दुई श्रीमतीलाई सहज ठान्ने समाज किन दुई श्रीमान राख्न दिंदैन ?

मेगा बैंककी सीईओ रवीना देशराज समकालीन समाज भन्दा बेग्लै सोच राख्ने ब्यक्तिका रुपमा चिनिन्छिन् । उनी बैंककी सफल सीईओ त हुँदैहुन्, लैंगिकताका विषयमा परम्परागत सोच विपरित धारणा राखेर र आफ्नो विकिनी तस्बिर सार्वजनिक गरेर पनि चर्चामा छिन् । अभिनेत्री प्रियंका कार्कीसँगै विकिनीमा उनको तस्बिर सामाजिक सञ्जालमा पोष्ट भएपछि त्यसले ठूलै चर्चा पायो । उनका छोरा आयुष्मान देशराज पनि अभिनेता हुन् । अभिनेत्री कार्की र आयुष्मान प्रेम सम्बन्धमा रहेका गसिपहरु पनि मिडियामा छाइरहन्छन् । सन्तान जन्माउन बिहे गर्नु नपर्ने बोल्ड धारणा राख्दै आएकी रवीना देशराजसँग प्रचलित सामाजिक ब्यवस्थाका बारेमा चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीः

लैंगिकता प्रकृति हो, तर लैंगिक हिसावले पूर्वीय समाजमा एउटा पक्ष दविएको र अर्काे पक्ष उन्मुक्त छ, किन ? 
तपाईंलाई एउटा कुरा म सम्झाउँछु, महिलालाई शक्तिको रुपमा पुज्ने समाज यहि पूर्वीय समाज हो । उहिले मात्र होइन अहिले पनि सरस्वतीलाई विद्याकी देवी, अथवा ज्ञानकी भण्डार, भनेर पुजिन्छ । दुर्गा, महाकालीलाई शक्तिको प्रतीक, लक्ष्मीलाई ऐस्वर्यकी देवीका रुपमा पुज्ने समाज यहि हो । ती भगवान त्यसै भएका हुन् त ? हाम्रा ग्रन्थहरुमा कामुकता देखि प्रेम र मर्यादाका धेरै पात्र छन् । हामी तिनीहरुको मूर्तिमा पूजा गर्छाैं । तर, जीवनमा चाहिँ उनीहरुको चरित्रमाथि प्रश्न गर्छाैं । यस्तो गर्नु भएन । भगवान श्रीकृष्णलाई पूजा गर्ने तर, प्रेमलाई अवैध ठान्ने भूल गर्नु भएन । यो छुट किन भयो भने महिला सहन सक्छन् भन्ने आधारमा विधि र कानुनहरु बन्दै गए, त्यसै आधारमा अहिले यस्तो भयो । प्राकृतिक र पौराणिक मान्यता विपरितका कानुन लादिएको छ । म एक लाइनमा भन्छु– काम गर्ने कुरामा, धैर्यतामा, बोल्डनेशमा र प्रेममा महिलामा जति शक्ति पुरुषमा छैन ।

कानुनले अधिकार दिए पनि महिलाहरु त्यसको प्रयोगमा पछि छन्, किन त ? 
हेर्नुस्, अधिकारले केहि हुन्न । जवसम्म उनीहरुलाई अधिकार प्रयोग गर्नु पर्छ र मभित्र मेरो पार्टनर सरह शक्ति छ भन्ने कुरा महसुस हुँदैन, तवसम्म कानुनी अधिकारले मात्रै केहि हुँदैन । किनकी समाजमा महिलालाई घरको काम पनि तैंले गर्ने हो, पाहुनालाई सत्कार पनि तैंले गर्ने हो, छोराछारी हुर्काउने पनि तैंले नै हो भनिएको छ । अनि कुन समयमा उसले संसार बुझ्ने र आफ्नो शक्ति चिन्ने ? त्यसमाथि घरबाट बाहिर निस्कन खोज्दा उसको नाममा त सम्पत्ति पनि छैन । तपाईंलाई साँचो कुरा भनौं, महिलाको नाममा सम्पत्ति मात्र हुने हो भने पनि ९० प्रतिशत महिला आफैं शक्तिमा आउँछन् । कानुन सानुन केहि चाहिंदैन ।

