काठमाण्डौमा कोठा पाउन बूढी चाहिन्छ ? चिसो सडकमा बोरा भित्र सुत्नेहरुको कथा

करिब रातको १० बजेको समय । काठमाडौँको सडक चकमन्न बन्दै गए पनि शुक्रबारको रात अघिपछिभन्दा सवारीको चाप बढी नै थियो । साना सवारी र मोटरसाइकल कालीमाटी हुँदै कलङ्की, बल्खु र त्रिपुरेश्वर हुइकिँदै थिए ।

काठमाडौँमा जाडो शुरु भइसकेको छ । बिहान–बेलुका न्याना कपडा नलगाई हिँड्न गाह्रै हुन्छ । त्यो पनि रातको १० बजे चिसो सिरेटो नचल्ने कुरै भएन । कालीमाटीबाट बल्खु जाने सडको दायाँबायाँका सटरहरु बन्द थिए । सटरमुनिको सडकपेटीमा सामान हालेर राखिएझैँ बोराको लस्कर प्रहरीको ज्याकेट टल्किए जसरी टाढैसम्म टल्कियो ।

बोरासँग दर्जनौँ कुकुर गुडुल्किएर सुतिरहेका थिए । नजीक पुग्दा बोराका बीचबीचमा केही मान्छे मजेत्रो ओढेर सुतिरहेका देख्यौँ ।