“चरीत्र हत्या गर्ने जतिसुकै प्रयास गर, ‘रबि’ थाक्ने छैनन्

सुबास शर्मा

हामीले भनेर कहिल्यै थाक्दैनौ ‘यो देश सतीले सरापेको देश हो।’ देश यो अबस्थामा पुग्नुको एउटै कारण ती सती गएका महिलाहरु माथी थुपारेको देख्दा कहिलेकाहीँ म गम्भीर भएर सोच्ने गर्दछु कि, ‘यो देश सती गएका आमाहरुले सरापेको होकी,देशमै रहेका ज्युदा देशका शत्रु जस्ता सन्तानहरुले बिगारेको देश हो?’

धुर्मुस सुन्तली, महाबिर पुन र रबि लामिछाने जस्ता देशको लागी केही गरौं है!भन्ने सपना बोकेकाहरु विरुद्ध खनिन खोज्ने मानवरूपी ज्युदा दानवहरु आँखै अगाडी देख्दा मैले थाहा पाउन सकिरहेको छैन, कि यो देश बिग्रनुमा सतीको श्राप हो या अहिलेका केही नाजायज सन्तानको पाप हो।

देशको भलो गर्न खोज्नेहरु नेपालमा कहिल्यै टिक्न सकेनन्। अझ भनौं टिक्न दिईदैन।देशको नागरिकता र राहदानी बोकेर त्यै देशको कहिल्यै भलो नहोस् भन्नेहरू आज रबि लामिछानेको चरीत्र हत्या गर्न लागिपरेका छन्।सोझासिधा जनता लुट्न पाईएन भन्दै उनलाई अनागरिक भन्न तछाडमछाड गरिरहेका छन्।

आज देशका थुप्रै नेताहरुले पिआर लिएर आफुलाई शासन गरिरहेको नदेख्ने भेडाहरुले एक पत्रकारले गरिब र पिडित जनताको आवाज बोल्दा र बिदेशमा दुःख भोगिरहेका नेपालीको पक्षमा आफ्नो ज्यान जोखिममा राखेर उभिदा,गरिव निमुखा नेपालीको रगत चुस्ने किर्नाहरुको पेट पोलेको छ।कोठे पत्रकार र तिनका पाते अनलाइनहरुलाई रबिको चर्चा देखेर डाहा भएको छ।

उनले कार्यक्रमको कुनै एपिसोडमा कुनै एक पार्टीको पक्षमा बोलेनन्,कुनै एक नेताको गुणगान गाएनन्, नत नेपाललाई होच्याउने खालको कुनै शब्दनै बोले। बोलुन् पनि कसरी,उनलाई आफ्नो ज्यानको भन्दा बड्ता माया देशको छ,त्यै देशमा बस्ने निमुखा जनताको छ।

त्यसैले पटकपटक उनले देशको कुसंस्कार बिरुद्ध बोलिरहे,देश लुट्नेहरुका विरुद्ध चिच्याई चिच्याई बोलिरहे।ज्यान जोखिममा राखेर दिनरात नभनी नेपालीकै हितका निम्ति खटिरहे।चाहे ती ईराकमा बेचिएकी चेलीको उद्दार होस, चाहे बिदेश आउदा गरिव जनता लुट्ने दलालहरुका विरुद्ध होस्,चाहे बिदेशमा आत्महत्या गर्न बाध्य पारिएकी अष्टमी गुरुङको न्यायका निम्ति होस्,ऊनी हरदम लागिरहे।आफ्नै ब्यक्तिगत खर्चमा जोखिम मोलेर आज ऊनी बिदेशमा दु:ख पाएका नेपालीको आवाज बाहिर निकाल्न ‘युएई’ सम्म आए।अष्टमी गुरुङका परिवारले न्याय पाउनुपर्छ भन्दै लागिरहे। लागिरहेका छन्।

सरकारी तलब खाएर त्यै देशको छातीमा लात हन्नेका बिरुद्द उनले पटकपटक आवाज उठाईरहे।उठाईरहेका छन्।तर आज यसको फलस्वरूप उनि विरुद्ध केही बोझहरु उनलाई गिराउन लागिपरेका छन्।रबिको चुलिएको चर्चा देखेर उनिहरुको पेट बेस्मारी पोलेको छ।देश लुट्दै र दलाली गर्दै पापको कमाइ गर्दैआएका देशका बोझहरु उनलाई कसरी ठेगान लगाउने भन्दै लागिपरेका छन्।