हरेक एक पुरुष महिला बाटै हुर्काइन्छन्, अनि किन सिकाउन सकेनन् आमाले ती छोरालाई विभेदमा नजान ?
हामीले सधैं समाज समाज मात्र भन्यौं । तर समाज भन्दा पहिलो खुट्किलो ब्यक्ति हो भन्ने सोचनौं । घरमा आफैंले हुर्काएको छोरालाई उ ब्यक्ति हो भन्ने सिकाएनौं, समाज मात्र सिकायौं । समाज सिकाउनासाथ उसले के सिक्यो भने समाजमा आफ्नो स्थान के छ भन्ने सिक्यो । छोरीलाई छोटो कपडा लगाएर हिंड्न मन छ भने छोरीले त्यसो गर्नु हुँदैन भन्यौं । छोरालाई छोटा कपडा लगाउन छुट छ भने छोरीलाई किन छैन मैले मेरो छोरालाई राम्रो संस्कार दिए सबै समस्या आफैं हराएर जान्छ ।

एकजना आफन्तसँग एकदिन कुरा गर्दैथिएँ । उहाँले एउटा ग्यादरिङमा हजुरवा, हजुरवाका तीनजना श्रीमती र छोराछोरी सबै जम्मा भएको भन्नुभयो । ल त्यहि ठाउँमा हजुरआमाका तीनजना श्रीमान जम्मा भएको भनौं त ? एउटा पुरुषका तीन श्रीमती एकै ठाउँ भेला हुनुलाई स्वाभाविक रुपमा लिने समाजले एउटी महिलाका तीन श्रीमान एकैठाउँ ग्यादरिङ गरेको पचाउन सक्छ ? पुरुषहरु खुला रक्सी, चुरोट खान्छन् । ल हामी खाउँ त, के भन्छ समाज ? अहिले जे जे भएको छ त्यो सबै महिलाले सहिदिने भएर हो । उसले तीनवटा ल्याउँदा, १०औं जनासँग सेक्सुअल रिलेशनमा रहंदा, चुरोटले डाम्दा पनि सहिदिए मात्र परीवार जमेको देख्ने, त्यसलाई नसहे परीवार विखण्डन भएको देख्ने ?

 

मनलागेको कुरा गर्नु, खुला हुनु भनेको संस्कार छोड्नु होइन । सबैले नियममा रहनु पर्छ । मेरा दुई छोरा छन् । मेरा छोरा धेरै नै सांस्कारिक छन् । विहान उठेर मामुको गोडा छुन आउँछन् । खान मन लाग्दा खाना बनाउन उनीहरु कहिल्यै मलाई गुहार्दैनन् । हामी समान काम गर्छांै । यौनिकताका विषयमा पनि उनीहरुलाई मैले सानैदेखि शिक्षा दिएकी छु । मलाई गर्व छ कि मैले सभ्य दुई पुरुष मेरो घरबाट हुर्काएकी छु ।  तिनले सभ्य समाज र विभेदरहित समाजको निर्माणमा भूमिका खेल्न सक्छन् ।

