आजको राशिफल बि.सं. २०७६ साल मंसिर ४ गते बुधबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५आजको राशिफल
आजको राशिफल बि.सं. २०७६ साल मंसिर ४ गते बुधबार ई. सं. २०१९ नोभेम्बर २०, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्गशिर्ष कृष्णपक्ष अष्टमी तिथि, मघा नक्षत्र, चन्द्रमा सिंह राशिमा। एैन्द्र योग, तैतिल करण। नेपालमा, सूर्योदय बिहान ०६ः२९ बजे, सूर्यास्त साँझ ०५ः०८ बजे हुनेछ। आजको पर्व तथा मुहूर्त– गोरखकाली पुजा, रुद्रिपुजा र अग्नीवास होमादी कार्यका लागि मुहूर्त जुरेको दिन छ । आज जन्म लिने बच्चाको राशि सिंह हुन्छ। आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ। यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्र ईत्यादीमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – एकाबिहानै केही महत्वपूर्ण घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ, जसबाट भविष्यमा राम्रो फाइदा पुग्नेछ । दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन गृहिणीहरूमा भाइबहिनी र छोराछोरीका क्रियाकलापबाट सन्तुष्टि मिल्नेछ । आज तपाईका लागि शुभरङ्ग आकासे, शुभअङ्क ९, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ वाग्देव्यै नमः मन्त्र ०७ पटक जप गर्नु शुभ हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आज तपाईका लागि चन्द्रमाको गोचर चतुर्थ भावमा हुनेछ। घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो छैन, अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । शरीरमा आलस्य जाग्नेछ । छात्रछात्रा कल्पना र भावनामा रुमल्लिने समय छ । तर आज देशपरदेशमा रहनेहरूले केही हदमा सकारात्मक फल प्राप्त योग छ ।
आज तपाईका लागि शुभरङ्ग कलेजी, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ अष्टमातृकाभ्यो नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –आज तपाईको आत्मीयजनहरूसँग भेटघाट हुनेछ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन। यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ। व्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय छ । आज तपाईका लागि आशुभरङ्ग हरियो, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ कार्यविनायकाय महागणाधिपतये नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –आर्थिक पक्ष सुदृढ रहनुका साथै सम्पत्तिसम्बद्ध समस्याहरू समाधान हुनेछन। काममा सफलता पाइने छ । गृहिणीहरूलाई पारिवारिक खुसी मिल्नेछ। विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । महत्वपूर्ण स्थानमा बोली बिक्नेछ ।आज तपाईका लागि शुभरङ्ग सेतो, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ सिद्धिलक्ष्म्यै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । मन उत्सुक र आशावादी बन्नेछ । इच्छा पूर्ण गर्न लगनशीलताका साथमा मिहिनेत गर्नु राम्रो हुनेछ । झिनामसिना र बेकामे वस्तुको किनमेलमा धनखर्च हुनेछ । नरमाइलो दिक्कलाग्दो यात्राको सम्भावना छ । समग्रमा दिन राम्रो नभए पनि कताकता कुनै कुराको कमी भएको महसुस हुनेछ । आज तपाईका लागि शुभरङ्ग गुलाबी, शुभअङ्क १, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ अं अङ्गारकाय नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – दिउँसोका तुलनामा बिहानको समय बढी सकारात्मक देखिन्छ । सुरुमा मनमा उत्साह र उमङ्ग देखिए पनि चन्द्रमा बाह्रौं घरमा रहने हुँदा आत्मबलमा कमी देखिन सक्छ, तर शरीरमा स्फूर्ति, उत्साह र उमङ्गलाई नत्याग्नु राम्रो हुन्छ । अप्ठ्यारामा परेका व्यक्तिको सहयोग गर्दा धन खर्च हुनेछ । शुभकार्य वा दानपुण्यमा मन आकर्षित हुनेछ ।
आज तपाईका लागि शुभरङ्ग बैजनी वा पहेंलो, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका ॐ बृं बृहस्पतये नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । भाइबहिनी वा सन्ततिका कारण खुसीको वातावरण बन्नसक्छ । दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ। धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ। आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ३, शुभदिशा पश्चिम आज कार्य सफलताका लागि ॐ सूर्यसुताय शनये नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आज तपाईको आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, छात्रछात्राले परीक्षा र प्रतियोगितामा सफलता आर्जन गर्ने समय छ । आज तपाईका लागि शुभरङ्ग कालो, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्य सफलतका लागि ॐ कुलदेवताभ्यो नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–आज तपाईको मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन। घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । आर्थिक पक्षमा टेवा पुग्नेछ । टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु हुनेछ । मान्यजनको आशीर्वाद पाउनु हुनेछ । आज तपाईका लागि शुभरङ्ग गाढा पहेंलो वा केशरी, शुभअङ्क ९, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ धर्मराजाय नमः मन्त्र १९ पटक जप गर्नुु शुभ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –महत्वपूर्ण कार्य गर्न आजलाई थाती राख्नु नै बेस हुनेछ । अनावश्यक यात्रा हुनेछ वा छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । कर्मचारीले हाकिमसँग, छात्रछात्राले गुरुजनसँग विवाद गर्नुपर्ने हुनसक्छ । युवा र किशोरकिशोरीमा मानसिक रोगले सताउन सक्छ । अनाहकमा अरुले गरेका गल्तीको सजाय आफूले भोग्नु पर्ने अवस्था आउन सक्छ । सचेत रहनु होला। आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ मृत्युञ्जयाय नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –कार्यमा देखिएका उल्झन सुल्झाउने महत्वपूर्ण दिन हो, आज । कामदार र कर्मचारीले पेसा वा व्यवसायमा देखिएका असजिला पक्षको निराकरणका लागि गरेको प्रयास सफल हुनसक्छ । छात्रछात्रा छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय हुनेछन। प्रणयसुखका लागि अनुकूल समय छ, प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने समय छ ।
आज तपाईका लागि शुभरङ्ग हलुका रातो, शुभअङ्क ७, शुभदिशा पश्चिम, आज कार्य सफलतका लागि ॐ कामदेवाय नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –आज सामाजिक र परोपकारका मार्गमा सक्रिय भइने छ । खर्चको मात्रा बढ्न सक्छ । व्यापारमा ठिकै छ । काम गर्दा आर्थिक, सामाजिक, विभिन्न उपलब्धीहरू हासिल हुनेछन । साँझ पख मानसिक तनाव बढ्न सक्नेछ। स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, मौसमी रोगव्याधिको सम्भावना देखिन्छ। सचेत रहनु होला आज तपाईका लागि शुभरङ्ग सेतो, शुभअङ्क ६, शुभदिशा दक्षिण। आज कार्य सफलताका लागि ॐ धन्वन्तरीदेवाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।