बागलुङमा चैत ३० गतेदेखि नेपालकै प्रसिद्ध चैत्राष्टमी मेला सुरु हुने

नेपालकै महत्त्वपूर्ण मानिने बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा हुने चैते दसैँ मेला यो वर्ष चैत ३० गतेदेखि सुरु हुने भएको छ ।

परापूर्व कालदेखि चैते दशैको अवसरमा हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको मेला व्यवस्थापन समितिले जनाएको छ । बागलुङ कालिका मन्दरी गुठी व्यवस्थापन समितिले शुक्रबार काठमाण्डौंमा पत्रकार सम्मेलन गरेर चैते दशै मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने मेला लाखौंले अवलोकन गर्ने आयोजकको अनुमान छ । चैते दशै मेलामा राष्ट्रिय लोकदोहोरी प्रतियोगितासँगै, भलिबल प्रतियोगिता र छेलो प्रतियोगिता आयोजना गरिएको छ । नेपालकै सबैभन्दा ठुलो प्रतियोगितामा पर्ने लोकदोहोरी प्रतियोगिताका लागि ३३ टिम सहभागी हुने आयोजकको भनाई छ । यसका साथै मेलामा दैनिक स्थानीय तथा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ ।

७ दिनसम्म चल्ने मेलाको उद्देश्य परापूर्व कालदेखि चलिआएको परम्परा धान्दै स्थानीय उत्पादन, कला र संस्कृतिको प्रवर्धन गर्नु रहेको बागलुङ कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । यस वर्ष झन्डै ६० लाख खर्च हुने अनुमान गरिएको चैत्राष्टमी मेलामा दर्शकहरू टिकटबिनै निःशुल्क प्रवेश गर्न पाउने भएकाले लाखौं दर्शकले अवलोकन गर्ने अनुमान छ । चैत्राष्टमी मेलालाई पछिल्लो समय गुठी व्यवस्थापन समितिले व्यवस्थित गरी सञ्चालन गर्दै आएको छ । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै चैत्राष्टमी मेलाले पर्यटन प्रवर्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार तथा परम्पराको निरन्तरता दिन मेला आयोजना गरिँदै आएको अध्यक्ष खड्काले जनकारी दिए ।

पत्रकार भेटघाट कार्यक्रममा कालिका गुठी व्यवस्थापन समितिका बाग्लुङ्ग का सल्लाहकार कलाकार लक्ष्मण श्रीषले प्रसिद्ध चैत्राष्टमी मेलाको महत्त्वमाथि प्रकाश पार्दै यसले स्थानीय कला, संस्कृति र परम्पराको जर्गेना गर्ने बताएका थिए ।देशकै प्रसिद्ध र महत्त्वपूर्ण पर्वका रूपमा स्थापित चैत्राष्टमी मेलालाई देशव्यापी प्रचारप्रसार गर्ने उद्देश्यले काठमाण्डौमा गरिएको भेटघाट कार्यक्रममा बाग्लुङमा जन्मिएर देश विदेशमा ख्याति कमाएका कलाकार थानेश्वर गौतम, जुना श्रीस, राजेश बर्देवा, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका सचिव सुवास केसी र पत्रकार राजु सुवेदीले ऐतिहासिक महत्वको चैत्राष्टमी मेलाको विषयमा आफ्नो धारणा राखेको थिए ।

प्रसिद्ध बागलुङ कालिका मन्दिर परिसरमा हुने आफ्नो बेग्लै महत्त्व र इतिहास बोकेको चैत्राष्टमी मेलाले धार्मिक पर्यटनका लागि यात्रा गर्ने पर्यटकलाई आकर्षित गर्ने गरेको छ । यस मेलामा देशभरिबाट तथा भारतबाट समेत भक्तजन आउने गरेका छन् । तत्कालीन पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी मुकुन्द सेनकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिका मूर्ति घना जङ्गलको बिचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी खडक बोकेर आएका पुजारीहरूले नियमित पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ ।

चैते दसैँका अवसरमा बाग्लुङ कालिकाको दर्शन गर्ने तथा मेला हेर्न जानेहरूले घरायसी प्रायोजनका सामग्री डाला, नाङ्ला, ठेकी आदि वस्तुको किनमेल समेत हुने गरेको छ । प्रविधिको विकाससँगै परम्परागत घरायसी साम्रागीको प्रयोगमा कमी आउँदा यसको कारोबारमा कमी आए पनि बाग्लुङ कालिका मन्दिर र चैत्राष्टमी मेलाको महत्त्व झन् पछि झन् बढ्दै गएको देखिन्छ ।

चैत्राष्टमी मेलाका अवसरमा आयोजना हुने राष्ट्रिय लोकदोहोरी प्रतियोगिताका यसअघि प्रतियोगीको रूपमा लोकदोहोरी प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर, पूर्वअध्यक्षहरु बद्री पङ्गेनी, रमेश बिजी, चन्द्र शर्मा, कलाकार पशुपति शर्मा समेत सहभागी भइसकेकाले चैत्राष्टमी मेलाका अवसरमा हुने लोकदोहोरी प्रतियोगिताको महत्त्व थप बढेको देखिन्छ ।