कस्तो छ त ? सन् २०१८ (तपार्इंको दुःखसुख, उन्नतिअवनति भाग्य र भविष्य)

सन् २०१७ को समाप्ति र अङ्ग्रेजी नयाँ वर्ष २०१८ को आगमन हुन लागेको छ । यस पटक पनि हामी तपाईंको राशिफल र ग्रहगोचरको लेखाजोखा गर्न लागेका छौं । यो पूर्वीय ज्योतिषशास्त्र र वैदिक ज्योतिषमा आधारित फलादेश हो । यसमा आगामी नयाँ वर्ष राष्ट्रिय/अन्तर्राष्ट्रिय परिवेशमा केकस्तो रहने छ भन्ने विषयमा चर्चा त गरिने नै छ, साथै आममानिसको व्यक्तिगत जीवनका विविध आयामका बारेमा पनि विवेचना गर्ने प्रयास गरिने छ, जस्तै पारिवारिक जीवन, आर्थिक पक्ष, व्यक्तित्व विकास, दाम्पत्य सुख वा प्रेमजीवन, अध्ययनअध्यापन, व्यवसायिक र सामाजिक जीवन आदि । पहिलो प्रसङ्ग सन् २०१८ को ग्रह गोचर र राष्ट्रिय/अन्तर्राष्ट्रिय परिवेशमा यसको असरका बारेमा चर्चा गरौं ।

हुन त ज्योतिषीय विश्लेषणमा सूर्य र चन्द्रमाको गणनाले महत्त्व राख्ने हुँदा सनातन परम्परामा चान्द्रवर्षका आधारमा चैत्र शुक्लपक्षको प्रतिपदादेखि र सौर्य वर्षका आधारमा वैशाख ०१ गतेदेखि नयाँ वर्ष प्रारम्भ हुने मान्यता छ । त्यसैले ज्योतिषशास्त्रमा वर्षफल निर्धारण गर्दा सूर्यले मीन राशि त्यागी मेष राशिमा प्रवेश गरेको बिन्दुका आधारमा वर्षकुण्डली तैयार गरी गर्ने परम्परा छ, यद्यपि हाल बहुसङ्ख्यक स्थानमा अन्तर्राष्ट्रिय प्रचलनमा रहेको अङ्ग्रेजी नयाँ वर्षलाई नै नववर्ष मान्ने र हर्षोल्लासका साथमा नयाँ वर्षलाई स्वागत गर्ने परम्परा विकसित हुँदो अवस्था छ । उक्त सन्दर्भमा मैले यहाँ २०१८ को जनवरी ०१ तारिकको पूर्वाह्नको ००:०० बजे नेपालमा देखिने ग्रहगोचरलाई आधार मानी ग्रहस्थिति, आमजीवनमा यसको प्रभाव र चान्द्र राशिका आधारमा राशिफल प्रस्तुत गरेको छु ।

वर्षारम्भको ग्रहस्थिति
सन् २०१८ को पूर्ण अवधिमा प्रभाव रहने ग्रहस्थितिलाई अवलोकन गर्दा वर्षको पूरा समय धनु राशिमा शनि ग्रह, कर्कट राशिमा राहु र मकर राशिमा केतु ग्रहको उपस्थिति रहने देखिन्छ । उता देवगुरु बृहस्पति यस वर्षको सुरुमा तुला राशिमा, फेब्रुअरी १० देखि अप्रिल ०७ सम्म बृश्चिक राशिमा पुनः अक्टोबर ०५ सम्म तुला राशिमा अनि अन्तिममा पुनः बृश्चिक राशिमा पुग्ने देखिन्छ । यस क्रममा मार्च १० देखि जुलाई १६ सम्म बृहस्पति ग्रह र अप्रिल १७ देखि सेप्टेम्बर ०४ सम्म शनिश्चर ग्रह बक्री रहने छन् । त्यसबाहेक अप्रिल, अगस्ट र डिसेम्बरमा बुध ग्रह, अक्टोबर र नोभेम्बरमा शुक्र ग्रह तथा जुलाई र अगस्टमा मङ्गल ग्रह बक्री रहने स्थिति देखिन्छ ।

वर्षफल सन् २०१८
