ओलीले नै बोलाएर भारतीय विदेशमन्त्री नेपाल आएको खुलासा भएपछि…. स्वराजमाथि शंकाको नजर

भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं विमानस्थलमा उत्रिँदै गर्दा केपी ओलीनिवास बालकोटमा वाम गठबन्धनका नेताहरुको बैठक चलिरहेको थियो । पार्टी एकताबारे छलफल गर्न बसेको दुई दलको पार्टी एकता संयोजन समितिको बैठकमा स्वराज किन आइन् भन्नेसम्मको चर्चा भएको नेताहरुले बताएका छन् ।

सो बैठकलगत्तै एमाले नेताहरु सोल्टी होटल लागेका छन्, जहाँ एमालेले भारतीय विदेशमन्त्री स्वराजको सम्मानमा रात्रीभोज नै आयोजना गरेको छ ।

ओलीकै सहमतिमा स्वराजको नेपाल यात्रा

पार्टी एकता संयोजन समितिको बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले भने, ‘सुष्मा स्वराज छिमेकी देशको नेता हो, हाम्रो पाहुना हुनुहुन्छ । भ्रमणलाई दुई देशको सम्वन्ध सुधार गर्ने सकारात्मक कदमको रुपमा लिएका छौं ।’

हो, स्वराज एमालेकै पाहुना हुन् । किनभने एमालेका एक नेताका अनुसार भावी प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेरै स्वराज आएकी हुन् ।

होटल सोल्टीमा ओली र स्वराजबीच भेटवार्ता ।

चुनावपछि मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीसँग दुई पटक फोन सम्वाद गरेका थिए ।

विहीबार बालकोट बैठकमा ओलीले गरेको रिपोटिङ अनुसार ओलीले मोदीसँगको फोनमा भनेका रहेछन्- धेरै कुरा के गर्नु, तपाईको प्रतिनिधि पठाउनुस् ।

भारतले कर्मचारी पठाए स्वीकार्य नहुने ओलीले मोदीलाई प्रष्ट संकेत गरेका कारण मोदीले विशेष दूतका रुपमा विदेशमन्त्रीलाई पठाएको एक नेताले बताए । स्वराजलाई नेपाल पठाएपछि ओलीलाई प्रधानमन्त्रीका रुपमा स्वागत गर्न पनि सहज हुने भारतीय बुझाइ रहेको स्रोत बताउँछ ।

स्वराजमाथि शंकाको नजर

भावी प्रधानमन्त्रीसँग सहमति लिएर नेपाल आएपछि भारतीय विदेशमन्त्री स्वराजको प्राथमिकतामा ओली पर्ने नै भए । त्यसैले पहिलो भेट एमालेसँग छ ।

स्वराजको सम्मानमा एमालेले रात्रीभोज राखेको छ, जहाँ ओलीसँग सुवास नेम्वाङ, महासचिव ईश्वर पोखरेल, सचिव प्रदिप ज्ञवाली, राजन भट्टराई, विष्णु रिमालका साथै युवराज खतिवडा पनि हुनेछन् ।

वाम गठबन्धनका शीर्ष नेताहरुको बैठकमा स्वराज किन आइन् होला भन्ने चर्चा भएको नेताहरुले बताएका छन् । सुरुमा ईश्वर पोखरेलले सुष्माको भ्रमणबारे चासो राखेपछि ओलीले भारतीय प्रधानमन्त्रीसँगको कुराकानीपछि आफूले नै प्रतिनिधि पठाउनोस् भनेको जानकारी गराएका थिए ।

‘एउटा त वाम गठबन्धन र त्यसमा पनि ओलीलाई इन्गेज गर्ने हो । अर्को भनेको यो गठबन्धन, भोलिको सरकारलाई रोक्न सकिन्छ कि सकिँदैन बुझ्न पनि हो’ बैठकमा सहभागी एक नेताले भने, ‘यही कुराकानी आज पनि भएको छ ।’

उनको प्रष्ट संकेत थियो, वाम गठबन्धनले स्वराजको भ्रमणलाई शंकाको नजर नै हेरेको छ ।

यद्यपि शंकाकै बावजुद केपी ओलीकै सहमतिमा सुष्मा स्वराज काठमाडौं आएकाले नेकपा एमालेले औपचारिकरुपमै उनलाई सोल्टी होटलमा रात्रीभोज मार्फत सम्मान दिएको छ ।

अनलाइनखबरबाट