भ्रमण बर्ष सफल पार्न शिकागोमा दश हजार पर्चा बाड्ने

शिकागो, नेपाल सरकारले आगामी बर्ष मनाउन लागेको भ्रमण बर्ष २०२० लाई सफल पार्न अमेरिकाको शिकागो शहरमा दश हजार पर्चा बाडिने भएको छ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको उपस्थितीमा अमेरिकामा रहेका नेपालीहरुको पुरानो संस्था एन्माले शिकागोमा एक कार्यक्रमको आयोजना गरि शो कार्यक्रमको घोषणा गरेको हो ।

एन्माका उपाध्यक्ष तथा पर्यटन प्रवद्धन कार्यक्रमका संयोजक तिलक केसीले आफुहरुले शिकागोमा रहेका स्थानिय संस्थाहरुसंगको सहकार्यमा दश हजार नेपाल चिनाउने पर्चा बाड्ने योजना राखेको बताएका हुन् । एन्माका निर्वतमान अध्यक्ष तथा शिकागोका अगुवा ब्यवसायी बाला घिमीरेका अनुसार एन्माले शिकागोका ब्यस्त स्थलहरुमा पुगेर पर्चा बाड्नुका साथै बिभिन्न ब्यवसायहरुमा पनि नेपाल चिनाउने र पर्यटन बर्षलाई सहयोग हुने खालका पोस्टरहरु राख्ने कार्यक्रम लिएको बताए ।

अमेरिकाको लागि नेपाली राजदुत अर्जुन कार्की तथा अमेरिकन समुदायको समेत बाक्लो उपस्थितीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नेपाल भ्रमण बर्ष सफल बनाउन अमेरिकामा रहेका सबै नेपालीहरुलाई सकृय भएर लाग्न आग्रह गर्नुभएको थियो ।

मन्त्री ज्ञवालीका अनुसार नेपालले बिदेशमा रहेका सबै नेपालीको साथ खोजेको बताउदै सबैले आ आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा उपस्थीत भएका गैर नेपालीहरुले नेपालका बारेमा रहेका भ्रम र पर्यटकले पाउने सुबिधाका बारेमा परराष्ट्र मन्त्री ज्ञवालीसंग प्रश्न उत्तर गरेका थिए ।