परदेशी श्रीमानको श्रीमतीलाई चिठ्ठी

प्रीया अर्धाङ्गिनी
शुभ आशिर्वाद !

यतिबेला उठेर चिया पिउँदै छौ होला । टुँडिखेलमा तोप पड्केको सुनेर छोरी तर्सिएर ब्युँझिसकिन होला । उनलाई मेरो तर्फबाट एइटा राम्रो नेपालको चित्र र नेपालको चन्द्र सूर्य अंकित रातो झण्डा पनि देउ । अनि तिम्रो नेपाली नागरिकता देखाएर हामी स्वतन्त्र नेपाली भएको पहिचान गराइदेउ ।
यो पनि सम्झाइदेउ कि हजारौं शहिदको रगत खर्चेर यो प्रजातन्त्र प्राप्त गरेका हौ तर गतिहीन राजनीतिकका कारण आज जनता र देश एकातिर छ ।नेताको नेति अर्को तर्फ घुमिरहेको छ भनेर भनिदेउ किनभने उसको बाजे बराजुले कल्पना पनि नगरेको परदेशमा गएर उनको जीवन हुर्कदैछ भन्ने कुरा आज त्यो मेरी छोरी र मेरो देशको प्रजातन्त्रले गम्भीरता पूर्वक बुझ्नु नै पर्नेछ ।

हुन त तिम्रो र मेरो पालाको जस्तो दुई तीन घण्टाको बाटो हिडेर छोरीलाई स्कुल पठाउनु परेको त छैन । सुन्दर भवन चिटिक्क सुकिला परेका शिक्षक शिक्षिकाले तिम्री छोरी पढाएको देख्दा तिमी पनि खुब प्रजातान्त्रिक अनुरुपको शिक्षा आफ्नी छोरीलाइ पढाउन पाएँ भनेर मख्ख छौ होला । म भने यहाँ अति चिन्तित छु किन कि – आज सम्पूर्ण शिक्षा नीति नै ब्यबहारिक भन्दा व्यावसायिक बनेका छन नपत्याए हेर त छोरीको झोला उसको उमेर र उचाइ भन्दा निकै बढी छ । मासिक बिल त्यो भन्दा नि गह्रौ उफ …. ! तिमी त छोरी स्कुलमा पठाउँछौ उसले ए प्लस लाई हेरेर दंग पर्छौ ।तर त्यसको भोलिको जिन्दगी कस्तो हुनेछ कहिल्यै मसंग छलफल गर्दिनौ यार ?

हुनसक्छ तिमीलाई छोरी डाक्टर इन्जिनियर र पाइलट बनेको हेर्न तीव्र इच्छा त होला ।मलाइ तिमी जस्ता अभिभावकको त्यो इच्छालाई पनि सम्मान गर्न मन छ ।तर उमेर बैँस र रहर छौनजेल बाउले कमाएको त्यो पढाइमा खर्चिनु पर्ने अनि पढाइ सकेको भोलिपल्ट फेरि छोरी बेरोजगार भै भनेर बिदेशको भिसा लगाउन हिड्नु पर्दा अति नमज्जा लाग्दछ । अनि कसका लागि आयो प्रजातन्त्र ? रुदै एयरपोर्टमा ग्वाम्म अंगालो हालेर जवान छोरी बिदाइ गर्नुपर्दा तिमी मात्रै हैन नेपाल आमा पनि सँगै रुनथाल्नेछिन ।

आज प्रजातन्त्र आएको खुशीयाली दिनमा मेरो बुढाले किन गनगन गरेर दिक्क मानेको होला भनौली ।म पनि यो बिदेशमा चिसो हिउँमाथी करक करक जुत्ता बजाएर हिँड्दै एउटा सानो कोठामा किन कुज्जिरहेको छु ।मेरै छोरी र परिवारको आर्थिक उन्नतिको लागि हैन र ?दुख नमान म जे छु ठिकै छु ।मैले आफ्नै देशमा रोजगार बन्न नसकेरै यहाँ आएको छु केवल तिमीहरुकै खुशी लिन आएको हुँ।
बरु झुटो बोल्न ,कुरा काट्न नक्कल गर्न ,सुताहा ,अल्छी अहंकारी ,दुर्ब्यसनी र भ्रस्टाचारी बाउको जस्तो खर्चालु नबनोस्। तिमीले पनि छोरीलाई नम्र स्वर व्यबहार सिकाउ ।आमा बुबाको आशिर्वाद लिन सिकाउ ।आफुले पूजा गरेको थालीबाट पहिला उसलाई टीका प्रसाद दिएर प्रणाम गर्न सिकाउ है।

अन्तिममा तिमीले भुल्नै नहुने कुरा भनेको उनीलाइ साँझ खाना खाइसकेपछी दिनभरको उनको चर्या लेख्न लगाएर पढेर सुनाउ भनेर त्यो सुनिदिएर मात्रै सुत है । यहि हो मेरो यो वर्षको प्रजातन्त्र !!!
आज पाइलट इन्जिनियर र डाक्टर भन्दा कृषिप्रधान शिक्षामा जोड देउ ।संस्कारी र सुसंस्कृत शिक्षामा जोड दिलाउ सरकार । असल शिक्षा नै देश र जनताको मुटु र फोक्सो हो भनेर बुझाइदेउ मेरो घर परिवार समाज र देशलाइ बल्ल देशमा सफल राजनीतिको फलिफाप हुनेछ ।
जय प्रजातन्त्र दिवस !
उहीँ पिता र पति
……………..।