वर्षको प्रारम्भमा कन्या लग्न रहेको छ । लग्नपति मानिएको बुध ग्रह पराक्रम स्थानमा शत्रु मङ्गलको घर बृश्चिक राशिमा रहेर वर्षको प्रारम्भ भएको छ । उता भाग्यपति शुक्र पनि आफ्नो परम शत्रु बृहस्पतिको घरमा केन्द्रवर्ती भएर बसेको देखिन्छ । त्यसैले विश्वले केही आशा र केही चुनौतीको सामना गर्नुपर्छ । नयाँ वर्ष २०१८ बृश्चिक राशिमा पर्ने नेपाल र धनु राशिमा पर्ने भारत दुबै देशले मिश्रित फल प्राप्त गर्नेछन् । वर्षको प्रारम्भमा रहेको ग्रहहरूको शुभताको प्रभावले आर्थिक प्रगति, योजनाको निर्माण, जनतामा महत्त्वाकाङ्क्षा र उल्लासको अभिबृद्धि हुने सङ्केत छ । विकसित र ठूला राष्ट्रहरूले कुनै नयाँ परीक्षण र अन्वेषण सुरु गर्नाले आर्थिक पक्षमा नयाँ आशा जाग्ने सम्भावना देखिन्छ । साथै धनु राशिमा रहेको शनिश्चर अप्रिल १७ देखि सेप्टेम्बर ०४ सम्म बक्री रहने भएकाले उक्त अवधिमा पूर्वी एशियाका कतिपय स्थानमा प्राकृतिक विपत्ति आइलाग्न सक्छ, नेपाल र भारतमा जनताहरूले विद्रोह गर्ने र सामाजिक सद्भाव बिथोलिने खतरा देखिन्छ । बृहस्पतिका निमित्त तुला राशि शत्रुगृह भएकाले उक्त ग्रहको गतिमा अतिचार र बक्रतासमेत देखिने भएकाले समाज र आमजीवनमा सन् २०१८ जालझेल, खुट्टा तानातान, ठगी, फट्याइँ र चाकरीचाप्लुसीको आधिक्य रहेको वर्ष नै हुनेछ । बृहस्पति बृश्चिक राशिमा रहेको समय फेब्रुअरीदेखि अप्रिलसम्म र अक्टोबरपछि बाँकी समय सरकार कडिकडाउ भएर जाने सङ्केत देखिन्छ तर अन्य समयमा सरकार र प्रतिपक्षका बीचको जुवारी यथावत रहने छ । दलहरू आपसी गुटबन्दीमा रुमल्लिने छन् । चन्द्रमाको अधिकार क्षेत्र मानिएको कर्कट राशिमा राहु ग्रह उपस्थित हुनाले गृहिणीहरूमा चिडचिडेपना र अशान्ति व्याप्त हुनेछ । बृद्धावस्थाका व्यक्तिहरूको स्वास्थ्यसमस्या परिवारका सदस्यहरूका लागि चिन्ताको विषय बन्नेछ । अप्रिलदेखि अगस्टसम्म शनिश्चर ग्रहको बक्रताका कारण बलियो र अशान्त ऊर्जा शक्तिशाली हाबी बन्ने देखिन्छ । बृश्चिक, धनु र मकर राशि तथा मकर र कुम्भ लग्नका जातकले उक्त समयमा धनमालको नोक्सानी गर्नुपर्ने वा शारीरिक चोटपटकको विकृति सहनु पर्ने हुन सक्छ । महँगी बढ्ने छ, भ्रष्टाचारमा बृद्धि हुनेछ । त्यस्तै धनु राशिमा शनि बक्री रहेको समय (अप्रिल १७ – सेप्टेम्बर ०४) मा पर्याप्त वर्षा नहुनाले पूर्वी तराईका साथमा भारतको अधिकांश भागमा अनिकाल र सुखाले जनजीवन आक्रान्त हुनसक्छ । शनिको बक्रताका कारण साना र ठूला राजनैतिक दल, उच्च र निम्न वर्ग आदिका बीचमा रहेको असमझदारी र दूरी अझ बढ्दै जाने सङ्केत छ । राज्य पक्षले जनसरोकारका विषयमा चासो दिन सक्दैन । बृहस्पतिको बक्रता र अतिचारका कारण धार्मिक र बौद्धिक क्षेत्रमा रहेका व्यक्तिहरूले पनि अनेकानेक बाधा र आरोहअवरोहको सामना गर्नुपर्छ । आडम्बर र पाखण्डले प्रश्रय पाउने छ । विशेष गरी मार्चदेखि जुलाईसम्म झैझगडा, विवाद र तनावले ग्रस्त वातावरण देशले ब्यहोरी रहने परिस्थिति छ । शैक्षिक र प्राज्ञिक क्षेत्रमा आशा गरेअनुरूप सफलता मिल्दैन । बुद्धिजीविमाथि तस्कर र राजनीतिज्ञ हाबी हुनेछन् ।