यौनिकताको कुरा गर्दा तपाईंको समाजिक संजालमा आएको एउटा फोटोबारे कुरा जोड्न मनलाग्यो । तपाईं र अभिनेत्री प्रियंका कार्कीले विकिनी लगाएको तस्बिर पोष्ट गर्नुभयो । त्यसप्रति आएका प्रतिक्रियाले कस्तो महसुस गर्नुभयो ? 
तपाईंका प्रश्नले मलाई उत्साहित बनाइरहेको छ । सबै घटना हरुले मान्छेलाई सिकाइ नै रहेका हुन्छन् । चाहे दुःखद हुन् चाहे सुखद् । त्यो फोटो खासमा सामाजिक संजालमा मैले राखेको होइन । प्रियंकाले हालेकी हुन् । खासमा म त्यो झन्झट ब्यहोर्न चाहान्नथेँ । किनकी म यो पदमा रहेर कामले दुनियाँ बदल्न चाहन्थेँ । त्यति झिनो कुरामा आफूलाई नअल्झाउँ भन्ने थियो । मलाई थाहा थियो, नेपाली समाज खैरेनीहरुले विकिनी लगाएर फोटो खिच्दा बीचमा बस्न सक्छ । त्यहि फोटो सामाजिक सञ्जालमा पस्किन सक्छ । तर, त्यस्तै तस्बिर नेपाली महिलाले पोष्ट गरे भने मुख बाउँछ ।  यसलाई जसले नकारात्मक रुपमा टिप्पणी गरे उनीहरुको बुझाईको लेभल हो त्यो । यो घटनाले मलाई समाजको अर्को रुप पनि देखाइदियो । समाजमा संस्कार नपाएर हुर्केका मान्छे मात्र छैनन्, बुझेका मान्छे पनि छन् । त्यहाँ यस्ता कमेन्ट पनि आए कि तपाईं यति स्लिम हुनुभएछ, त्यो दौडधुपमा पनि आफूलाई मेन्टेन गर्न सक्नुभएको रहेछ भने । कति पुरुष साथीले यसका लागि कहिले समय मिल्छ भनेर सोध्नुभयो । कसैले एक्लै जानु भएछ खबर गरेर जानुभएको भए हुन्थ्यो भन्नुभयो । त्यसले लाग्यो समाजमा संस्कारमा हुर्केका र समाज, दुनियाँ बुझेका मान्छे पनि छन् । अहिले पनि भन्छु– हरेक कुरालाई लैंगिकताको नजरबाट मात्र नहेरौं । मेरो छोरोले मलाई विकिनीमा देखेर केहि भन्दैन । बरु कुनमा हजुरलाई सुहाउँछ भनेर ड्रेस खोज्छ, यो लगाउनुस् भन्छ । कपडा लगाउनु, मेकअप गर्नु, राम्रो हुनु, अरुका लगि होइन । आफ्ना लागि हो । म मेरो कुरामा कम्फर्ट छु भने अरुलाई किन चासो ? कुनै छोरीलाई हाफ पाइन्टमा कम्फर्ट लाग्छहोला । उसले त्यस्तो लगाएर केटालाई आउ, छोउ भनेको त होइन नि ।

अर्को कुरा, पुरुषहरुले झर्नामा छाती थापेर नुहाएको फोटो चाहिँ कुल हुने, त्यस्तो तस्बिर खिच्न कसरी समय निकाल्नु भयो भनेर सोध्ने । महिलाको नुहाएको फोटोमा चाहिँ किन तुच्छ कमेन्ट गर्ने ? पुरुषजस्तै महिला पनि प्रकृतिको क्रिएसन हो भन्ने सत्य कुरा बुझ्नु पर्यो नि । यसको जरो भनेकै हामीले छोरो हुर्काउँदा संस्कार दिन सकेनौं । अब हरेक आमाले बुझ्नु पर्छ– छोरीलाई होइन हरेक छोरालाई संस्कार सिकाएर समाज बदलौं ।

महिलालाई सुन्दरताको प्रतीक मानेर त्यसलाई एक्सपोज गर्नु हुँदैन भन्ने मान्यताले पो काम गरेको हो कि ? 
हो महिला सुन्दर हुन्छन्, तर सुन्दर देख्ने नजर त पुरुषको हो नि । सुन्दर हुँदैमा महिला बोल्ड हुँदैनन्, ब्रिलियन्ट हुँदैनन् भन्ने होइन । महिलामा यो सवैकुरा हुन्छ । सबैकुरा एकैपटक हुनसक्ने भनेकै महिला हुन् । त्यो पुरुष  हुन सक्दैन । छोरामा संस्कार र छोरी आफू सक्षम भएपछि समाज त्यसै बदलिन्छ ।

तपाईंले सन्तान जन्माउन विवाह गर्नु पर्दैन भनेर वकालत गर्दै आउनु भयो । यो अवस्थासम्म आइपुग्न के कस्ता चुनौती खेप्नु भयो ? 
पहिला पहिला नर्स भएर राती काम गर्नु, होटलको टेवल पुछेर कमाइ गर्नेहरुलाई कति गाह्रो थियोहोला सोच्नुस् त ? तर, आज उहाँहरु होटेलको मालिक हुनुभएको छ । हस्पिटल खोलेर सेवा दिनुभएको छ । त्यो दुःख खपेर अहिलेका पुस्तालाई तपाइँले भने झैं राजमार्गनै बनाउनु भयो । कति धेरैलाई रोजगारी दिनुभएको छ । त्यस्तै हो, एउटा ठाउँमा पुग्नलाई त्यसको बेस चाहिन्छ । मसँग पनि जीवनका यस्तै सिकाई छन् ।

