चार हजार बढि धरानेहरुसंग संगै दौडिईन् शृंखला खतिवडा

ईटहरी/ धरान रन समूहद्वारा आयोजित ‘प्रभु बैंक १० के रन आठौं नेवा च्यारिटी रन आज सनिवार बिहान सम्पन्न भएको छ । यसपटक विभिन्न उमेर समूहका करिब ४ हजार भन्दा बढी धावक धाविकाले रनमा सहभागीता जनाएका छन् । यस पटक मलेसिया र बंगलादेशबाट समेत धावक, धाविकाहरुको सहभागीता रहेको छ । यस्तै, यूके, हङकङ, भारतलगायतका देशबाट पनि सहभागीता जनाएका छन् । रनमा धरानका मेयर तिलक राई, उपमेयर मन्जु भण्डारी सुवेदी, इप्रका धरानका डिएसपी, पूर्व मिस नेपाल श्रृंखला खतिवडाले पनि सहभागिता जनाएकि थिइन् । रनमा सहभागीहरु संगै पुर्व मिस नेपाल खतिवडा पनि दौडिएकि थिइन् । हेर्नुस भिडियो

प्रतियोगिताको खुल्लातर्फको महिला र पुरुष पहिलो, दोस्रो र तेस्रो बन्नेले क्रमसः नगद ५० हजार, ३० हजार र २० हजार प्राप्त गर्ने छन् । प्रथम पुरस्कारमा यसपटक १० हजार वृद्धि गरिएको हो । त्यसैगरी, १२ वर्षभन्दा मुनिका, १२ देखि १६ वर्षसम्मका र ४० वर्षमाथीका भेट्रानको महिला र पुरुषतर्फको पहिलो, दोस्रो र तेस्रोले क्रमस नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्ने छन् । धरानका स्थानीय धावक धाविकालाई प्रोत्साहन गदै पहिलो र दोस्रो हुने १ जना महिला र १ जना पुरुषलाई समेत पुरस्कृत गरिने छ । रन पूरा गरी आइपुग्ने २ हजार जना धावक धाविकालाई टिसर्ट र मेडल प्रदान गरिने छ । आयोजकका अनुसार रनबाट बचेको रकमले ‘नेवा एजुकेशन फण्ड’ अन्तर्गत धरानका सामुदायिक विद्यालयमा अध्ययनरत २४ जना जेहेन्दार तथा विपन्न विद्यार्थीलाई प्रदान गदै आएको छात्रवृद्धिलाई निरन्तरता दिइने छ ।