अमेरिकामा नेपालीहरुले यसरी मनाए लक्ष्मी पूजा (तस्वीरसहित)

विजय थापा ।
अमेरिकाका विभिन्न राज्य तथा शहरहरुमा बसोबास गर्ने नेपाली समुदायहरुले सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिको साथ लक्ष्मीपूजा मनाएका छन् । एकै दिन कुकुर तिहार पनि परेकोले बिहान कुकुर पूजा र साँझमा लक्ष्मी पूजा गरेका छन् ।

लक्ष्मी पूजाको लागि अमेरिकामा नेपालको जस्तै सबै कुराहरु किन्न पाइने हुनाले नेपालको जस्तै गरि लक्ष्मी पूजा मनाएका छन् । साथै अमेरिकामा छुट्टीको दिन पारेर र अग्रिम रुपमा सूचना दिएर देउसी भैलो खेल्नु पर्ने हुनाले अमेरिकाका विभिन्न राज्य तथा शहरहरुमा भैलो र देउसी खेल्ने क्रम जारी छ ।

बिशेष गरि अमेरिकामा जन्मेका र सानोमा अमेरिका आएका बालबालिकालाई अझ यसको महत्व जानुन भनि देउसी र भैलोमा समेत संलग्न गराईएको पाइएको छ ।

विभिन्न राज्य तथा शहरमा आफ्नो घर आगन बाट नै रंगोली बनाएका बनाई लक्ष्मी पूजा गरेका छन् । २०७६ साल अर्थात् २०१९ को लक्ष्मी पूजा छुट्टीको दिन आइतबार परेकोले नेपाली समुदायलाई अझ सहज भएको छ ।

अमेरिका भएका नेपालीले पनि आफ्नो पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, चामल, फलफूल, बिभिन्न परिकारका मिठाई ,सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरेका छन् ।