आगामी वर्ष सूर्य राजा तथा शनि मन्त्री बन्ने भएकाले राजनैतिक वृत्तमा यसको प्रभाव सकारात्मक रहने देखिंदैन । जनता र सरकारको सम्बन्ध नीरस रहने सङ्केत छ । राजनैतिक सुझबुझ र मेलमिलापको वातावरणमा कमी हुनेछ । जनताको आपसी एकता र समन्वयमा खलल पुर्याउने अनेकौं प्रयास हुनेछन्, सरकार स्वेच्छाचारी हुनाले तस्करी, भ्रष्टाचार र उन्मत्त हुने सम्भावना भएकाले यस वर्षको अन्त्यमा जनस्तरमा विद्रोहको मानसिकता उब्जने सम्भावना देखिन्छ । तर मौसमी र प्राकृतिक क्षेत्रमा कुनै अप्रिय घटना घट्ने लक्षण छैन । जुलाई र अगस्टमा दुर्घटना, अग्निदाह र चोरीडकैती आदि प्रकोप देखा पर्नसक्छन् । शनिले गुरु बृहस्पतिको घर धनु राशिमा विचरण गर्ने भएकाले विज्ञानप्रविधि र इलेक्ट्रोनिक क्षेत्रमा केही सकारात्मक काम हुनेछ र यान्त्रिक, साङ्ख्यिक र सूचनाप्रविधिसम्बद्ध क्षेत्रमा प्रगतिको अनुमान छ । तर वैदेशिक क्षेत्रमा देखिएको अन्यौलता र चिसोपन यथावत कायम हुनेछ । भोगविलास र अकर्मण्यतामा बृद्धि हुँदै जान्छ, कृषि, उद्योग, आन्तरिक स्रोत आदिको परिचालनमा राज्य उदासीन रहने छ ।

राशिफल २०१८
समग्रमा व्यक्तिको व्यक्तिगत जीवन र व्यवसायिक परिस्थितिमा राम्रो सफलता हासिल हुने वर्ष छ, सन् २०१८ । कतिपय राम्रा र आनन्ददायी क्षणहरूको आगमन हुने सङ्केत छ । व्यक्तिगत र पारिवारिक मेलमिलापको वातावरण रहने छ । लामो समयदेखि दाम्पत्यजीवनमा रहेका, जीवनसाथी वा पार्टनरसिपको चाहना राख्ने वा साझेदारी काम गरिरहेकाहरूले खासगरी वर्षको पूर्वार्द्धमा भाग्योन्नति गर्ने अवसर पाउने छन् । हडबड र शीघ्रता गर्नेहरूले अप्रिलदेखि अगस्टसम्म आर्थिक नोक्सानी र चोटपटक व्यहोर्नु पर्ने हुन्छ, साथै उक्त अवधिमा बृद्धबृद्धाले रोग, शोक र अपमान सहनुपर्ने परिस्थिति बन्नेछ । पेसा वा रोजगारीको उन्नतिका लागि प्रयासरत व्यक्तिहरूले मिहिनेत र परिश्रममा विश्वास गर्नु जाति हुन्छ । बालस्वास्थ्यमा पनि कुनै ठूलो जोखिमको सम्भावना छैन । तर सुरुको दुई महिना र अगस्ट, सेप्टेम्बर र अक्टोबरमा यौनव्यभिचारमा बृद्धि हुनेछ, साथै उक्त समयमा कला, मनोरञ्जन र भोगविलाससम्बद्ध व्यवसायीले कमजोरीको अनुभूति गर्नेछन् ।

अब मेषादि विभिन्न राशिका आम मानिसले यस वर्ष प्राप्त गर्ने उपलब्धी वा झेल्नुपर्ने निराशाका बारेमा चर्चा गरौं ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मेष राशि हुने जातकहरूका लागि सन् २०१८ राम्रै वर्ष रहने छ । सप्तम भावमा भाग्येश बृहस्पतिको उपस्थिति रहेकाले उमेर पुगेका वर र बधु वैवाहिक जीवन तर्फ आकर्षित र प्रविष्ट हुने सम्भावना देखिन्छ । पति वा पत्नीका साथमा सुमधुर सम्बन्ध कायम हुनेछ । आवासगृह वा निवास स्थानमा परिवर्तन हुने सङ्केत छ । उन्नतिको आकाङ्क्षा राखी व्यवसायिक वा पेसागत स्थितिमा सुधार हुनसक्छ, कतिपयले समुचित अवसर प्राप्त गर्नाले नोकरी वा कारोबारमा परिवर्तन गर्नेछन् । मानसिक पक्ष बलियो छ । आर्थिक र सामाजिक