तर मलाई एउटै कुराले सधैं दुख्छ कि, महिलाको सक्षमता पछाडि यो समाजले एउटा पुरुष ल्याएर जोडिदिन्छ । अरुको के कुरा ? राष्ट्रपतिकै कुरा गरौं न । देशको प्रमुख स्थानमा पुगेको ब्यक्तिलाई पनि कसैकी श्रीमती भएका कारण मात्रै त्यहाँ पुगेको भनेर जोडिदिने । यो सोचाईको दरिद्रता हो ।

भनेपछि समाजबाट विभेद हटाउन हरेक एउटी आमाको प्रयास चाहिन्छ भन्नुभएको हो  ? 
हो, आमाले छोरा हुर्काउँदा यौनिकताको बारेमा शिक्षा दिनुपर्यो । आफूले जे भोगेको छ, त्यसबाट सिकेको कुरा त छोरालाई सिकाउनु पर्यो नि । खुला ठाउँमा शिवलिङ्गलाई छोएर, सुम्सुम्याएर धोएर पूजा गर्न सक्नेले घरमा छोरासँग लिङ्गको आयामबारे किन नसिकाउने ? जब उसले घरमा आमाबाट आफ्ना जिज्ञासा मेटाउँछ, तव ठूलो भएपछि महिलामाथि नराम्रो ब्यवहार गर्नै सक्दैन ।

त्यहि आमाले हुर्काएको छोरा वलात्कार गर्न पछि नपर्ने तर, छोरी आज्ञाकारी किन हुन्छन् त ? 
मान्छे त प्रकृतिको एउटा भेहिकल मात्र हो । जस्तोसुकै मान्छे भए पनि एकपटक उसमा यौन संवेदना त आउँछ नै । आमा बाबुले नसिकाए पनि आउँछ । आमा बाबुले नै सिकाएर हुर्काएकोमा सभ्य रुपमा यौनलाई प्रयोग गर्ने चेतना हुन्छ । यौनलाई रहस्यको विषय बनाएर दवाएर राख्ने परिवारमा हुर्केकोमा त्यो विष्फोट हुन्छ । डोकोले हावा छेकेर छेकिन्छ र ? कहिँ न कहिँबाट उसले सिक्छ आफैँ । अनि त्यो बेला उसले गल्ती पनि गरिसक्छ । यहि कुरा बुझ्न नसक्दा बलात्कारी, ड्रगिष्ट र बाटोमा केटी जिस्क्याएर हिंड्ने हुन्छन् । अब छोरी किन त्यस्ता भएनन् भने उनीहरुलाई दमित बनाइएको छ र जे पर्छ भोग्नुपर्छ भन्ने सिकाइएको छ । त्यसैले घरमा बाबु आमाले नै यौन शिक्षा दिनुपर्छ भन्छु म ।

महिला झन बोल्ड हुँदै गएपछि परिवारमा बिखण्डन आइरहेको छ भन्छन्, हो त ?  
मेरा एकजना आफन्तसँग एकदिन कुरा गर्दैथिएँ । उहाँले एउटा ग्यादरिङमा हजुरवा, हजुरवाका तीनजना श्रीमती र छोराछोरी सबै जम्मा भएको भन्नुभयो । ल त्यहि ठाउँमा हजुरआमाका तीनजना श्रीमान जम्मा भएको भनौं त ? एउटा पुरुषका तीन श्रीमती एकै ठाउँ भेला हुनुलाई स्वाभाविक रुपमा लिने समाजले एउटी महिलाका तीन श्रीमान एकैठाउँ ग्यादरिङ गरेको पचाउन सक्छ ? पुरुषहरु खुला रक्सी, चुरोट खान्छन् । ल हामी खाउँ त, के भन्छ समाज ? अहिले जे जे भएको छ त्यो सबै महिलाले सहिदिने भएर हो । उसले तीनवटा ल्याउँदा, १०औं जनासँग सेक्सुअल रिलेशनमा रहंदा, चुरोटले डाम्दा पनि सहिदिए मात्र परीवार जमेको देख्ने, त्यसलाई नसहे परीवार विखण्डन भएको देख्ने ?

