बालेनकाे बिराेध गर्ने एमाले नेता महेश बस्नेत भक्तपुर २ बाट सर्वसम्मत !

काठमाडौ । मङ्सिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

प्रतिनिधिसभा सदस्य बस्नेत आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफारिस भएको एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए ।

उम्मेदवारका लागि बस्नेत र नेता निर्मल भट्टराईले पार्टी कार्यालयमा आवेदन दिए पनि सोमबार बसेको जिल्ला कमिटी बैठकको सिङ्गो हलले नेता बस्नेतको विकल्पमा एमालेमा अर्को उम्मेदवार हुनै नसक्ने भन्दै सर्वसम्मतरूपमा बस्नेतको नाम पारित गरेको बैठकमा सहभागी नेताहरुले जानकारी दिए ।

नेता बस्नेतले ०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई पराजित गरेका थिए ।

त्यस्तै, नेकपा माओवादी केन्द्र भक्तपुरले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार सिफारिस गरेको छ ।

सोमबार बसेको जिल्ला समन्वय समितिको बैठकले भक्तपुर–२ मा वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई एकलरुपमा सिफारिस गरेको छ ।

यो नेकपा एमालेका नेता महेश स्नेतको क्षेत्र हो । एमालेनिकट युवा संघको पूर्व अध्यक्ष समेत रहेका बस्नेतले यो क्षेत्रमा चुनाव जित्दै आएका छन् । भक्तपुर–१ बाट सुरेश न्यौपानेलाई एकलरुपमा सिफारिस गरेको छ ।

माओवादी केन्द्र भक्तपुर जिल्ला समन्वय समितिका संयोजक सुनिल गोठेका अनुसार प्रतिनिधिसभा १ को प्रदेशसभा ‘ख’ मा सुनिल गोठे र प्रतिनिससभा २ को ख मा दिलिपकुमार प्रजापति सिफारिस भएका छन् ।

बाँकी रहेका प्रदेशसभामा धेरै दावेदार रहेकाले सहमतिमै एकल उम्मेदवार सिफारिस गर्ने प्रयास भइरहेको गोठेले जानकारी दिए ।