नेपाल भ्रमण बर्ष २०२०: सफलताका संभावना प्रचुर, तयारी कति?

सुशिल चालिसे

नेपाल जातजाती, भाषा, भेषभुषा, खानपान, साँस्कृतिक, भौगोलिक, कीरा, चराचुरुङी, बनस्पति, हावापानी, लोकबाजा, लोक भाका आदिको बिबिधताले अत्यन्तै धनी छ र तदनुरुप नै प्राकृतिक, सांस्कृतिक लगायत बिभिन्न कुराले अत्यन्तै धनी पनि । यी सबै पर्यटन बिकासका दृष्‍टिकोणले अत्यन्तै महत्वपूर्ण आधारहरु हुन । पर्यटन बिकासका दृष्‍टिकोणले आबस्यकीय आधारका प्राचुर्यताका बाबजूद पर्यटन उद्योगबाट देशले लिन सक्ने जती फायदा भने लिन सकिराखेको देखिन्न । नेपाल भ्रमण बर्ष २०२० नजिकिंदै गर्दा लक्ष अनुरुप पर्यटक भित्र्याउने काममा देश सफल हुने कुरामा पनि बिस्वस्त हुने आधार पनि अझै तयार भैसकेको देखिन्न । संख्याभन्दा पनि अझ महत्वपूर्ण कुरा उनीहरुको बसाइ अबधि लम्ब्याउनु पर्ने कुरामा त झन  ध्यान गएकै देखिन्न । यस सन्दर्भमा संभावित बिकल्पहरुलाई बेलैमा सोचिनु र तदनुरुपका ठोस कार्य योजना बनाइनुपर्ने देखिन्छ ।

अस्तित्वमा आएदेखि नै स्वाधिन रहेका कारण विस्वमा स्वतन्त्रता दिवस नै मनाउन नपर्ने एक मात्र देश नेपाल हो । सारा नेपालीलाई यस्ले गौरव महसूस गराउछ । बहुजातीय, बहुसास्कृतिक, बहुधार्मिक, बहुभाषीहरुको देश भएकोले अनेकतामा एकता नेपालको विशेषता हो ।

नेपाल १,४७,१८१ बर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको एउटा सानो मुलुक भए पनि उच्च हिमाली भूभाग हुदै हरिया पहाड अनि तराईका समतल उर्बर भूमिमा फैलिएको कारण भौगोलिक बिबिधता पनि यस्को बिशेषता हो । विस्वका दश अग्ला हिमालहरुमध्ये ८ वटा नेपालमा छन जसमध्ये उचाइ ८,८४८ मिटर रहेको बिश्वको सर्बोच्च शिखर सगरमाथा पनि पर्दछ ।

तराईमा अबस्थित लुम्बिनी विस्व शान्तिका प्रतिक बुद्धको जन्मस्थलका कारण संसारभर चर्चित र प्रख्यात छ जुन हाम्रो पर्यटनको एउटा बलियो आधार पनि हो ।

जलश्रोतमा विस्वकै दोश्रो धनि, गहिराइ १२०० मिटर भएको संसारकै गहिरो काली गण्डकी घाटी, ४९१९ मिटरमा रहेको संसारकै उच्च स्थानमा रहेको तिलिचो ताल, हिमाल; पहाड र तराइको सम्मिश्रण, कीरा; चराचुरुङी, बनस्पतिमा भएको बिबिधता आदिले गर्दा नेपाललाई प्राकृतिक रुपमा अति नै भाग्यमानि र धनि देशको रुपमा लिइन्छ ।

नेपाल चार वर्ण छत्तिस जातको साझा फूलबारी हो र यहाँका बिभिन्न जातजाति, भाषा, सस्कृति एउटै माला सरि उनिएर जसरी मिलेर बसेका छन यो सबैको लागि उदाहरणीय हो ।