हैसियतमा पनि बृद्धि हुनेछ । लामो दूरीको यात्रा सफल हुनेछ । धार्मिक विषयवस्तु वा पुराना कुरा र शास्त्रीय ज्ञानका लागि गरिएको प्रयास सफल हुनेछ । घरमा माङ्गलिक कर्म र धार्मिकसांस्कृतिक कृत्यहरू सम्पादन हुनेछन् । तर मातापिता वा परिवारका बृद्ध सदस्यहरूको स्वास्थ्यस्थिति अनुकूल हुने छैन । विशेष गरी आमाको मानसिकतामा चिन्ता, शङ्का र खटपटीले बास गर्नेछ । समग्रमा राम्रो वर्ष छ, यद्यपि अझ बढी शुभफल प्राप्त गर्न भगवान् शिवको आराधना गर्नु मुनासिब हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
यो वर्ष तपाईंका लागि केही चुनौती, परीक्षा र सङ्घर्षका साथमा उपस्थित भएको छ । नोकरी वा व्यवसायबाट सन्तुष्ट हुन नसक्दा सामान्य फेरबदल वा परिवर्तनको सम्भावना देखिन्छ । घरमा पितासँग सम्बन्धमा वा अफिसमा हाकिमसँगको सम्बन्धमा तीतोपन आउन सक्छ । बुवा वा परिवारको बृद्ध पुरुषको स्वास्थ्यस्थिति पनि चिन्ताको विषय बन्नेछ । चलिआएको बन्दव्यापारमा थप लगानी गर्नु र स्तरोन्नति गर्नु त ठिकै हुनेछ, तर नयाँ कारोबारमा रकम लगानी गर्नु उचित हुँदैन । उता स्वास्थ्यमा पनि मौसमी रोगको प्रकोप देखा परिरहने छ भने गृहस्थी जीवन र प्रेमसम्बन्ध पनि सुमधुर रहन सक्दैन । यद्यपि मार्च, नोभेम्बर र डिसेम्बर महिनामा हाँकेताकेका काममा सफल भइने छ । त्यसो त स्वास्थ्यसंस्था, सरकारी अड्डाका कर्मचारी वा न्यायिक क्षेत्रका व्यक्तिहरूका लागि भने यो वर्षको समस्त अवधि भाग्योन्नति हुने वर्ष देखिन्छ । यस राशिका जातकहरूले यस वर्षमा शुभफल प्राप्त गर्न नियमित रूपमा महालक्ष्मी भगवतीको भक्तिआराधना गर्ने र असहाय दुःखी कन्या केटीको आवश्यकता विचार गरी रेशमी कपडा दान गर्ने वा अन्य भौतिक सहयोग गरेमा लाभ मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कलाक्षेत्रका व्यक्तिहरू, लेखक, फेसन डिजाइनसँग जोडिएका व्यक्तिहरूका लागि यो वर्ष सकारात्मक वर्ष रहने छ । यद्यपि आयमार्गमा विविध समस्याको सामना गरिरहनु पर्नेछ । घरायसी खर्चमा अनायासै बृद्धि हुनेछ । जीवनसाथीसँगको सम्बन्धमा निराशा नै देखिन्छ । परिवारभित्र पनि किसिमकिसिमका समस्या देखा परिरहने सङ्केत छ । तर परदेशीहरूले राम्रो आम्दानी गर्नुका साथै दूरगामी भविष्यसम्म काम लाग्ने क्षेत्रमा निवेश गर्ने देखिन्छ । विद्यार्थी र शैक्षिक क्षेत्रका व्यक्तिहरूले राम्रो नतिजा हात पार्ने छन् । साझेदारीमा गरिएको कारोबारबाट लाभ लिन सकिने छैन । साझेदारसित वैमनस्य बढ्ने र पुराना साथीभाइ टाढिने सम्भावना पनि देखिन्छ । बन्दव्यापारमा परिवर्तन गर्नु वा नयाँ कारोबारमा लगानी गर्नु हानिकारक बन्नसक्छ, सचेत हुनुपर्छ । व्यापार वा व्यवसायमा आफैंले गरेको काममा मात्र सफलता मिल्ने भएकाले सहयोगी वा कामदारलाईपूर्ण विश्वास गर्नु हानिकारक बन्ने सङ्केत छ । भ्रमका पछि कुद्नु बुद्धिमत्ता