नेपाली महिला विश्व सञ्जालद्वारा तुलसा फाउन्डेसनलाई सात लाख २४ हजार चार सय ८५ रुपैयाँ सहयोग हस्तान्तरण

काठमाडौं, २२ जेठ । नेपाली महिला विश्व सञ्जालले तुलसा फाउन्डेसनलाई सात लाख २४ हजार चार सय ८५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा नेपाली महिला विश्व सञ्जालकी अध्यक्ष सपना सेढाईँ थपलियाले तुलसा फाउन्डेसनकी अध्यक्ष सरु सुवेदीलाई उक्त रकम हस्तान्तरण गरेकी हुन् ।

ललितपुर महानगरपालिकाको वडा नं. २५ मा रहेको तुलसा फाउन्डेसनले तुलसालय आश्रममार्फत टुहुरा बालबालिका, वृद्धवृद्धा, मानसिक रोगीहरुलाई आश्रय दिइरहेको अध्यक्ष सुवेदीले बताईन् । उनले संस्था विधिवत रुपमा २०७५ सालमा दर्ता भएर निरन्तररुपमा बालबालिका, वृद्धवृद्धा र मानसिक रोगीहरुको हितमा काम गर्दै आइरहेको बताईन् । सो क्रममा उनले तुलसा आश्रमले धेरै मानसिक रोगीहरुलाई संरक्षण र उपचार गराई पुनर्जीवन प्रदान गरेको पनि बताईन् ।

उनले कोरोना महामारीको समयमा पनि आफूहरुले गरेको विभिन्न सहयोगको स्मरण गराईन् । अध्यक्ष सुवेदीले आफ्नै घरलाई गरिब दुःखीको सहयोगार्थ खर्चिएको बताईन् । अहिले ३७ जना बालकालिकाहरु तुलसालय आश्रमको संरक्षणमा रहेका पनि उनले बताईन् । नेपाली महिला विश्व सञ्जालकी अध्यक्ष थपलिया तुलसालय आश्रमको खम्बा बनेर उभिएको भन्दै उनले प्रशंसा गरिन् ।

नेपाली महिला विश्व सञ्जालकी अध्यक्ष सपना सेढाईँ थपलियाले आफूहरु विशेष गरेर महिलाको हक अधिकारको बारेमा लडिरहेको बताईन् । उनले आफूहरुले महिलाको सशक्तिकरणको पक्षमा एकतावद्ध भएर काम गरिरहेको पनि बताईन् ।

उनले विदेशी भूमिमा रहेर पनि नेपालीहरुको दुःख सुखमा साथ दिने प्रतिवद्धता व्यक्त गरिन् । सो रकम विभिन्न दाताहरु र कन्सर्टबाट संकलन गरिएको उनले बताईन् । उक्त रकम तुलसालय आश्रमले सही सदुपयोग गर्ने पनि उनले विश्वास व्यक्त गरिन् ।

उनले यसअघि पनि तुलसालय आश्रमलाई सहयोग गरेको स्मरण गराईन् । ‘हाम्रो संस्थाले विभिन्न संघ संस्थाहरुको कार्यक्रम हुँदाखेरी उहाँहरुलाई आवश्यक पर्ने सहयोगहरु गरिरहेका छौं । हामीले विशेषगरी आफ्नो मातृभूमिमै केही गरौं भन्ने उद्देश्यले कार्यक्रमहरु गरेर बालबालिकाको विकासका लागि काम गरिरहेका छौं,’– उनले भनिन् ।