पर्यटकिय दृस्टिकोणबाट नेपाल पशुपतिनाथ, गौतम बुद्धको जन्मथलो लुम्बिनी, जिउँदो देवी कुमारी जस्ता धेरै सांस्कृतिक प्रचलनले प्रख्यात रहेको छ । नेपाललाई मन्दिरै मन्दिरको देश भनेर पनि चिनिने गरिन्छ । नेपालमा १२३ भन्दा बढी भाषा छन । बिभिन्न धर्मालम्बीहरुले मान्दै आएका चाडपर्व दशैँ, तिहार, बौद्ध पुर्णिमा, महाशिवरात्रि, क्रिसमस, इद, छठ, उधौली आदि रहेका छन् जसमा पाहुनाको रुपमा एक अर्कालाई आमन्त्रण गर्ने उत्कृस्ट चलन रहेको छ ।

नेपालमा बिभिन्न कालखण्डहरुमा आफ्नो छुट्टै विशेषता र पहिचान रहेको कला, सस्कृति, पुरातत्व, चित्रकला, सम्पदाको बिकास हुदै आएको छ । गोपाल बंश, किरात, मल्लकाल हुदै आजको आधुनिककालसम्म आइपुग्दा युनेस्कोको बिश्व सम्पदा सूचिमा धार्मिक, पुरातात्विक, प्राकृतिक सम्पदा, कलाका दृष्टिकोणबाट अदभूत नमुनाको रुपमा रहेका दशवटा क्षेत्रहरु पशुपतिनाथ मन्दिर, स्वयम्भुनाथ मन्दिर, बौद्धनाथ स्तुपा, चाँगुनारायण मन्दिर, लुम्बिनी, काठमाडौँ दरबार स्क्यावर, भक्तपुर दरबार स्क्यावर, पाटन दरबार स्क्यावर, चितवन रास्ट्रिय निकुञ्ज तथा सगरमाथा राष्ट्रिय निकुञ्ज  समेटेको छ जसले नेपाललाई संसारभर चिनाउनुका साथै पर्यटन क्षेत्रमा उत्तिकै टेवा पुर्याएको छ । वास्तुकला तथा पुरातत्व क्षेत्रको अध्ययन अध्यापनको लागि मात्रै पनि १२६२ वटा महत्वपूर्ण क्षेत्रहरु छन् ।

नेपालमा बिभिन्न जातजाति भाषाभाषीका आ-आफ्नै किसिमका खानाको परिकार छन । दाल भात तरकारी, मोमो, चटामरी, ढिंडो, आलुतामा, अचार, सेकुवा आदि खानाहरु अतिनै लोकप्रिय र देख्दै मुखै रसाउने छन् । यस लगायत सुख्खा सागपात जस्तै गुन्द्रुक, सिन्की जस्ता परिकार नेपालीहरुका मुखमै एउटा छुटै स्वादले झुण्डिएका छन् ।

नेपालमा बिभिन्न जातजाति, सम्प्रदायका आ-आफ्नै पोशाक रहेका छन् । राष्ट्रिय पोशाकका रुपमा पुरुषहरुले पहिरिने दौरा सुरुवाल कोट, महिलाहरुका लागि सारी चोलो तापनि बिभिन्न जातका आफ्नै पोशकहरु जस्तै हाकु पटासी, ढाका, छुबास, टोंगकोक, कछाड, लुंगी, पटुका आदि छन् जसले आ-आफ्नो संस्कृति, परम्पराको प्रतिनिधित्व गरेको छ ।

नेपालको गीत, संगीत, कलाका आफ्नै मौलिकता छ । मुख्यतया लोक, आधुनिक, शास्त्रीय, जातीय गित संगीत नेपाली मौलिक संगीत रहेका छन् । त्यसैगरी भजन, गजल, फिल्मी संगीत, पश्चिमी संगीत, पप, हिपहप, रक जस्ता आयातित गित संगीतको पनि समयक्रमसंगै बिकास हुदै गैरहेको छ । नेपाली गित संगीत संसारभर चर्चित रहेका छन्  जस्तै सिमसिमे पानीमा, पानको पात जस्ता गितहरु सुन्ने धेरै बिदेशी पाहुनाहरु कम्मर मर्काइ मर्काइ नाचेका हामीले देख्न पाउँछौ । बिबिसी वर्ल्डले गरेको सर्वेक्षणमा चर्चित गायक अरुण थापा मगरले गाएका नेपाली आधुनिक गीत ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ’  टप टेनमा सातौ स्थानअमा पर्न सफल भएको थियो । नेपालको आफ्नै मौलिक गीत संगीतको साथमा आफ्नै सांगितिक  बाध्यबाधनका साधनहरु जस्तै मादल, दमाहा, ढोलक, बासुरी, सारंगी, झ्याली, डम्फु, डमरु, तबला, धिमाहा आदि छन् ।