हुँदैन । यस वर्षलाई सफल तुल्याउन हृदयतः भगवान् विष्णुको उपासना गर्नोस् वा आवश्यकता भएका छात्रछात्रालाई वा विद्यालय वा गुरुकुलमा दानादि गर्नु राम्रो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कल्पना, भावना, भ्रम र आनन्दका पछि कुद्ने बानी भएकाले यो वर्ष सुखद परिणाम प्राप्त गर्न सक्दैनन् । दाम्पत्य सम्बन्ध अनुकूल हुन सक्दैन, प्रेमसम्बन्धमा पनि तिक्तता आउने सम्भावना छ । ससाना कुरामा विवाद र झगडाको स्थिति आउन बेर लाउँदैन । निवासस्थानमा परिवर्तन हुने वा घरको मर्मतसम्भार गर्नु पर्ने ग्रह योग देखिन्छ । व्यापारीहरूले वैदेशिक प्रयोजनका कामबाट मनग्ये धनार्जन गर्नेछन् । स्वास्थ्यस्थितिमा सुधार हुनेछ । पछाडि कुरा काट्ने व्यक्ति, शत्रु वा प्रतिस्पर्द्धीहरू पराजित हुनेछन् । अभिभावक र गुरुजनसँग सम्बन्धमा प्रगाढता आउने सङ्केत छ । भाषिक क्षेत्रमा काम गर्न व्यक्तिहरू, मनोविज्ञान र मनोचिकित्साका क्षेत्रमा कार्यरत र विदेशमा गई रोजगारीमा रहेका कर्कट राशिका जातकहरूले लाभ, प्रशंसा र मानसम्मान प्राप्त गर्नेछन् । त्यस्तै घरजग्गाका कारोबारी र शैक्षिक क्षेत्रमा कार्यरतहरूले पनि शुभफल नै प्राप्त गर्नेछन् । समग्रतामा मिश्रित प्रभाव प्राप्त हुने साल भएकाले यस वर्षलाई अझ शुभकर बनाउन माता दुर्गाको भक्तिभावका साथमा उपासना गर्नु र दैनिक रूपमा दुर्गाकवचको पाठ गर्नु उपयुक्त हुने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सिंह राशिका जातकहरूका निमित्त यस वर्षको सुरुका केही समय कठिन र सङ्घर्षशील रहे पनि समग्रतामा शुभफल नै प्राप्त हुने सङ्केत छ । वैवाहिक सम्बन्ध र प्रेमजीवन अनुकूल रहने छ । भाइबहिनी वा सन्ततिका स्वास्थ्य र व्यक्तित्व विकासका समस्याले चिन्तित तुल्याउन सक्छ । सामाजिक प्रतिष्ठा कायम हुनेछ । आत्मविश्वास बढ्ने छ । आफ्नो क्षेत्रमा वर्चस्व स्थापना हुनेछ । ससाना यात्राबाट सफलता मिल्नेछ । पारिवारिक उत्थानका निम्ति कुनै महत्त्वपूर्ण कार्य गर्न प्रयास गरिने छ । वैदेशिक प्रयोजनका कामबाट मनग्ये लाभ लिन सकिने छ । बन्धुबान्धव र दाजुभाइसँग सरसहयोग र सम्बन्ध राम्रो रहने छ । धर्म, अध्यात्म, योग, ध्यान र आत्मचिन्तनका निमित्त उपयोगी समय रहने छ । विद्यार्थीहरूले कडा मिहिनेत गर्नुपर्छ । व्यक्तिगत स्वास्थ्यमा समस्या देखा परिरहने सङ्केत छ, मानसिक तनाव, थकावट र अनिद्राका समस्या देखा पर्नेछन् । समग्रतामा शुभफलकै अधिकता हुने यस वर्षमा अझ राम्रो प्रतिफल प्राप्त गर्न आशुतोष भगवान् शिवको उपासना गर्नु वाञ्छनीय देखिन्छ, स्वयं वा ब्राह्मणद्वारा रुद्राष्टाध्यायी पाठ गर्नुगराउनु राम्रो हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कन्या राशिका व्यक्तिहरूका लागि यो वर्ष सफल र स्मरणयोग्य वर्ष रहने छ । निजी र पारिवारिक आयमा बृद्धि हुनेछ । आगामी एक