काब्य प्रवाहमा नाफाको जिन्दगी पुस्तकमाथि चर्चा

देवकी तिमल्सिना
काठमाडौ÷आधारशिला–अक्सफोर्ड कलेज खुशिबुँको ८औ काब्य प्रवाहमा डा. दीपेन्द्र रोकायाद्धारा लिखित नाफाको जिन्दगी पुस्तकमाथि चर्चा परिचर्चा भएको छ । ५०औं जना कवि र कवियत्रीले आफ्ना रचना पाठ गरेको काब्य प्रवाहमा नाफाको जिन्दगी पुस्तक क्रान्ति साहित्यमा उत्कृष्ट रचना भएको अनुभव साँटासाँट गरियो ।
कृष्णसेन इच्छुक प्रतिष्ठानका अध्यक्ष इश्वरचन्द्र ज्ञवालीले क्रान्तिको दौडानमा देखिएका सत्यलाई सटिक र सकारात्मक रुपमा प्रस्तुत पुस्तकको नाम नाफाको जिन्दगी भएको बताउनु भयो । उक्त पुस्तक संस्मरण, अनुभूति र डायरी विधाको रुपमा लेखिएको बताउँदै उहाँले भन्नुभयो, ‘हुम्लाको एउटा सामान्य परिवारको दीपेन्द्र रोकाया तिब्बत, भारत र नेपालकै शहरमा कुल्ली, पत्रकार हुँदै नेतासम्म कसरी स्थापित भयो भन्ने कुरा यसभित्र उल्लेख भएको छ ।’
अध्यक्ष ज्ञवालीले आफु पनि वर्गसंघर्षको सहयात्री हुनाले लेखक डा. रोकायासँगै जनादेश साप्ताहिक र रेडियो जनगणतन्त्रमा काम गर्दा लेखकको ब्यवहार सरल, इमान्दार प्रवृति र क्रान्तिप्रति आशावाद भएको ब्यक्ति भएको बताउनु भयो । उहाँका अनुसार, क्रान्तिकारी भनेर मात्र हुँदैन, उनीहरुको वास्तविक रुप र छद्म रुप पढ्न यो पुस्तक पढ्नै पर्दछ ।

साहित्यकार कुन्ता शर्माले २०५२ देखि २०६२ सम्म देशलाई राज्यले यातना शिविर बनाएको चर्चा गर्दै त्यसबेलाका क्रान्तिकारीहरुको रचनाले देशको वास्तविकता उतार्ने जिम्मेवारी डा. दीपेन्द्र रोकायाले निर्वाह गरेको बताउनुभयो । जनयुद्धले देशमा परिवर्तन गर्ने आधार प्रस्तुत गरेपनि त्यो बीच बाटामै अल्मलिएकोमा दुःख ब्यक्त गर्दै उहाँले राजा फाल्नु मात्र ठुलो परिवर्तन नभएको टिप्पणी गर्नुभयो ।
साहित्यकार नारायण निराशीले युद्ध साहित्यमा लेखिएका धेरै किताव पढेको तर नाफाको जिन्दगीजस्तो सजिव र स्पष्ट चित्र दिने पुस्तक अरु नभएको दावी गर्नुभयो । ‘यो पढ्दै जाँदा आफु पनि त्यही यात्रामा उपस्थित भएजस्तो लाग्दछ’ उहाँले भन्नुभयो ।
साहित्यकारहरु धनवहादुर मगर, वैरागी जेठा, कौशिला रिसाल, देवकी तिमल्सिना लगायतले डा. दीपेन्द्र रोकायाको पुस्तक नाफाको जिन्दगीले दिने सन्देशको बारेमा आफ्ना धारणा राख्नु भयो भने डा. प्रदीप मैनाली, डा. शेषराज दिक्षित, प्रकाश बस्नेत गफाडी, पुस्कर लोहनी, कलानिधि दाहाल, राजवाबु श्रेष्ठ, निराजन तिमल्सिना लगायतले आफ्नो पढ्ने प्राथमिकतामा रहेको पुस्तक भनी चर्चा गर्नुभयो ।
सोही अवसरमा नाफाको जिन्दगीका लेखक डा. दीपेन्द्र रोकायाले वर्ग संघर्षमा हिड्दाको अनुभवलाई नाफाको जिन्दगी मार्फत् यातनालयको वयान, आधार इलाकाको यात्रा, जेलको मोर्चा, फेरि आधार इलाकातिर, छापामार लोकमार्ग, गाउँमा र समय फेरियो गरी सात अध्यायमा घटना विवरण उल्लेख गरेको बताउनुभयो ।
उक्त अवसरमा गंगा सागर पन्त, अञ्चल वान्तवा, दुर्लभ शाह, निर्मल पराजुली, सुन्दर खड्का, प्रकाश बस्नेत गफाडी, वासु ठकुरी, डा. प्रदीप मैनाली, विनोद खत्री, अजिता दाहाल, देवकी तिमल्सिना, नारायण निरासी, विनोद केसी, सुभाष श्रेष्ठ, राजबाबु श्रेष्ठ, धर्मानन्द भट्ट, दिक्षा भण्डारी, विमला दाहाल, चन्द्रकला आचार्य, धनबहादुर मगर, गोविन्द वि.क., पुस्कर लाछी, अच्युतराज उपाध्याय, विष्णुहरि देवकोटा, सरस्वती घिमिरे, निशान अधिकारी, कल्पना न्यापाने, जया शर्मा, कृष्ण अनुरागी, सुनिता श्रेष्ठ, भुवन सिजापति चौघरे, भगवती खनाल, उमा भण्डारी, डा. चुडा ढकाल, सरिता थापा मगर, प्रदीप घिमिरे, करम सिंह, संरक्षण रुपक, नारायणकाजी श्रेष्ठ, सुशिला ढकाल, निराजन तिमल्सिना, धनेप्रसाद खतिवडा, डा. शेषराज दिक्षित, कात्यायन, नानीमैया अधिकारी, पुस्कर लोहनी, कलानिधि दाहाल, कौशिला रिसाल, संगिता शाह, कुन्ता शर्मा र वैरागी जेठाले आफ्ना कविता, गीत, मुक्तक, हाइकु प्रस्तुत गर्नु भयो ।