भ्रष्टचारी,राष्ट्रघाती र विदेशी दलाललाई मृत्युदण्ड दिने कानून बनाउनुपर्छ : अनुराधा थापामगर

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की नेतृ तथा प्रतिनिधी सभामा भक्तपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फकी उम्मेदवार अनुराधा थापामगरले भक्तपुरको कटुन्जेमा भएको एक चुनावी सभालाई सम्बोधन गरिन्।

चुनावी सभालाई सम्बोधन गर्दै नेतृ थापामगरले नेमकिपाले आफ्नो चुनावी घोषणापत्र अनुसार नै काम गरेको दाबी गर्दै चुनावी घोषणापत्र अनुसार काम नगर्ने कुनैपनी राजनीतिक दललाई खारेज गर्नपर्ने माग गरिन्।

नेतृ थापामगरले अगाडी भनिन्- मैले सुनेको छु चुनावको लागी मैले जग्गा धितो राखेको छु भन्दैछन् रे, आज जसरी पनि चुनाव जित्छु भन्नेले भोली सरकारमा जान देश धितो राख्छ कि राख्दैन ?

नेपाल भारत खुला सिमाना बन्द गराउन पर्छ भनेर नेमकिपाले राखेको प्रस्तावमा कांग्रेस,एमाले माओवादीले हात उठाए अहिले भारतका एसएसबी नेपाल भित्र आएर हाम्रा नेपाली युवाहरुलाई गोली हानेर मार्ने,कुटेर घाईते बनाउँने,हाम्रा सिमाना मिच्ने र हाम्रा दाजुभाई,दिदीबहिनीहरु राती सुत्दा नेपाली भएर सुत्छन् तर बिहान उठ्दा भारतले आफ्नो भूमि दाबी गरिसकेको हुन्छ।नेपाली जमिनमा किसानले धान रोप्ने तर भारतीय एसएसबी आएर नेपालीको जग्गामा रोपेको धान काटेर लैजान्छ त्यसैले नेमकिपाले भनेको छ नेपाल- भारत खुल्ला सिमाना बन्द गर्नपर्छ ।

नेतृ थापामगरले अगाडी भनिन्- कन्चनपुरमा एसएसबिको गोली लागेर नेपाली निर्दोष युवा गोविन्द गौतम मारिदा कोहि बोलेनन् तर एउटा अपराधी घैटेलाई प्रहरीले मार्दा कांग्रेसका सांसदहरू संसदमा यो हाम्रो कार्यकर्ता हो यसलाई शहिद घोषणा गर भनेर उफ्रिए।

खाडी मुलुकमा नेपाली चेलिबेटि बेचबिखनमा सरकारका कर्मचारी संलग्न छन् भनेर संसदीय समितिले प्रतिवेदन तयार गरेको छ। सरकारका कर्मचारीको प्रतिनिधित्व मन्त्री,प्रधानमन्त्रीले गर्छन्,यसकारण आजसम्मका सरकारहरु चेलिबेटि बेचबिखन गर्ने दलाल हुन्।

भ्रष्टचारी विदेशी दलाल र राष्ट्रघातीलाई मृत्युदण्ड दिने व्यबस्था कानूनमा हुनपर्छ भनेर नेमकिपाले संविधानसभामा ‘मृत्युदण्डको सजाय’ उल्लेख गराउन संघर्ष गरेको तर कांग्रेस,एमाले र माओवादीले नमानेको थापामगरले बताईन् र अब कानूनमा भ्रष्टचारी, देशद्रोही र राष्ट्रघातीलाई मृत्युदण्डको सजाय उल्लेख गर्न माग गरिन्। (पाना खबर)