त्यो घर, घर नहुने अनि महिलाले बरु एक्लै बस्छु भन्दा परिवार भड्किएको भन्ने ? अब महिला हरुले पनि आफ्नो शक्ति थाहा पाए । अब त्यसैगरी सहंदैनन् । जो आर्थिक रुपमा सक्षम छन् दवावमा रहन्नन् । त्यसो हुनु समाज विग्रिएको होइन । बिग्रिएको समाजको रुप देखिएको मात्र हो । हिंसामा पुरुष छन् भने पनि त्यहि हो । ल न, म दुईटा श्रीमान राख्छु भन्छु । मान्छ त समाज ? तर हामी त्यसो गर्दैनांै । गर पनि भन्दैनौं । महिला र पुरुषमा फरक सामाजिक सोचाई हुनु भएन भनेको मात्रै ।

यसो सोचौं न, दुईजना एक हुने भनेको दुईटाको खुशी जोड्दा झन् खुशी हुन सकिन्छ कि भनेर हो नि । स्वतन्त्रता मार्न त होइन । श्रीमान श्रीमती हुनुहुन्छ तर बोलचाल छैन । दुईतिर फर्केर सुत्नुहुन्छ । अर्को एक्लै भएको मान्छे गीत लगाएर नाच्दै बस्छ, खुशी हुन्छ । स्वतन्त्रताले हो नि खुशी ल्याउने । अचेल म सुन्छु–, अहिले त धेरै परीवारमा महिला, पुरुष दुबै कामकाजी छन् । केटाले म आज डिनर बाहिरै गरेर आउँछु भन्यो भने, केटी पार्टनरले पनि हस् मेरो पनि पार्टी छ आउन ढिलो हुन्छु है भन्छे रे । अनि त्यो पुरुष पार्टनर ढक्क हुन्छ रे । उसले गरुन्जेल काम साथीले गर्दा नकाम भन्ने हुन्छ ? भन्नुस् त ।

एक्लै बच्चा हुर्काउदै बैंकको सीईयो पदमा आइपुग्नु भएको छ । तपाईं यस्तो ब्यस्त हुँदाहुँदै पनि यति खुशी देखिनुहुन्छ । के कुराले हो मान्छेलाई खुशी बनाउने ? 
हरेकका लागि खुशी हुने कुरा फरक फरक हुन्छ । सानो छंदा खेल्न जान पाउने कुरा, नयाँ जामा लगाउन पाउँदा खुशी लाग्थ्यो । अलि ठूलो भएपछि सिनेमा हेर्न जाँदा खुशी लाग्थ्यो । विहे गरेपछि बच्चा जन्मंदा, उसलाई हुर्काउँदा खुशी भएँ । बीचमा तलव बढ्दा खुशी मिल्थ्यो । तलवले घडी किन्दा उस्तै खुशी । पहिलोचोटी मारुती किन्दा खुशीको सीमा भएन । तर अहिले मसँग सबैथोक छ । अहिले र्याफो गाडीले पनि मेरो त्यो मारुतीको जति खुशी दिन सक्दैन । फष्ट टाइम पेपरमा मेरो बारेमा थोरै लेखिंदा पनि ओहो खुशीले कति पटक पढेँ । तर अहिले कहाँ के छापिएको छ यसो हर्यो, सकियो । अलिकति खुशी पनि दिंदैन । के छैन मसँग ? तर केहि कुराले खुशी दिंदैन । यहिले म गाडीमा घर फर्कंदै गर्दा बाइकमा या साइकलमा भएको कसैलाई या भारी बोकेर फर्कंदै गरेको कसैलाई स्माइलले के छ, ठीक छ ? भनेर सोध्न पाउँदा, इसाराले उसको मन तानेर स्माइलमा ल्याउन पाउँदा कार किनेको भन्दा धेरै खुशी लाग्छ । त्यसैले हरेकलाई खुशी हुने कुरा फरक हुन्छ, समय अनुसार । मेरा खुशी हुने चिज झनै साना र सुन्दर छन् । (चक्रपथ बाट साभार)