अब म चुनाव लड्दिनँ, एमालेलाई जिताएर केपी ओलीलाई प्रधानमन्त्री बनाउने हो- केशव स्थापित

काठमाडौं ।

काठमाडौं महानगरको मेयरमा २५ वर्षपछि दोहोरिन चाहेका थिए, एमाले नेता केशव स्थापित। मनोनयन दर्ता गर्दै उनले प्रतिस्पर्धीलाई ललकार्दै ‘गेम इज ओभर’ भनेका थिए । पुरानो ‘मिटु’ आरोपदेखि आफ्नै बोलीवचनले एकपछि अर्को विवादमा उनी घेरिइरहे । मतदानको अघिल्लो दिनसम्म चुनाव जित्नेमा ढुक्क देखिएका स्थापित जब मतगणना सुरु भयो हैरान भए ।

चुनावी थकाइ मारेर जमलस्थित एउटा होटलमा बसेका उनी अग्रता लिएपछि राष्ट्रिय सभागृहस्थित मतगणनास्थल जाने सोचाइमा थिए । तर, त्यो दिन आएन । उनी मतगणनास्थल नगएरै घर फर्किनुपर्‍यो । चुनाव जित्नेमा ढुक्क देखिएका स्थापित हारपछि के गर्दैछन् ?

चुनाव हारेपछि कतै देखिनुहुन्न । के गर्दै हुनुहुन्छ ?
म आफ्नै काममा व्यस्त छु । पार्टीको शहरी विकास विभागले आउँदो १० वर्षको शहरी अवधारणा बनाउँदैछ । त्यसमा लागेको छु । चुनावपछि अलि फुक्का भएँ । त्यसैले आफ्ना केही सपनाहरूमा काम गरिरहेको छु ।

कस्तो सपना ?
छन् केही । डेढ-दुई महिनामा देशले थाहा पाउँछ ।
भन्न मिल्दैन ?
त्यस्तो गोप्य पनि होइन । म केही नयाँ प्रविधि भित्र्याउन लागिपरेको छु । खाना पकाउने ग्यासले व्यापारघाटा बढायो क्या । त्यसैले ४० जिल्लालाई लक्षित गर्दै थोरै दाउराबाट खाना पाक्ने, धुवाँरहित चुल्हो बनाउन लागिएको छ । नाम तर्बुकोशिना राखिएको छ । अहिले जति दाउरा खर्च हुन्छ, त्यसको ८-९ प्रतिशतले नै खाना पाक्छ ।

धुवाँरहित हुने भएकाले स्वास्थ्यलाई हानि गर्दैन । यो सफल भयो भने देशको ६० अर्ब जोगिन्छ । सामुदायिक वन उपभोक्ता महासंघसँग छलफल गर्दैछु । ढलापडा, वन व्यवस्थापनका क्रममा काटिने हाँगाबिँगालाई सुपारीजस्तै काटेर प्रयोग गर्ने हो । त्यसैले वन विनाश पनि हुँदैन ।

भनेपछि चुनाव हारेपछि तपाईं चुल्हो बनाएर पो बस्नुभएको छ ?
चुल्हो मात्र हैन । म हाइड्रोजन फ्युलका लागि पनि काम गरिरहेको छु । काठमाडौं विश्वविद्यालयले पनि यसमा काम गरिरहेको छ । तर, मैले यो कामलाई धेरै अगाडि लगिसकेँ । मसँग रहेका वैज्ञानिकहरू धेरै अघि पुगिसकेका छन् । छिट्टै नतिजा आउँछ । गाँजाखेतीको प्रतिबन्ध फुकुवा गर्न १० लाख किसानको संगठित अभियान अघि बढाउँदैछु ।

अर्को, दुई वर्षभित्र २ करोड बाँसका बेर्ना उत्पादन गरेर भू–क्षय रोक्ने योजनामा अघि बढेको छु । मेलम्चीको पहिरो ग्याल्बिनले रोकिन्न नि । देशभर पहिरोले दुःख दिइरहेको छ । बाँसको एउटा राम्रो प्रजाति फेला पारेको छु । केही दिनमा इन्द्रावती गाउँमा बाँस रोप्छु । त्यो दुबोजस्तो छिट्टै फैलिँदोरहेछ । दुई वर्षमा २ करोड बेर्ना तयार हुन्छ । अनि, पहिरो प्रभावित क्षेत्रमा लगेर रोप्ने योजना बनाएको छु ।

चुम्बकीय डिभाइसबाट बिजुली निकालेर विद्युत् नपुगेका गाउँमा उज्यालो पुर्‍याउने अर्को योजनामा पनि काम भइरहेको छ । पानीघट्टजस्तो साना खोल्साबाट पनि १०० वाटसम्म बिजुली निकाल्ने प्रविधि भित्र्याउन पहल गरिरहेको छु । पाँच वर्षमा त्यो प्रविधिले अफ्रिकाका धेरै गाउँ उज्यालो बनाएछ । हाम्रा धेरै गाउँ अझै अँध्यारै छन् । हामीले नगरे कसले गर्छ ?

एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । राजनीतिक गतिविधिमा सक्रिय हुनुहुन्न ?
छु नि । भनिसकेँ त, पार्टीले दिएको जिम्मेवारीअनुसार शहरी विकास अवधारणा बनाउँदैछु ।

महानगरको चुनावमा मनोनयनकै दिन ‘गेम ओभर’ भन्नुभएको थियो । तर, स्वतन्त्र उम्मेदवारले तपाईंकै गेम ओभर गरिदिए । चुनावी हारको समीक्षा गर्नुभयो ?
त्यसको केही फाइदा छैन । एकले अर्कालाई आरोप-प्रत्यारोप लगाएर केही हुनेवाला छैन । कसलाई कारबाही गर्ने ? कारबाही गरेर त्यस्ता व्यक्तिलाई किन महत्त्व दिने ?

तपाईंको संकेत विद्यासुन्दर शाक्य र रामवीर मानन्धरतर्फ हो ?
विद्यासुन्दर राजनीतिक मान्छे नै होइन । कांग्रेसको जुलुसमा भोट माग्न हिँड्नेवाला हो । रामवीरलाई दुनियाँले चिनिसके । पार्टीको कुनै तहमा छैनन् । उसलाई किन चलाउने ? कारबाही गरियो भने कांग्रेसमा जान भाउ बढ्छ ।

तपाईंको हारको खास कारण केलाई ठान्नुभएको छ ?
हारको ठ्याक्कै कारण मलाई थाहा छ । तर, यसबारे अहिले म बोल्दिनँ । प्रदेश र संघको चुनावपछि बोल्छु । एउटा कुरा भन्छु– हारको कारण हामीतिरै छ । अरुलाई के भन्ने ? पार्टीको नेता-कार्यकर्ता भएको छ, आफू केही नगर्ने अनि दोष जनतालाई दिन मिल्दैन ।

चुनाव हारेपछि अध्यक्ष केपी ओलीलाई भेट्नुभयो ?
भेटेँ नि । आफ्नो पार्टीको अध्यक्ष भेट्न मलाई केको आइतबार चाहियो र ?

उहाँले के भन्नुभयो ?
थाक्ने हैन । लागिराख्ने हो भन्नुभयो । कांग्रेस–माओवादीको गठबन्धनले गर्दा केही ठाउँ हारेको मात्र हो, पार्टी कमजोर छैन । उहाँले संसदीय चुनाव जितेर सपना पूरा गर्नुपर्छ भन्नुभयो ।

अब प्रदेश वा प्रतिनिधिसभा चुनाव लड्नुहुन्छ ?
अब म चुनाव लड्दिनँ । मज्जाले लागेर पार्टीलाई चुनाव जिताउने हो । केपी ओलीलाई प्रधानमन्त्री बनाउने हो ।

चुनावपछि काठमाडौंका मेयर बालेन शाहसँग भेट भयो ?
छैन । भेट्न आए कालो कफी खुवाएर पठाउँछु । मैले घोषणापत्रमा राखेका शिक्षा, स्वास्थ्य र शहरी विकासका केही योजना कार्यान्वयन गर्न सके उनी सफल हुन्छन् ।

त्यो सम्भावना कति छ ?
विल्कुल छैन । २-४ महिनामा बालेन थाक्छ । बालेनले केही गरिखाँदैन । यो पाँच वर्ष काठमाडौंवासीले दुःख व्यहोर्ने हो । बालेनबाट चल्दैन भन्ने मलाई लागिसक्यो । अस्ति सार्वजनिक ठाउँमै रक्सी खाएर गयो । ऊसँग भएको संगठित मास होइन । काम गर्न नसकेपछि समर्थकले छाड्दै जान्छन् ।

केही नयाँ त गर्न खोज्दै हुनुहुन्छ नि । सुरुमै किन अविश्वास गर्ने ?
केही गर्दैन । देख्नुभएन निर्णय ? १५ लाखमा यमबुद्धको सालिक बनाउने । विरोध भएपछि आफ्नै तलबबाट बनाउने रे । यस्तो पनि महानगरको मेयरको निर्णय हुन्छ ?

केशव स्थापित भएको भए के हुन्थ्यो ?
म भएको भए यमबुद्धको हात काटिएको अर्धकदको सालिक हैन, म्युजिक सेन्टर बनाउँथेँ । नागार्जुनमा यमबुद्ध पार्क र सँगै म्युजिक विश्वविद्यालय बनाउँथेँ । १५ लाख हैन, पहिलेका मेयरले काम नगरेर थुपारेर राखेको २ अर्ब खर्च गर्थें । संसारभरका र्‍यापरको अन्तर्राष्ट्रिय सेन्टर बनाउँथेँ । “शिलापत्रबाट साभार”