नेशनल सोसल वेयलफेयर अवार्ड २०२३ बाट इन्द्र राज भट्टराई सम्मानित

काठमाडौँ- नेशनल सोसल वेयलफेयर अवार्ड २०२३ बाट अधिकारकर्मी इन्द्र राज भट्टराई सम्मानित भएका छन् । लामो समयदेखि मानव बेचबिखन र लैंगिक हिंसा विरुद्व अतुलनीय योगदान दिएका भट्टराईलाई चैत १३ गते काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा उपसभामुख इन्दिरा रानामगर र संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सो अवार्ड प्रदान गर्नुभएको हो । सिजन मिडिया प्रा. लिले विभिन्न विधाका गरी १६ व्यक्ति र संस्थालाई ११ औँ राष्ट्रिय समाजसेवा सम्मान (नेसनल सोसल वेयलफेयर अवार्ड) प्रदान गरेको छ ।

महिला, बालबालिका र जेष्ठ नागरिकको अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा विगत १५ बर्षदेखि भट्टराई क्रियाशील छन् । विगत १० बर्षदेखि उनी नेपाल लगायत भारत र अन्य मुलुक बाट बर्षेनी सयौं महिला र बालबालिकाको उद्वार र स्वदेशफीर्तिमा संलग्न रहदै आएका छन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको विज्ञ सदस्यको रुपमा मानव बेचबिखन नियन्त्रण राष्ट्रिय समिति सदस्य तथा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोको विज्ञ सदस्यको रुपमा मानव बेचबिखन बिरुद्ध अनुसन्धान र अभियोजन सम्बन्धमा अभिमुखीकरण तथा तालिम संचालन गरेको कार्य गरेको अनुभव उनीसँग छ ।

सामाजिक न्यायको क्षेत्रमा क्रियाशील भट्टराईले बिभिन्न शैक्षिक र सामाजिक नीतिगत क्षेत्रमा अध्ययन, अनुसन्धानसँगै सामाजिक क्षेत्रमा नयाँ–नयाँ कर्म गरेर निरन्तर अघि बढेका उनी सामाजिक न्यायसँगै मनोसामाजिक परामर्श, महिला सशक्तिकरण तथा नेतृत्व विकास, बाल विवाह, बालश्रम, लागु पदार्थ दुर्व्यसन लगायत विभिन्न तालिमको सहजीकरण गरेका छन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, शिक्षा मन्त्रालय, वातावरण मन्त्रालय लगायत बिभिन्न मन्त्रालयका बिभिन्न नीतिगत समितिहरूमा रही कार्य गरेको, तालिम सहजकर्ता भएको अनुभव उनमा छ । भट्टराईले लैंगिक हिंसा, मानव बेचबिखन बिरुद्ध, बालअधिकार लगायतको क्षेत्रमा अभियानको नेतृत्व गरेका छन् । उनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नल एवम् पत्रपत्रिकामा दर्जनौँ अनुसन्धानमूलक लेखरचना साथै सामाजिक र शैक्षिक बिषयहरुमा विभिन्न पत्रपत्रिका, टेलिभिजनहरु तथा युट्युब च्यानलमा अन्तरबार्ता प्रकाशित छन् ।