एनआरएनएमा कुनै पक्षलाई पनि आधिकारिक मान्दिनँ- उपप्रधानमन्त्री खड्का

दोहा,कतार, उपप्रधानमन्त्री एबं रक्षामन्त्री पूर्णबहादुर खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्रको विवादबारे पार्टी निकट जनसम्पर्क समितिको धारणा माग गरेका छन् । कांग्रेस उपसभापति समेत रहेका उनले चुनावमा जनसम्पर्क समितिका सदस्यहरु एकजुट हुन नसकेको भन्दै असन्तुष्टिसमेत ब्यक्त गरे ।
कतारमा खड्काको सम्मानमा जनसम्पर्क समिति कतारद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘म जनसम्पर्क समितिहरुलाई नै सोध्न चाहन्छु, एनआरएनएबारे तपाईंहरुको धारणा के हो ? जनसम्पर्कका साथीहरु तपाईहरु किन एकताबद्ध हुन सक्नु भएन, किन एक भएर चुनाव लड्नु भएन ?’
यही विषयबाट आधिकारिकताको प्रश्न उठ्ने भन्दै खड्काले यसबारेको विवादमा आफू अहिले प्रवेश गर्न नचाहेको बताए । उनले संसारभरी रहेका जनसम्पर्क समितिहरुले एकताबद्ध बन्नुपर्नेमा जोड दिए । ‘ संसारभरका जनसम्पर्क समितिहरुले नयाँ खोजी, नयाँ छलफल र नयाँ बहस चलाउन जरुरी देखेको छु’, उनले भने,जनसम्पर्क समितिमा ‘विगतदेखि कै समस्या देखिएको छ ।’
उनले अहिले आधिकारिक रुपमा आफूले कुनै एनआरएनएलाई पनि नमानेको आशय व्यक्त गर्दै निर्वाचनमा धाँधली भयो भन्नेमा पार्टी निकटकै जनसम्पर्क समिति नै रहेकाले जनसम्पर्क समितिले नै आफ्नो धारणा स्पष्ट गर्नुपर्ने बताए ।
गत ११ औँ विश्व सम्मेलनमा बद्री केसीको टीमबाट धाँधली भएको दाबी गर्दै कांग्रेस निकट उम्मेदवार महेश श्रेष्ठ र आरके शर्मा समुहले नतिजा अस्वीकार गरेका थिए । श्रेष्ठका साथै अर्का उम्मेदवार आरके शर्माले समेत नतिजा अस्वीकार गरेर शर्माको नेतृत्वको नयाँ कमिटी गठन गरिएको थियो ।
विश्व सम्मेलनबाट दुई कमिटी बनेपछि शर्माले आफूलाई आधिकारिकताको दाबी गर्दै आएका छन् भने केसी पक्षलेचाहिँ आफू नै आधिकारिक भएको दावी गर्दै आएको छ ।
यद्यपि दुबै समूहले हालसम्म छुट्टाछुट्टै गतिविधि गर्दै आएको छ भने विवादकै कारण एनआरएनएको दर्तासमेत नवीकरण हुन सकेको छैन ।
पररास्ट्र मन्त्रालयले एनआरएनएमा एकता नभएसम्म दर्ता नवीकरण नगर्ने बताउदै आएको छ ।