शेर सुनारले किन रोजे प्रेम गाहा मगरलाई ?

हाम्रा संवाददाताबाट

लण्डन । गैरआवासीय नेपाली संघका एक वरिष्ठ अभियन्ता शेर सुनारले संघको राष्ट्रिय समन्वय परिषद, बेलायत (एनसीसी यूके) को आगामी नेतृत्वका लागि प्रेम गाहा मगरलाई समर्थन जनाउँदै उनको चुनावी अभियानको नेतृत्व सम्हालेका छन् ।

सन् २०१९–२०२१ कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार रहेका सुनारले आगामी कार्यकाल (२०२१–०२३) का लागि भने गाहा मगरलाई अध्यक्षको उम्मेदवार बनाई विजयी गराउने अभियान थालेका हुन् ।

अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका सबै जनाप्रति आफ्नो सम्मान रहे पनि समर्थन भने प्रेम गाहा मगरलाई रहेको उनले स्पष्ट पारे ।

‘अनुभव, वरिष्ठता र क्षमताका आधारमा प्रेमजी अध्यक्ष बन्नुपर्छ भन्ने मेरो भनाइ हो’ गाहामगरलाई आफ्नो समर्थनबारे स्पष्ट पार्दै सुनारले भने, ‘अन्य आकांक्षी भन्दा उहाँ नै वरिष्ठ हुनुहुन्छ र वरिष्ठताका आधारमा पनि उहाँलाई काम गर्ने अवसर दिनुपर्छ।’

एनआरएनए सबैको साझा संस्था भएको बताउँदै एनआरएन अभियन्ता सुनारले भने, ‘प्रेमजी अध्यक्ष बन्दा नै संस्था साझा बन्न सक्छ भन्ने मेरो विश्वास रहेको छ।’

एनआरएन यूकेका पूर्व उपाध्यक्ष रहेका सुनारले दुई दुई कार्यकाल निर्वाचित भएर कार्यसमितिमा रही काम गरेको अनुभव प्रेम गाहामगरसँग रहेको र त्यो अनुभव आगामी कार्यकालका लागि फलदायी हुने पनि उनले बताए । दुवै कार्यकालमा निर्वाचित भएकाले पनि प्रेमसँग लोकप्रियताको आधार रहेको उनले दाबी गरे ।

‘उहाँ दुई कार्यकाल चुनावै जितेर उपाध्यक्ष हुनु भएको हो, उहाँ मनोनित हुनु भएको होइन, पटक पटक निर्वाचित हुनु भएकाले पनि अब उहाँ अध्यक्ष बन्नुपर्छ भन्ने मेरो तर्क हो’ उनले थपे ।

‘सबै भन्दा उत्तम उम्मेदवार गाहामगर’

गैरआवासीय नेपाली संघको चरित्र र छबि उच्च बनाइराख्न र संस्कार बचाउन पनि अहिलेका लागि गाहामगर भन्दा उत्तम उम्मेदवार अर्को हुन नसक्ने सुनारले दाबी गरे । ‘अघिल्लो चुनावदेखि हाम्रा गतिविधिमा केही समस्या देखिएका छन्, ती समस्या समाधान गर्नुपर्ने छ, अवस्था सुधार गर्नुपर्ने छ,’ उनले भने ‘ हामीले यसमा ध्यान दिन सकेनौं भने अवस्था झनै बिग्रन सक्छ, हामी सबै त्यसमा सचेत हुनुपर्छ।’

हाल संस्थामा देखिएका खराबीहरुलाई हटाउन पनि प्रेम गाहा मगर सफल हुने सुनारको विश्वास छ । ‘उहाँले विगतका दुई कार्यकाल कार्य समितिमा बसेर संस्था सञ्चालनका बारेमा अनुभव लिनु भएको छ,’ उनले भने ‘अब उहाँले आफ्नो अनुभव संस्थाको छवि सुधार गर्न लगाउनु हुने छ।’

गाहा मगरको पक्षबाट सदस्यता दर्ता अभियानको नेतृत्व गरिरहेका सुनारले बेलायतवासी नेपाली युवा पुस्ताका बीचमा प्रेम लोकप्रिय रहेको पनि जनाए । ‘युवापुस्ताका बीचमा प्रेमजी लोकप्रिय हुनुहुन्छ, अब उहाँलाई अग्रजहरुले पनि साथ दिनुपर्छ’ उनले भने ।

पूर्व गोरखा सैनिक र उनीहरुका परिवारको बाहुल्यता रहेको बेलायतमा प्रेम गाहा मगर आफै पनि पूर्व गोरखा सैनिक हुन् ।

पूर्व गोरखा सैनिक रहेकाले पनि उनलाई पूर्व गोरखा सैनिकहरुले भोग्नु परेका समस्याका बारेमा जानकारी छ । ‘उहाँलाई पूर्व गोरखा सैनिक र उनीहरुका परिवारले भोग्दै आएका समस्याका बारेमा राम्ररी जानकारी छ, जसलार्ई जानकारी छ, उसैलाई जिम्मेवारी दिइयो भने समस्या समाधानका लागि सहज हुन सक्छ,’ सुनारले भने ।

गैरआवासीय नेपालीहरुलाई प्रवासमा मात्रै होइन, मातृभूमि नेपालमै पनि विभिन्न समस्या छन् । नागरिकता निरन्तरता, दोश्रो र तेश्रो पुस्ताको पहिचान तथा सम्पत्तिको अधिकार लगायतका समस्या छन् । ‘ती समस्याबारे नेपाल सरकार र नेपालका राजनीतिक दलहरुसँग समन्वय र सम्वाद गर्न पनि आवश्यक छ,’ सुनारले भने, ‘त्यसका लागि समस्याको स्पष्ट उठान र समाधानको उपायबारे सुझाव दिन पनि सक्नुपर्ने हुन्छ।’

संस्थालाई आफ्नो चरित्र, मर्यादा र उद्देश्यमा प्रतिबद्ध कायम राखिराख्न पनि यस पटकको निर्वाचनमा गाहा मगरलाई साथ दिन सुनारले बेलायतवासी नेपाली समुदायलाई आग्रह गरेका छन ।

जति सक्दो चाडो सदस्यता लिई नेतृत्व चयन प्रक्रियामा सहभागी हुन पनि उनले अपिल गरेका छन् ।