स्वाभिमानको कुरा गर्दा हिजो’प्रेम बाँनिया’ले देश भित्रैका मातृभूमि लुटेराहरुबाट असुरक्षित हुनुपर्यो। आवाज हिनहरूको आवाज बोलिरहदा आज’रबि लामिछाने’तिनै देश भित्रै रहेर गरिब नेपालीको रगत चुस्नेहरुबाट असुरक्षित रहेको महशुस गर्नुपरेको छ, अनेक आरोपहरु खेप्नुपरेको छ।

यता रोजगारीको लागि आएको ‘म’बेलाबेलामा यहाँ लुटिएका,ठगिएका नेपालीको पक्षमा उभिदा,बोल्दा र लेख्दा त्यै ‘नेपाल’ देशको राहदानी बोकेर बिदेशमा आफ्नै नेपाली लुट्न आएका दलालहरूको टार्गेटमा पर्नुपरेको छ।
यी यावत् कुराहरू देखिरहदा कसरी भनौं कि यो देश लथालिङ्ग हुनुको कारण तिनै जलेर गयका सतिहरु श्राप हो भनेर ?

नेपाली नागरिकता बोकेर त्यै देशको छाती कुल्चिरहेका मातृभूमि बलात्कारीहरुलाई म सोध्न चाहान्छु।
रबि लामिछानेको के कुरामा चित्त दुख्यो ?

– ईराकबाट नेपाली चेलीको उद्दार गरेको चित्त बुझेन ?

– सरकारी तलब लिएर जनताको काम गर्दा घुस लिनेहरुलाइ सार्बजनिक गरेको चित्त बुझेन ?

– बुवाआमा समानका वृद्धहरुलाई लुटेर,ठगेर रुवाएकाहरुको पर्दाफास गरेर ती वृद्ध बुवाआमाको आशु पुछेको चित्त बुझेन ?

– औसधि नराखेका अस्पताल र स्वास्थ चौकीहरुमा किन औसधि नराखेको भन्दै अधिकार मागेको चित्त बुझेन ?
– पैसा र पावर देखाएर निमुखालाई उठिबास लगाएकाहरुको पर्दाफास गरेको चित्त बुझेन ?

– नेपाली दाजुभाइहरु लाई बिदेशी भूमिमा नर्कको जीवन बिताउन बाध्य पार्ने दलालहरुको विरुद्धमा बोलेको चित्त बुझेन ?

– बिदेशी माटोमा आफ्नै देशकि चेलीको ईज्जत् लुटिएर मर्न बाध्य पार्ने अपराधीलाई कारबाही गरि पीडित परिवारको आँसु पुछ्न लागेको चित्त बुझेन ?

– घुस लिने कर्मचारी संग घुस फिर्ता गरायको चित्त बुझेन? के कुरामा चित्त बुझेन ?

राम्रो कर्म गर्दै जादा पेट बोल्ने दलालहरुलाई चित्त कुनै कुरामा नबुझोस्।गरिव नेपाली जनताको आवाज बोल्दा छट्पटी हुने लुटेराहरुलाई जतिनै असैह्य होस्,तर रबिहरु थाक्ने छैनन्।आवाज,कलम र क्यामेराहरु बन्द हुने छैनन्।नेपाल र नेपाली लुटेर रजाइँ गर्ने ती सबै चोर दलालहरुलाई रबि लामिछानेकै शब्द सापटी लिएर भन्न चाहन्छु, ‘हामीलाई तर्साउने, धम्क्याउने, चरीत्र हत्या गर्ने तपाईहरुको कुनैपनि प्रयास सफल हुने छैन।

समाजको स्वरुप यहीँ हो, कुनैदिन तपाई चरित्र हत्या गर्नेलाई पनि न्यायको खाचो पर्न सक्नेछ।त्यतिबेला सबै ठाउँबाट थाक्नुभयो भने हामीलाई सम्झनुहोला।पृथ्वी गोलो छ।यो गोलो पृथ्वी घुमेर एक न एकदिन तपाई कहाँ आईपुग्ने छ। त्यतिबेला हामी तपाईलाई न्याय दिलाउन यसैगरी लाग्ने छौ।’ (लाइटनेपाल)