ठूलोबुबाले बन्दुक देखाएर जबर्जस्ती गर्दा गर्भ बसेपछि….

सिन्धुपाल्चोक – जुगल गाउँपालिका २ का सुकबहादुर तामाङको उमेर ७० वर्ष लागिसक्यो । पूर्ववडाध्यक्ष समेत रहेका उनीमाथि बुढेसकालमा बलात्कारको अभियोग लागेको छ ।

घटना २८ बैशाखको हो । गोल्चेको निगालेमा रहेको गोठमा सुतिरहेका वेला बन्दुक देखाउँदै धनकुमारी (नाम परिवर्तन) लाई शारीरिक सम्बन्धनको प्रस्ताव राखे । नाताले ठूलोबुबा पर्ने तामाङको त्यस्तो प्रस्ताव अस्वीकार गरिन् । तर, बन्दुक तेर्स्याएका तामाङसामू उनी निरीह थिइन् । बन्दुक देखाएर जबर्जस्ती गरेपछि कसैलाई भनेमा मारिदिने धम्की दिएर ठूलोबुबा हिँडे ।

गर्भ बसेपछि………

धनकुमारीलाई असोजदेखि सञ्चो भएन । पेट दुख्ने समस्या भएपछि आफन्तले ललितपुरको शान्त भवनस्थित अस्पतालमा पुर्‍याए । असोज २७ गते चेकजाचका क्रममा डाक्टरले गर्भवती भएको बताएपछि धनकुमारी थप समस्यामा परिन् ।

गर्भपनतका लागि उनलाई दबाब दिइएको थियो । ‘अस्पतालमै गर्भ तुहाउने धेरै प्रयास भए तर, मैले मानिँन’ पीडित महिलाले भन्छिन् । समय धेरै भइसकेको भन्दै चिकित्सकले गर्भपतन गर्न अस्वीकार गरेपछि धनकुमारी गाउँमा र्फकैकी थिइन ।

गाउँमा आएपछि ‘जसको गर्भ हो, उसले जिम्मा लिन’ भनेपछि गाउँमा सबैले घटनाबारे थाहा पाए । तर, अस्पतालमा चेकजाँच गरेको कागजपत्र पनि सुकबहादुरको ज्वाँइले च्यातेर फालिदिएका छन् ।

सुकबहादुरले आफैंले दिए उजुरी

गाउँमा ‘राजा’ उपनाम पाएका सुकबहादुर आफैं १७ कात्तिकमा जिल्ला प्रहरी कार्यालयमा आए र पीडितका दाइ लगायतका ६ जनाविरुद्ध गाली बेइज्यती मुद्दा दर्ता गरी फर्किए । गाउँमा म्याद आएपछि मात्रै गाउँलेले मुद्धाबारे थाहा पाए ।

धनकुमारी अहिले गाउँ छाडेर पुनस्थापना केन्द्रमा आएकी छिन् । १२ बैशाख २०७२ को विनाशकारी भूकम्पमा परी उनको बुबाको मृत्यु भएको थियो भने घाइते भएकी आमा अपाङ्ग भएकी छिन् । सुकबहादुरको धम्कीका कारण आफूले गाउँ छाड्नु पर्दा आमाको भने बिच्चली भएको उनले बताइन् ।

अदालतमा मुद्दा, अनि प्रहरीमा जाहेरी

जर्बजस्ती करणीको मुद्दा लिएर पीडित प्रहरी कार्यालयमा पुगेपनि म्याद गुजारेको भन्दै प्रहरीले जाहेरी लिएन । पीडितले नाता कायम र माना चामल भरिपाउँ भन्दै अदालतमा मुद्दा दायर गरेकी छन् ।

श्रीमान – श्रीमतीको नाता कायम गर्नु पर्ने र जन्मने बच्चाको न्वारनसमेत सुकबहादुरबाटै गर्नु पर्ने उनको माग छ । म्याद तामेल भने भएको छैन ।यसैबीच चौतर्फी दबाब पछि प्रहरीले पनि सोमबार जर्बजस्ती करणीमा मुद्दा दर्ता गरेको छ । साभार:अनलाइन खबरबाट