संघीय संरचनामा मिस मंगोल, एकै साथ १० जना युवतीलाई ताज

काठमाडौं । एक्सन इन्टरटेनमेन्टले सन् २००९ देखि आयोजना गर्दै आएको मिस मंगोल नेपाल यस वर्ष अर्थात् सन् २०१९ देखि नेपालको संघीय संरचना अनुसार आयोजना हुने भएको छ । मौलिक संस्कृति र प्रतिभा प्रदर्शनलाई आधार बनाएर सन् दशकौं देखि वार्षिक रुपमा आयोजना हुँदै आएको यस प्रतियोगिताले एक दशकको अनुभव पछि नयाँ प्रणाली अँगालेको हो ।

नयाँ संरचनाअनुसार प्रतियोगितामा मिस मंगोल प्रदेश एक, मिस मंगोल प्रदेश २, मिस मंगोल प्रदेश ३, मिस मंगोल गण्डकी, मिस मंगोल प्रदेश ५, मिस मंगोल प्रदेश ६ र मिस मंगोल सुदूरपश्चिम गरी सातवटै प्रदेशका उत्कृष्ट एकएकजना प्रतियोगीले ताज पाउने छन् । सात प्रदेशसहित मिस मंगोल नेपाल विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअप गरी यस संस्करणदेखि १० जनाले ताज पाउनेछन् ।

प्रदेशका विजेतालाई सबटाइटल मानिएकाले प्रदेश टाइटल विजेताले मिस मंगोल नेपाल, फस्ट रनरअप वा सेकेन्ड रनरअपको उपाधि पनि पाउन सक्नेछन् । नयाँ पुस्ताको वृत्तिविकास, व्यक्तित्वविकास, नेतृत्वदायी भूमिका, मौलिककला एवं संस्कृतिप्रति जागरुक, समाजप्रति उत्तरदायी बनाउन प्रतियोगिताको नयाँ संरचना सार्थक र प्रभावकारी हुने आयोजकको भनाइ छ ।

घटीमा एसईई पास, ५ फिट उचाइ, १६ देखि २६ वर्ष उमेर, आदिवासी समुदायका अविवाहित युवतीले यस प्रतियोगितामा भाग लिन सक्नेछन् । विभिन्न प्रतियोगितामा सहभागी भई शीर्ष उपाधि जितेका युवतीले अडिसनबिनै सहभागी हुन पाउनेछन् । प्रतियोगिताका विजेताले विभिन्न जिम्मेवारीसहित एक लाख रुपैयाँ पुरस्कार, चाँदीको ताज, प्याकेज टुर, सपिङ भौचर, विभिन्न उत्पादन तथा कम्पनीको ब्रान्ड एम्बेसडर बन्ने मौका पनि पाउनेछ ।

प्रतियोगिताको यो ११औं संस्करण हो । यसअघि संखुवासभाकी जाङमु शेर्पा, सिन्धुपाल्चोककी अनिता लामा, पोखराकी प्रीति गुरुङ, रोल्पाकी डा. नीमा पुन, ललितपुरकी डा. एनिस्ता गुरुङ, ललितपुरकै मुस्कान लिम्बु, बागलुङकी सपना रोका, काठमाडौंकी सुम्निमा देवान, ललितपुरकी वर्षारानी गुरुङ र काठमाडौंकी सृष्टि राजकर्णिकारले शीर्ष उपाधि जितेका छन् ।