नेपालमा विस्व पर्यटकहरुलाई आकर्षित गर्ने क्षमता राख्ने एभेरेस्ट बेस क्याम्प ट्रेक, अन्नपुर्ण सर्कीउट ट्रेक, अन्नपुर्ण बेस क्याम्प ट्रेक, पूनहिल ट्रेक, लांगटांग ट्रेक, मनासलु ट्रेक, गोक्यो ताल ट्रेक, उपल्लो मुस्तांग ट्रेक, उपल्लो डोल्पा ट्रेक, कन्चनजँगा ट्रेक र मकालु ट्रेक जस्ता थुप्रै आकर्षक ट्रेकिङ्ग रुटहरु छन । राफटिंग अर्को एउटा बलियो आधार बनेको छ नेपालमा पर्यटन बिकासका लागि । नेपालका थुप्रै नदि नालाहरुमध्ये कर्णाली, तमुर, सुनकोशी, कालिगण्डकी, भोटेकोशी नदिहरु राफटिंगका लागि संसारभर निकै नै चर्चित छन ।

नेपालमा अनेकन प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँहरु छन् – काठमाडौँ, ललितपुर, किर्तिपुर, धरान, इलाम, नगरकोट, लुम्बिनी, जनकपुरधाम, देवघाट, तातोपानी, घान्द्रुक, पांच पोखरी, गोसाईकुण्ड, रारा ताल, खप्तड, चितवन, पोखरा आदि । यीमध्ये पोखरा, छपखर्क, कोटडांडा, गोदावरी, फुलचोकी जस्ता रमणीय क्षेत्रमा पाराग्लाईडिंगको व्यवस्था छ जहाँ बिदेशी तथा स्वदेशी पर्यटकको सधै उतिकै भिड लाग्ने गरेको छ । पर्यटकीय दृस्टिकोणवाट अर्को एउटा महत्वपूर्ण आकर्षणको रुपमा बन्जीजम्प जुन नेपालको भोटेकोशी नदीको एकसय साठी मीटरको उचाइमा निर्माण गरिएको सस्पेंन्सन ब्रिजमा अबस्थित छ जसबाट हजारौ बिदेशी पर्यटकहरु आउने गरेका छन् । यो संसारकै तेश्रो ठुलो रहेको छ । निकट भबिस्यमा नै संसारको दोश्रो ठुलो उचाइको बन्जीजम्प कालिगण्डकी नदिमाथि पर्बतको कुश्मामा बनिरहेको छ जसले अझ नेपालको पर्यटन ब्यबसायलाइ थप टेवा पुग्ने छ ।

यसरी पर्यटन बिकासका लागि आबस्यकीय कुराहरुको प्राचुर्यता हुँदाहुँदै पनि र नेपाल भ्रमण बर्ष २०२० संघारमा नै आइसक्ता पनि लक्षित उद्धेस्य प्राप्तीका लागि आबस्यक गृहकार्य भएको महसूस गर्ने आधार देखिन्न । यस्मा सम्बन्धित मन्त्रीको दुर्घटनामा परी भएको मृत्‍यु पनि केही हदसम्म जिम्मेवार हुने कुरालाई पूर्ण रुपमा बेवास्ता गर्न सकिन्न । हाल धेरैद्धारा आश गरिएका युवा आउनु भएको छ सम्बन्धित मन्त्रालय सम्भाल्न मन्त्रीका रुपमा योगेश भट्टराई । आशा गरौं गर्न बाँकी कामहरुलाई ब्यबस्थित र योजनाबद्ध रुपमा नेपाल भ्रमण बर्ष २०२० लाई प्रभाबकारी र सफल तुल्याउन महत्वक्पूर्ण भूमिका निर्बाह गर्नुहुनेछ । यस्का लागि हार्दिक शुभेच्छा!!!

मेलबर्न