माअ‍ोवादीबाट शाही मुख्यमन्त्री बन्ने पक्का, हेरौ अरुको-को छन् लाइनमा ?

काठमाडौं, ८ माघ ।

नेकपा एमालेसंग ६०–४० को भागबन्डा गरेपछि माअ‍ोवादी केन्द्रले दुई वटा प्रदेशमा मात्र मुख्यमन्त्रीमा दाबेदारी गर्न पाउने भएको छ ।

दुई वटा प्रदेशको मुख्यमन्त्री दाबी गरिरहेको माओवादी केन्द्रले मुख्यमन्त्री चयनको प्रक्रिया भने अझै टुंगो लगाएको छैन । माओवादी केन्द्रले प्रदेश नम्बर ६ र ७ मा मुख्यमन्त्री दाबी गरिरहेको स्रोतको दावी छ ।

प्रदेश नम्बर ६ बाट मुख्यमन्त्रीमा महेन्द्रवहादुर शाही दाबेदार रहेको र उनको पक्कापक्की भएको स्रोतको दाबी छ । माओवादी बाटै नरेश भण्डारीको पनि दावी छ । सिनियारिटीको आधारमा हेर्दा महेन्द्र बहादुर शाहीकै पोल्टामा पर्ने देखिएको छ । एमालेका प्रदेश नेताहरुले मुख्यमन्त्रीको दाबी गरेपनि माओवादीको भागमा पर्ने भएकाले दावी नगर्न एमाले नेतृत्वले प्रदेश नेताहरूलाइ सुझाएका छन् ।

प्रदेश नम्बर ७ बाट मुख्यमन्त्रीका लागि माओवादीका वीरमान चौधरी र झपट बोहोराको नाम चर्चामा छ । थारु समुदायको भएका कारण चौधरीको सम्भावना बढी छ । त्यो भएको खण्डमा प्रदेश १ मा राई, २ मा मधेसी, ३ मा महिला नेवार, ४ मा गुरुङ, ५ र ६ मा खसआर्य र ७ मा थारु मुख्यमन्त्री हुने र समावेशिता देखिने तर्क राजनीतिमा गरिएको छ ।

प्रदेश नम्बर १ बाट भने नेकपा एमालेका नेता शेरधन राईले दाबी गर्दै आएका छन् । शुरुबाट नै राईले दाबी गरेपनि एमालेका केही नेताहरुले पनि आफ्नो दाबी छोड्न सकेका छैनन् । एमालेका भीम आचार्य पनि आफूलाई प्रदेश नम्बर १ को मुख्यमन्त्रीको दाबेरदार भएको ठहर्याउँछन् । उनको व्यीक्तगत दाबी भए पनि राई ओली निकट मानिएकाले मुख्यमन्त्रीमा उनकै पक्का भएको छ ।

त्यस्तै प्रदेश नम्बर दुई मा भने मधेसवादी गठबन्धनको बहुमत रहेको प्रदेश २ मा मुख्यमन्त्रीका लागि संघीय समाजवादी फोरमबाट मात्रै तीनजना दाबेदार देखिएका छन् । लालबाबु राउत, शैलेन्द्र साह र बिजय शाहमध्ये एक मुख्यमन्त्री बन्ने बताइएको छ ।

यद्यपि सो प्रदेशमा राजपाको पनि दाबी छ । राजपाबाट जितेन्द्र सोनाल र मनिष सुमन मुख्यमन्त्रीका दाबेदार हुन् । तर, प्रदेशसभामा फोरम ठूलो पार्टी भएका कारण राजपाको दाबी कमजोर देखिएको छ । अन्य प्रदेशमा भने वाम गठमन्धनकै मुख्यमन्त्री हुनेछन् । तर काँग्रेस भने मुख्यमन्त्रीबाट वन्चित हुने देखिएको छ । – sancharkendra.com