माताको शरणमा किन पुगे राजेन्द्र महतो !!

जनकपुर, मंसिर १८ । ज्योतिषीमा औधी विश्वास गर्ने राजेन्द्र महतोलाई अधिकांश ज्योतिषाचार्यले चुनावमा पराजित हुने भविष्यवाणी गरेपछि उनी दिनहुँ नयाँ–नयाँ ज्योतिषीसँग ग्रहदशा हेराउन थालेका छन् । खासगरी ज्योतिषशास्त्री एवं खगोलविद् प्रकाण्ड विद्वान कालीकान्त झा तृषितले विमलेन्द्र निधिको कुण्डली विश्लेषणपछि केही हैरानी बेहोर्नुपरे पनि अन्ततः निधिकै जित हुने भविष्यवाणी गरेपछि चिन्तित महतो दिनानुदिन नयाँ–नयाँ ज्योतिषाचार्यसँग ग्रहदशा कटाउन सल्लाहमशविरा गर्न थालेका हुन् ।

यसक्रममा उनी काठमाडौंका माता, देवी, झाक्री आदिसँग पनि सम्पर्कमा रहने गरेका छन् । जनकपुरमा चुनाव लड्नेक्रममा उनी सबिता शर्मा आचार्य भन्ने मातासँग भेट गरेका छन् । एमाले नेताहरूसँग बढी निकट मानिएका शर्माले चुनावी नतिजाका बारेमा केही टिप्पणी नगरे पनि चुनावका क्रममा निराशा, कुन्ठा र अवसादबाट जोगिन महतोलाई आशीर्वाद दिएका हुन् ।

ज्योतिषचार्य झाले राशिको दृष्टिले महतो शनिको साढेसातीबाट गुज्रिरहेको र उनका लागि चुनावी परिणाम घातक हुने बताएका छन् । उनले विशोंत्तरी दशा वर्षदेखि अहिले भाग्येश शनि महा महादशामा लग्नेश बुधको अन्तर्दशामा प्रत्यंतरत्रिकोणेश शुक्रका भएकाले निधिले सफलता अर्थात् विजयश्री अवश्य प्राप्त गर्ने दाबी गरेका छन् ।

ज्योतिषचार्य झाले गरेका विश्लेषणलाई अकाट्य र अवश्यम्भावी मानिँदै आएको छ । उनी निर्लोभी, प्रस्ट वक्ता र निर्भयी ज्योतिष मानिन्छन् । उनीसँग भाग्य विश्लेषण गराउन श्रद्धालुहरूको चापका कारण महिनौंअघि समय लिनुपर्ने हुन्छ । (फ्रीनेपालीन्युजबाट)