वर्षको अवधिमा आयक्षेत्रमा उल्लेखनीय अभिबृद्धि हुनेछ । परिवारका सदस्य र अन्य व्यक्तिको हितका लागि धनखर्च गर्न मन हौसिने छ । लोकप्रियता हासिल हुनेछ । गरेको कामबाट लाभ र प्रशंसा दुबै मिल्ने देखिन्छ । रोजगारीका क्षेत्रमा पदोन्नति हुने वा आयमूलक क्षेत्रको काम हातपर्ने सम्भावना छ । वित्तीय क्षेत्र, इलेक्ट्रोनिक, फेसन डिजाइन, मौखिक अभिव्यक्तिका काम आदि क्षेत्रमा जोडिएका व्यक्तिहरूले अयाचित उपलब्धी हासिल गर्नेछन् । यस वर्ष घरघडेरी वा जेथो जोड्ने वर्ष हो । सेयर कारोबारबाट पनि राम्रै लाभ मिल्ने देखिन्छ । तर पारिवारिक स्वास्थ्यको स्थिति राम्रो देखिंदैन । वैदेशिक कारोबारबाट लाभ लिन सकिने छैन । , परदेशमा बस्नेहरू मानसिक तनाव र झमेलामा फँस्ने सम्भावना हुन्छ । काममा लगानी गर्नु लाभप्रद नै रहने छ, तर उधारो वा ऋणमा काम गरेमा राम्रो फल प्राप्त हुन सक्दैन । यस वर्षलाई शुभप्रद बनाउन तपाईंले माता लक्ष्मी र गणेशको आराधना गर्नु बुद्धिमानी हुने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
तुला राशिका जातकहरूमा यस वर्ष साहस, पराक्रम र आत्मविश्वासमा बृद्धि हुने वर्ष छ । निजी जीवन र व्यक्तित्वको विकासमा सकारात्मक समय छ । दाम्पत्य सम्बन्ध उल्लासमय रहने देखिन्छ, कतिपयले दाम्पत्य जीवनमा प्रवेश गर्नेछन् भने कतिपयले सन्तानलाभ गर्ने सम्भावना देखिंदैछ । कतिपय वस्तुहरूमा नयाँ अनुभव र ज्ञान प्राप्त गर्ने अवसर पाइने छ । व्यवसायिक यात्राको सम्भावना छ । वित्तीय क्षेत्र र सेयर मार्केटमा गरेको लगानी लाभप्रद बन्नेछ । कारोबारको विस्तारका लागि ऋण वा सापटी लिनु पर्ने परिस्थिति सिर्जना हुनेछ । पुरानो सम्पत्तिको बिक्रीबट्टा हुने अथवा कुनै पारिवारिक विवाद वा झमेलाको अन्त्य हुने सम्भावना देखिंदैछ । परिवारमा मातापिता वा ज्येष्ठ नातेदार र कार्यक्षेत्रमा हाकिम वा सिनियर साथीसँगको सम्बन्धमा चिसोपन देखिने सम्भावना हुन्छ । दैनिक खर्चलाई नियन्त्रण गर्न सकिंदैन । त्यस्तै यस अवधिमा विशेषतः आमाको स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुन्छ । समग्रमा यो वर्ष शुभफलका साथमा उपस्थित भएको छ, यद्यपि अझ उत्कृष्ट परिणामका लागि बेलुकाको समय वा रात्रीकालमा लक्ष्मीनारायणको पूजाउपासना गर्नु लाभप्रद हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
वृश्चिक राशिका व्यक्तिहरूका लागि उताचढाव र सङ्घर्षले भरिएको समयावधि हो, नयाँ साल २०१८ । आर्थिक पक्ष असन्तुलित रहने देखिन्छ । घरायसी खर्च र कारोबारमा व्यर्थको लगानी बढ्ने सङ्केत देखिंदैछ । रिस, घमण्ड, अहङ्कार र गर्वका कारण झमेलामा फँस्ने सम्भावना छ, ससाना कुरामा कचिङ्गल मच्चिन सक्छ, सचेत हुनुपर्छ । घरका बृद्धसदस्यको स्वास्थ्यमा विशेष ख्याल राख्नुपर्छ । विशेषतः संयमता र अनुशासनको नियममा बस्नु बुद्धिमानी हुनेछ । त्यसो