बलात्कारीलाई फाँसी कुरिरहेका एक बुबा

– प्रतिमा सिलवाल–

ललितपुर । विस्मातले भरिएका एक जोडी आँखा । कतै पर दृष्टि गोचर गरिरहेका छन् । कसैका मोहडातर्फ मोडिदैनन् । फगत पर कतै लगातार हेरिरहन्छन् । त्यो दृष्टिले खोजिरहेको छ मात्रै ८ वर्षे छोरीको अस्तित्व । म पढ्छु– त्यो आँखाले थप खोजिरहेछ घरमा रहेका दशदेखि अढाई वर्षसम्मका पाँच छोरीको सुरक्षा ।

हो, एउटा छोरीको बाबु राजधानीको एउटा अस्पतालको बेडमा छट्पटाइ रहेकी बलात्कृत ८ वर्षे छोरीको अस्तित्व खोजिरहेको छ । अब त्यो छोरीको अस्तित्व यो समाजले सहज स्वीकारदैन ।
बिना अपराध उ समाजबाटै परित्यक्त हुन्छे । ती अबोधले बाबा आमाको न्यानो काखमा चुलबुले बालापन बिताउने अधिकार गुमाउँछे । सायद उ काठमाडौंको कुनै आश्रय गृहमा अन्य बलात्कृत जस्तै …… जीवन गुजार्छे ।

उ हत्तपत्त बोल्दैन । न त मुहारको भावभंगीमा विष्मय बाहेक केही छ । उनको मुखाकृति पढेर म फेरि अनुमान लगाउन खोज्छु ‘उ खोजिरहेछ छोरीको सिंगो चुलबुले पना ।’
शल्यक्रिया पछि लठ्ठिएकी छे ८ वर्षे बालिका । पाठेघरसम्म पुग्ने पाँच पत्र बलात्कारका कारण च्यातिएको छ । डाक्टरले आइतबार शल्यक्रिया गरिदिएर ‘केही वर्षसम्ममा’ च्यातिएका घाउहरू पुरिन सक्ने घोषणा गरिदिएको छ ।

हातमा सलाइन चढाइएको छ । मुहारमा चुरोटका ठूटा र चिथोरेर परेका घाउमा बिस्तारै खाटा बस्न थालेको छ । तर, उसको अबोध बालापनमा लगाइएको अकल्पनीय घाउ जवानीमा पुगेपछि मेटिएला !

आज यो कल्पना बालिका गर्न सक्दिन । मात्रै सक्छे रुन, चिच्याउन र बाबुसँग घुक्र्याउन । तर, छोरीको जीवनमा लगाइएको धब्बा बाबुले महसुस गरिरहेको छ । थप उसले खोजेको छ, आफ्ना परिवारका बाँकी ६ छोरीको जीवन रक्षा ।

पर्सा जिल्लाकी एक ८ वर्षीया बालिकाको अबोधपनको फाइदा अपराध कर्म गर्नेले उठाए । फाइदा उठाए के भन्नु ! कालो कर्तुत गरेर एउटी बालिकाको बालापन लुटे । स्वतन्त्रता लुटे, चुलुबुले पना लुटे । सिंगोमा जीवनै लुटे ।

पर कतै हेर्दाहेर्दै तिनको बाबुले मधेशी लबजमा घटना कहे – सुरज डुबिसकेको थियो । खेलीरहेकी छोरीलाई सुनिल साहले माछा दिन्छु भनेर पोखरीतिर बोलाएछ । छोरी गइछ ।
त्यसपछि के के भयो उ थप बोलेन । बोल्न जरुरी पनि ठानिन मैले । मात्रै सोधें ‘छोरी चाँही कसरी भेट्टाउनुभयो त ?’

थपे – ‘म बजार (हाट) गएको थिएँ । सुरज डुब्दा घर फर्किएँ, छोरी घरमा थिईन । घर वरपर खोजें भेटिन । कसैले बजार गएकी छ भने । फर्केर बजार गएँ । भेटिन । घर फर्किएँ । फेरि खोज्दा भेटिई खुनको आहालमा डुबेर घर पछाडि डरले लुकीरहेकी छोरी ।’
उसको क्षतविक्षत शरीर देखेर बलात्कार भएको अनुमान लगाउनै परेन । सामूहिक बलात्कार भएको पनि अवस्था ले नै बताउँथ्यो ।

बिना अपराध उ समाजबाटै परित्यक्त हुन्छे । ती अबोधले बाबा आमाको न्यानो काखमा चुलबुले बालापन बिताउने अधिकार गुमाउँछे । सायद उ काठमाडौंको कुनै आश्रय गृहमा अन्य बलात्कृत जस्तै …… जीवन गुजार्छे ।

घटना थियो १६ फागुनको । बालिकाको उद्दारमा संलग्न अधिकारकर्मी साबित्री सुवेदीका अनुसार सुरुमा बालिकाले ३ जनाले बलात्कार गरेको बताएकी थिईन् । सुनिल साह, मनोज सहनी र शनि भनिएका व्यक्तिले बलात्कार गरेका बताएकी थिईन् ।

घटनाको भोलिपल्ट बाबुले तिनै जनाको नाममा किटानी जाहेरी दिए पनि प्रहरीले उक्त जाहेरी दर्ता गरेन । १७ फागुनमा पक्राउ परेका मनोजलाई छाडिदियो । अहिले प्रहरी हिरासतमा पोखरिया नगरपालिका वडा नम्बर ४ घर भएका सुनिल साह छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी राजन लिम्बु मनोज घटनामा संलग्न भएको नखुलेको कारण उसलाई छाडिदिएको बताउँछन् । प्रहरीले पक्राउ परेका साहलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

काठमाडौंको अस्पतालमा बसिरहेका बाबुतर्फ नै मोडिउँ । उनलाई देखेर टिठ नलाग्ने कोही हुँदैन । उनलाई थप चिन्ता पनि छ, श्रीमतीले यसै हप्ताभित्र सातौं सन्तान जन्माउँदै छिन् । उनी भने गर्भिणी श्रीमती छाडेर यतिबेला बलात्कृत छोरीको स्याहार सम्भारमा तल्लिन् छन् ।
छोराको आशामा लगातार ६ वटी छोरी जन्माएका उनलाई यसपाला आशा छ – छोरा नै हुन्छ ।

‘डाक्टरले छोरा नै छ भनेको छ ।’ यसो भनिरहँदा चैं उनी फिस्स हाँसे, थपे– डाक्टरले फागुनको एक साता बाँकी हुँदा जन्मिन्छ भनेको छ ।

पर्साबाट सीमापार रक्सौल पुगेर ६ हजार रुपैयाँमा भ्रुण पहिचान गरेर छोरा जन्मिने ढुक्कमा बसेका छन् उनी ।

एउटी छोरीको जीवन कोपिलामा नै चुँडाइदिने समाज अघि छोरा जन्माएर ‘तिमीहरूले यसको अस्मिता सजिलै लुट्न सक्दैनौ’ भन्न मन हुँदो हो सायद उनलाई ।

श्रीमतीको अवस्था थाहा पाएर केही सहयोग गर्र्न आएका अधिकारकर्मी समक्ष उनले हात जोडेर भन्दै थिए– मलाई पैसा हैन, अपराधीलाई फाँसी देउ ।
(महिलाखबर बाट साभार)