कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी बीच सहकार्य हुने

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी बीच “कता नेपाली?” शीर्षकको भिडियो प्रतियोगिताको लागि सहकार्य हुने घोषणा भएको छ । प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट ३ भिडियोहरुलाई वासिङटन डि.सी. महानगर क्षेत्रमा २०१८ मे १८ देखि २० सम्म आयोजना हुने नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गरिने छ ।

अहिले कोड फर नेपालले प्रतियोगिताका लागि छोटा भिडियोहरुको आवेदन खुलाइ रहेको छ । सहभागीहरुलाई आफ्नो भिडियो आवेदन दिन कुनै शुल्क तोकिएको छैन । नेपाल तथा विदेश मा बस्ने १४ वर्ष वा सो भन्दा माथिका नेपाली भिडियोकर्मीहरु सहभागिताको आशा गरिएको छ । भिडियो भोजपुरी, अंग्रेजी, नेपाली, मैथिली, वा तामाङ भाषामा पेश गर्न सकिनेछ । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गरिने भएकोले अंग्रेजी भाषा बाहेकका भिडियोलाई अंग्रेजी सबटाइटल राख्न अनुरोध गरिएको छ ।

भिडियो पठाउनु पर्ने समया अवधि डिसेम्बर ७ – डिसेम्बर ३१, २०१७ तोकिएको छ । प्रतियोगिताका लागि पेश गरिएका प्रस्तुतिहरु www.codefornepal.com/katanepali मार्फत संकलन गरिनेछ र अन्तिम निर्णय फेब्रुअरी १४, २०१८ मा घोषणा गरिनेछ l भिडियो प्रतियोगिता अन्तर्गत प्रथम पुरस्कार विजेतालाई २० हजार प्रदान गरिनेछ भने द्वितीय र तृतीय हुनेलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

यस प्रतियोगिता मार्फत कोड फर नेपालले डिजिटल साक्षरताको कौशलता पहिचान गर्ने तथा ‘नेपालीहरु नेपालको भविस्यको बारे कस्तो सपना र सम्भावना देखछन् ?’ भन्ने बिषयमा रचनात्मक छलफल, साथसाथै नेपाली नागरिकबीच बहसको संस्कृति बलियो बनाउने लक्ष्य लिएको छ |