नेपाल भ्रमण वर्ष २०२० : २० लाख पर्यटनलाई नेपाल भित्र्याउने !

आर्यन सिके – हाल अबुधबी सम्युक्त अरब एमिरेट्स

नेपाल सरकारले नेपाल भ्रमण वर्ष भव्य रुपमा मनाउने बिधिवत रूपमा २०१५ ले २०१८ लाई भ्रमण वर्र्ष मनाउने आधिकारिक घोषणा गरेता पनि यसलाई २०२० मा सारिएको थियो । तर अझै पनि कतिपय मुख्य पुर्बधारहरु तयार भैसकेको छैनन् । हुन त जुन जोगी आए पनि कानै चिरेको भने जस्तो हामी एउटा कुरामा मात्र होइन हरेक कुरामा धेरै पछाडी छौं । हाम्रो देशमा सरकारको कमजोरी भनेको राष्ट्रिय मुद्दा एवं प्रतिष्ठित योजना देखि सानो सानो विषयमा गम्भीर हुने र समयलाई योजनाबद्ध रुपमा सम्पन्न गर्ने न सरकारसँग न ठोस कदम छ न सम्यन्त्र नै ।

सरकारले सार्बजनिक बिज्ञापनहरुमा २० लाख पर्यटनलाई नेपाल भित्र्याउने र कथित रूपमा अर्थब्यबस्थालाई सुदृढ गर्दै देश बिकाशमा लगानी गर्ने मुख्य योजन हो । तापनि दुर्भाग्यवश जसरी बिज्ञापन, भाषण गरिन्छ यथार्थमा भिन्न छन् । हामी भन्ने गर्छौ अतिथि देवो भव अतिथिको आदर सत्कार गर्नु, हाम्रो धर्म र कर्तव्य हो र तर हाम्रो सरकारको मुख्य योजना देशको अर्थतन्त्रलाई मजबुत गराउने रोजगारका अबसरका निर्माण गर्ने हुन ! जुन बिना तयारी पुर्बधार सम्भव छैन ।

उदाहरण स्वरुप भर्खरै आसन्न चिनिया रास्ट्रपति जि सिङ पिङ को नेपाल भ्रमणको क्रममा सरकारद्वारा गराइएको देखावटी सरसफाइ २ दिने कृतिम घाँसको रोपाइ, गमलाको फुल त्यो पनि जेब्रा क्रोसिङमा, फोहोर लुकाउन बनाएको भित्ते ब्यानरबाट प्रष्ट छ, सरकारसँग सोच र दीर्घकालीन योजनको कमि छ । जबसम्म सरकार यस्तो मानसिकताबाट माथी उठेर विश्व सामु देश र नेपाली जनताको सान गौरबको रूपमा पर्यटक भित्र्याउन काम गर्न सक्दैन तबसम्म यस्ता योजनाहरु हात्तिको देखाउने दात, खाने दात र सरकारका मान्छे आउरे बाउरे धुपौरेलाई कानुनी रूपमा खाने योजना भन्दा अरु हुन सक्दैन ।

मैले सरकारको बारम्बार आलोचना गर्नु रहर होइन । तर पनि सचेत नगरिकको हैसियतले भन्नु पर्दा अब मात्र सुरु हुन गैरहेको सार्क राष्ट्रहरुको खेल्कुदको जिम्मेवारी नेपालले आजभन्दा २ बर्ष अघि नै अबगत भैसकेको अबस्थामा अनि देशमा एउटा स्थिर दुई तिहाइभन्दा बढिको सरकारको काम कछुवाको गतिमा हुनु आफैमा एउटा लज्जास्पद बियष हो । त्यसो त बिदेशी खेलाडीहरु आइसक्दा तयारी नहुनु, ग्राउन्ड अहिलेसम्म बनि नसक्नु, अभ्यासको लागि केही सामाग्री नहुनु, हाम्रो लागि अन्तर्रास्ट्रिय बेइज्जत भन्दा फरक पर्दैन ।

र अन्तमा, हाम्रो सरकारको यो अर्को सुनौलो मौका हो । भनिन्छ पहिलो प्रभाव नै अन्तिम प्रभाव हो, भन्ने उद्योषका साथ सरकारले पर्यटन बोर्ड मातहत रहेका विभिन्न संघ सस्था आबद्ध सबैलाई साक्षतकार कार्यक्रम गरि सिमित अर्थतन्त्रलाई मात्र नभएर अतिथिहरुलाई गर्नुपर्ने सत्कार सम्मान गर्न सके २०२० मात्र नभई हरेक आगमी बर्ष हाम्रो लागि पर्यटकहरुको वृद्धि गर्न मदत मिल्नेछ ।

सरकार पहिलो प्राथमिकता एअरपोर्टको ब्वस्थापन नै प्रमुख हो, त्यहाँका कर्मचारीले शिष्टता, अतिथिको आदर सम्मान सेवामा ध्यान दिन प्रशिक्षण नै दिन पर्ने आजको प्रमुख काम हो । राजधानीको फोहोरको उचित ब्यबस्थापन, सरसफाइ, ट्राफिक ब्यस्थापन, पर्यटकलाई होटेल व्यावसायी तथा ट्याक्सी चालकहरुद्वारा गरिने सास्ती झन्झट र दुव्र्यहारको अन्त्य, होटेलहरुद्वारा मनपरी लिइने रकम, पर्यटक यातायातको अलग ब्यबस्था दिन सके २०२० मात्र होइन हरेक आगमी बर्षहरुलाई भ्रमण बर्षको रूपमा लिन सकिन्छ । जुन देशका लागि मजबुत अर्थतन्त्र, रोजगारमा वृद्धि, साथै देशको भौगोलिक विकाशमा एउटा कोशेढुङ्गा थपिनेमा कुनै दुइमत र सन्देह छैन