त केही विषयमा यस वर्ष लाभप्रद पनि रहने देखिन्छ । वैदेशिक प्रयोजनका काम वा विदेशको बसाइ लाभप्रद रहने छ । लामो वा छोटो दूरीका ससाना यात्राको सम्भावना छ । कुनै धार्मिक वा पर्यटकीय क्षेत्रको भ्रमण हुनेछ । समग्र अवधिमा तपाईंभित्र पराक्रम, आत्मविश्वास र साहसमा बृद्धि हुने सङ्केत छ । योग र धार्मिक कृत्यका निमित्त सक्रिय भूमिका निर्वाह गरिने छ । घरमा किशोरावस्थाका केटाकेटी छन् भने तिनको सामाजिकता र चरित्रप्रति विशेष ध्यान दिनु राम्रो हुनेछ । समयलाई लाभप्रद तुल्याउन तपाईंले गरिबगुरुबा, भिखारी र दिनदुःखीको सहयोग गर्नु र भोजनादि गराउनु राम्रो छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
यो वर्ष लाभमूलक क्षेत्रमा उल्लेखनीय उपलब्धी लिने वर्ष हो । समग्रतामा आयक्षेत्रमा वृद्धि हुनेछ, कुनै दीर्घकालिक प्रयोजनमा रकम निवेश हुनेछ । आम्दानीका तुलनामा खर्चको मात्रामा गिरावट आउने छ । पारिवारिक सम्बन्ध सुमधुर रहने छ । तर दाम्पत्य जीवन सुखद रहने सङ्केत देखिंदैन, ससाना कुरामा विवाद र तनाव भइरहने छ । पार्टनरसिपमा गरिएको कारोबार फलदायी हुँदैन । विवाद र कलहको योग पनि देंखिदैछ, नजिकका मित्र तथा पति वा पत्नीसित हेलचक्र्याइँ गर्नु र जिस्किनुको परिणाम खराब हुने भएकाले मुखलाई नियन्त्रणमा राखेको जाति हुनेछ । अत्यधिक मिहिनेत र खटाइले गर्दा शरीरमा पोषक तत्त्वको कमी हुनेछ, परिणामतः शारीरिक कमजोरीको अनुभूति हुनसक्छ । कार्यक्षेत्रको बोझ र एकान्तप्रिय हुनाले नातेदार र परिवारका सदस्य टाढिने सम्भावना छ, त्यसैले सामाजिकतामा विशेष ध्यान पुर्याउनु पर्छ । तर पेसा वा व्यवसायमा प्रशंसाको भागीदार भइने छ । भाइबहिनी र छोराछोरीका तर्फबाट शुभ सङ्केत प्राप्त हुनेछ । यस वर्ष अझ फलदायी बनाउन शनिश्चर ग्रहको उपासना गर्नु र शनिमृत्युञ्जय स्तोत्रको पाठ गर्नु वाञ्छनीय देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
रोजगारी र बन्दव्यापारमा शुभ परिणाम प्राप्त हुनेछ । यो अवधिलाई तपाईंको जीवनकालकै सर्वश्रेष्ठ समय प्रमाणित गर्न सक्ने सङ्केत छ । अत्यधिक सफलता र सम्मान प्राप्त हुनेछ । मनलाई एकाग्र बनाउन, समाधि र योगको अभ्यास गर्नसमेत यस अवधिको उपयोग गर्नुपर्छ । धार्मिक र सामाजिक क्षेत्रको कुनै प्रमुख व्यक्तिसित सम्पर्क हुनसक्छ । आफ्नो कामलाई पूर्ण गर्ने अत्यधिक उत्साह हुनेछ । परिवारिक वातावरणबाट पनि सहयोग मिल्नेछ । लामो यात्रा फलदायी सिद्ध हुनेछ । परिवारमा नयाँ सदस्यको आगमन हुनसक्छ । कार्यालयका हाकिम वा सिनियरहरूले सहयोग र प्रशंसा गर्नेछन् । बढुवा, प्रशंसा वा पुरस्कार प्राप्त हुनेछ । तर प्रेमीप्रेमिका वा पतिपत्नीको आन्तरिक सम्बन्धमा भने यदाकदा खटपट र निराशाको वातावरण कायम हुनेछ । स्वास्थ्यस्थितिमा मौसमी रोगव्याधिको प्रकोप रहने भएकाले सचेत हुनुपर्छ । वर्ष सकारात्मक