२५० भन्दा बढी चेलीबेटी बेच्ने वडाध्यक्षलाई ३७ वर्ष ६ महिनाको कठोर कैद सजाय

Spread the love

वडाध्यक्षलाई अदालतले ३७ वर्ष कैद र जरिवाना फैसला गरेको छ। नुवाकोट कांग्रेसका नेता तथा दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई नुवाकोट जिल्ला अदालतले मानव बेचविखनको मुद्दामा ३७ वर्ष ६ महिना कैद र दुई लाख ५० हजार जरिवानाको फैसला गरेको हो।

तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत पुस ७ गते गाउँबाटै पक्राउ गरी हिरासतमा राखेको छ। उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी विभिन्न मुद्दा दायर भएको छ। जिल्ला न्यायाधीश लोकजंग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीन जनालाई कैदका साथै जरिवाना गर्ने फैसला सुनाएको हो।


फाइल फोटो

तामाङसहित स्थानीय सुकमान लामालाई ३२ वर्ष तीन महिना २३ दिन तथा टीकाराम तामाङलाई ३० वर्ष कैदका साथै जनही दुई लाख ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको नुवाकोट अदालतका श्रेस्तेदार महिमानसिंह विष्टले जानकारी दिए। एउटै मुद्दाका आरोपी अवतार तामाङ, पासाङ तामाङ र राधा तामाङको मुद्दा भने विचाराधिन छ। मानव वेचविखन मुद्दामा जिल्ला अदालतबाट ठूलो कैद सजाय फैसला भएको यो पहिलो हो। मानव बेचबिखनजस्तो गम्भीर प्रकृतिको मुद्दा खेपिरहेका तामाङलाई गत चैत्रमा कांग्रेसका केन्द्रीय नेताको सेटिङमा धरौटीमा छुटाइएको थियो।

घ्याङ्फेदीबाट हराएका सयौं स्थानीयसँग वडाध्यक्ष सुनबहादुर तामाङको नाम जोडिएको छ। सुनबहादुरविरूद्ध ११ जनाले प्रहरीमा जाहेरी दिएका छन्, सुनबहादुरका छोरा पनि यही मुद्दामा कारागारमा छन्। स्थानीयका अनुसार उनका दुई श्रीमतीसमेत भारतमै छन्।

गत पुष ७ गते पक्राउ गर्दा प्रहरीले दिएको जानकारी अनुसार तामाङले भारतको नयाँदिल्लीस्थित जेबी रोडको गल्ली नम्बर ६४, पुनास्थित सोना गार्छे–१५, कोलकाता र मुम्बई गरी चार ठाउँमा कोठी सञ्चालन गरिरहेका छन् । उनको जेबीरोडस्थित कोठीमा ३५ जना, सोना गार्छेमा २७, कोलकातामा १५ र मुम्बईस्थित कोठीमा आठजना युवती छन् । पीडितको बयानअनुसार सबै कोठी उनकी श्रीमती राधा तामाङले सञ्चालन गर्दै आएकी छिन् ।

‘मेरी भाउजूलाई सुनबहादुरले १२ वर्षको उमेरमा दिल्ली लगेछन् । त्यहाँ उनकी श्रीमती राधाले कोठी चलाउँदी रहिछन् । भाउजूलाई वेश्यावृत्तिमा लगाएछन् । सात वर्षसम्म उहाँले त्यहीँ काम गर्नुभएछ । पछि मेरो दाइले त्यहाँबाट उद्धार गरेर गाउँ ल्याएर बिहे गर्नुभयो,’ स्थानीय विष्णु तामाङले भने ।

विष्णुका अनुसार सुनबहादुरले भारतको विभिन्न सहरका कोठीमा २५० भन्दा धेरै नेपाली युवती लगेर बेचेका छन् । त्यसमध्ये १५० जना नुवाकोटकै रहेको उनले बताए । ‘उनको पेसा नै चेलिबेटी बेच्ने हो । यस क्रममा उनले २५० भन्दा धेरै नेपाली युवती भारतमा लगेर बेचेका छन्,’ विष्णुले भने । (पानाखबर)