प्रचण्ड गणतन्त्रको नायक हो, राम्रो कामको लागि खुलेरै सहयोग गर्छौं : ऋषि धमला (भिडिओसहित)

काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गणतन्त्रको नायकको संज्ञा दिए । उनले अहिलेको मुलुकको व्यवस्थाको कुरा गर्दा प्रचण्ड नेपाली जनताले सँधैं सम्झिरहने नाम भएको उल्लेख गरे । उनले मुलुकको परिवर्तनको सूत्रधार प्रधानमन्त्री प्रचण्ड नै भएको पनि दाबी गरे ।

रिपोर्टर्स क्लब नेपालको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा उनले भने,‘म उहाँलाई तपाईँहरु सबैले ताली बजाएर स्वागत गरिदिनुहोस । ०५२ फागुन १ गते प्रचण्डले साहस र हिम्मत नगरेको भए देशमा यति धेरै परिवर्तन हुने थिएन । त्यसमा धेरैको विमति होला । राजनीतिक रुपमा यो देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र बनाउनको लागि प्रचण्डको महत्वपूर्ण भूमिका छ । १२ बुँदे सम्झौताबाट सुरु भएको शान्ति प्रक्रिया, आज विस्तृत शान्ति सम्झौता हुँदै संविधानसभाबाट संविधान जारी भएको संविधानको लागि प्रचण्डको महत्वपूर्ण भूमिका छ । यो कुरा भन्न हामीले डराउनुपर्दैैन् ।’

उनले प्रधानमन्त्री प्रचण्डलाई अहिले देश बनाउनको लागि सही समय रहेको सुनाए । उनले मुलुक र जनताको सामू आएका सबैखाले चूनौति सामाना गर्ने क्षमता प्रचण्डमा रहेको बताए । उनले मुलुक बनाउनको लागि राम्रो कामको लागि आफूहरुले खुलेर सहयोग गर्ने बताए । उनले सो क्रममा गिरिजाबाबुले शान्ति प्रक्रियालाई अघि बढाएको स्मरण गराए । उनले आफ्नो पत्रकारिता देश र जनताको हितमा हुने विश्वास दिलाए ।