८ गते सार्वजनिक विदा

काठमाडौं सरकारले माघ ८ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सो दिने तामाङ समुदायको महान चाड सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । सो दिन सबै सरकारी कार्यालय, शैक्षिक संस्था, शेयर बजार, बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने भएको छन् ।

खोटेहाङ–काठमाडौँ बस सेवा सञ्चालन
खोटाङ, ६ माघ ।खोटाङको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाबाट पहिलोपटक पूर्वी तराई तथा राजधानी काठमाडौँसम्मको सिधा बस सेवा सञ्चालनमा आएको छ । खोटाङ यातायात प्रालिसँगको सहकार्यमा गाउँपालिकाले वडा नं ३ सावाकटहरेको निगालेबाट काठमाडौँ र पूर्व तराईको इटहरीसम्म दैनिक बस सेवा सञ्चालन गरेको हो ।

खोटेहाङको वाखुताङ–काठमाडौँ दैनिक बिहान ४ बजे, वाखुताङ–गाईघाट बिहान ५ः३० बजे, खोटाङबजार–काठमाडौँ बिहान ५ बजे, सिम्पानी–काठमाडौँ बिहान ६ः३० बजे र खोटाङबजार–गाईघाट बिहान ६ः३० बजे बस छुट्ने व्यवस्था मिलाइएको छ ।

सगरमाथा राष्ट्रिय राजमार्गमा पर्ने फोक्सिङटारस्थित सुनकोसी नदीमा निर्माण गरिएको पुल सञ्चालनमा आएसँगै खोटाङ यातायात प्रालिले खोटेहाङबाट पूर्वी तराई तथा काठमाडौँसम्मको सिधा यातायात सेवा सञ्चालनमा ल्याएको प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो ।

गाउँपालिकाको विभिन्न ठाउँबाट सिधा यातायात सेवा सञ्चालन भएपछि दक्षिणी क्षेत्रका बासिन्दाले उदयपुरको बेल्टारसम्म पुगेर बस चढ्नुपर्ने बाध्यता हटेको छ । दश स्थानीय तह रहेको खोटाङका गाउँ–गाउँमा यातायातको पहुँच सहज हुँदै गएको छ ।

दुर्गम क्षेत्रका यात्रुले दुई दिनसम्म हिँडेर बस चढ्नुपर्ने बाध्यता विद्यमान छ । सोही समस्यालाई मध्यजनर गरेर गाउँपालिकासँगको सहकार्यमा खोटाङ यातायात प्रालिले सिधा बस सेवा सञ्चालन गरेको हिङमाङ बताउनुहुन्छ ।