्टासम्म निर्घातरुपमा कुटिइन राधा, गाउँले रमिता मात्र हेरिरहे (भिडियोसहित)

उनले दोषीलाई कारवाही र उनको उपचार निःशुल्क हुनपर्ने माग गरिन। यसैगरी एमालेका प्रदेश शभा सदस्य पुृर्णा जोशीले ६ घण्टासम्म एउटा निर्दोष युवती कुटिरहँदा समाज रमिते भएको उल्लेख गर्दै महिला माथी हुने हिंसाको अन्त्य हुुनुपर्ने बताइन्। उनले आन्तरिक मामिला तथा कानून मन्त्रीलाई घटनाको बारेमा के भइरहेको छ सदनमा प्रगती जानकारी गराउन पनि माग गरिन। यती ठुलो र सभ्य समाजलाई नै लज्जित तुल्याउने घटना हुँदा पनि पुरुष सांसद एक जनाले पनि अवाज उठाएनन्।

भोलेवावाले युवतीमाथि यौन हिंसा गर्ने गरेको खुलासा
दुई महिनादेखि भगवानको अवतार मिलेको भोलेबाबा हु भन्दै २३ बर्षीय रामबहादुर चौधरीले गाउँका सोझा साझा वासिन्दालाई भ्रममा पारेर आफ्नो स्वार्थ लुट्ने गरेको खुलेको छ। गाउँमा सुन्दर युवतीलाई उनले यौनहिंसा गर्ने गरेको स्थानीयले बताएका छन्। राधा चौधरीलाई कुटपिट गर्ने १८ बर्षिय दुई युवती (पारवतीमाता) लाई पनि उसले वोक्सी लागेको निको गरिदिन्छु भन्दै आफ्नो आश्रममा लगेर राखेको घोडाघोडी नगरपालिका वानं ५ का खेम सापकोटाले बताए।

‘ती भोलेवावासँग आश्रममा ४ महिला छन’, उनले भने। एक जना उनको श्रीमती छन। एक गंगा नाम गरेको युवती छन। दुई जना ‘पारवती’ छन। अन्य सुन्दर युवतीलाई देख्ने बित्तिकै भोलेवावाले आफ्नो नियन्त्रण लग्ने उनी बताउछन। ‘कुनै सुन्दर युवती देख्नु नै हुँदैन, उ देख्ने बित्तिकै झाक्री आएको जस्तै गरेर कपाल समातेर भुईमा पल्टे, कराउ भन्ने गर्छ’, उनले भने, ‘सोझा युवती पनि उसले भनेको जस्तै गर्छन।’

भुईमा पल्टेर कराउन लगाएपछि यो मा बोक्सी लगाएको छ भन्दै तन्त्रमन्त्र गर्न शुरु गर्ने सापकोटा बताउँछन। ‘चामल हातमा समातेर फुकफाक गरेजस्तो गरी सिधै युवतीको संवेदनशील अंग समात्छ’, उनले भने, ‘यसरी एकपटक वोक्सी लागेर तन्त्रमन्त्र गरेको युवतीले त्यसपछि लगातार १५ दिनसम्म वोक्सी निकाल्नका लागी उसको आश्रममा जानै पर्ने हुन्छ।’ दुई महिनाअघि देखि नै उनले युवतीमाथि यस्तो हर्कत गर्दै आएका छन्। कुनै युवती, व्यक्तीलाई वोक्सी लागेको छ भन्दै धामीझाक्रीले जस्तै घरमै गएर आश्रममा ल्याउने गरेको उनी बताउँछन। –
नागरिक न्यूजमा खबर छ । – संचारकेन्द्रबाट साभार :