नै देखिन्छ, तर सानातिना चोरी हुने वा सामान हराउने सम्भावना भने प्रबल छ । यस वर्षलाई अझ उत्कृष्ट तुल्याउन आफैंले वा घरका बृद्ध सदस्यमार्फत पितृदेवताको चित्त बुझाउनु वा कुनै तीर्थस्थानमा गएर श्राद्धादि गर्नु मुनासिब हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कुम्भ राशिका जातकहरूका लागि यो वर्ष अत्यधिक सकरात्मक वर्ष रहने सङ्केत देखिन्छ । व्यक्तिगत जीवन र पेसाव्यवसायका सन्दर्भमा शुभफल प्राप्त हुनेछन् । व्यापार, नोकरी वा कारोबारमा गरेको प्रयास सार्थक हुनेछ । वरिष्ठ एवं शक्तिशाली व्यक्तित्वबाट स्नेह र सम्मान प्राप्त हुनेछ । व्यापार र नोकरीको सिलसिलामा अधिकतम समय घुमफिरमा बित्नेछ । भ्रमण र पर्यटनका लागि अनुकूल समय छ । शत्रुको प्रतिष्ठा गिराउन सफल भइने छ । पारिवारिक जीवन सुखद हुनेछ । व्यापारको विस्तार हुनेछ र पद बढ्ने छ । कर्मचारीले राम्रो फाइदा बटुल्न सक्नेछन्, इच्छाएको जिम्मेबारी प्राप्त गर्न सकिने छ । अध्यात्म र धार्मिक गतिविधिमा रुचि जागृत हुनेछ । प्रतिस्पर्द्धी र शत्रुको नाश हुनेछ । ऋणभारमा कमी आउने छ । स्वास्थ्यस्थितिसमेत अनुकूल रहने छ । बालबच्चाबाट सुख र सन्तुष्टि प्राप्त हुनेछ । पारिवारिक र दाम्पत्य सम्बन्धको भरपूर सुख भोग गर्न पाउनु हुनेछ । पति वा पत्नीको कार्यक्षेत्रबाट समेत लाभ मिल्नेछ । समग्रमा अत्यन्त शुभकारक वर्ष भए पनि यस वर्ष तपाईंले गरेको तीर्थयात्राबाट तपाईंले इहलोक र परलोक दुबै सुधार्ने अवसर प्राप्त गर्नुहुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
नयाँ वर्ष २०१८ मा मीन राशिका जातकहरूको जीवनशैलीमा केही अप्रत्याशित परिणाम प्राप्त हुने सम्भावना देखिन्छ । व्यक्तिगत र पेसागत जीवनमा समेत परिवर्तनको आभास मिल्नेछ । यस समयमा सामान्यभन्दा बढी खट्ने समय हो । तर गरिएको परिश्रम र मिहिनेतको परिणाम उल्लेखनीय र लाभप्रद रहने छ । घरपरिवारका सदस्यहरूले काममा सघाउ पुर्याउन सक्दैनन् । बालबच्चाको स्वास्थ्यस्थितिमा असर पर्ने वर्ष छ, तिनको खानपान र आहारविहारमा सचेतता अपनाउनु पर्दछ । सकेसम्म समय निकालेर घरपरिवारको भावना बुझ्ने प्रयास गर्नु राम्रो हो । आर्थिक पक्ष जोखिमयुक्त छ, सट्टापट्टा, साझेदारी वा जुवाजन्य क्रियाकलापबाट फाइदा हुने देखिंदैन । भ्रम र उच्चाकाङ्क्षा हानिकारक बन्ने भएकाले समस्यामा जान्नेबुझ्ने र गुरुजनको राय लिनु वाञ्छनीय देखिन्छ । मनमा आवेश र अहङ्कारको प्रवेश हुनु हुँदैन, संयमता र धैर्यताका निमित्त योग र ध्यानमा समय दिनुपर्छ । व्यक्तिगत स्वास्थ्य, अभिभावक र बालबच्चाको स्वास्थ्यस्थिति पनि चिन्ताको विषय बन्न सक्छ, त्यसैले घरको दैनिक पूजाआजा टुटाउनु हुँदैन, साथै यस वर्षको सुरुमैं नवग्रह शान्ति, हवन र रुद्राभिषेक वाञ्छनीय देखिन्छ ।

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com