आमालाई घर बनाएर राख्‍ने पाल्पाका मोहनको सपना साउदीमै ढल्यो (भिडियो सहित)

पाल्पा । जुनबेला सुखी र खुसी हुने मनभरी सपना बोकेर नरमति जर्घा पूर्वखोला गाउपालिका–४ देविनगरको खुर्सानेडाँडाबाट जिल्लाको सदरमुकाम तानसेन आइपुगिन्। त्यहिबेला देखिनै त्यसको ठीक उल्टो उनको जीवनमा दुःखका दिनहरु सुरुवात भए। सुखभन्दा पनि उनलाई दुखले नै बढी घेर्न थाल्यो। ‘आजभन्दा २३ वर्ष पहिले सुख र खुसीको खोजीमा श्रीमानको साथ लागेर तानसेन बजारमा बस्नेगरी आएकी थिएँ’ ती दिन सम्झिदै उनले भनिन् ‘भाग्यले ठीक उल्टो ल्याइदियो। सुख र खुसी कस्तो हुन्छ भन्ने कुराको अहिलेसम्म महसुस गर्न पाएकी छैन्।’

तीन जना छोराछोरी गाउँबाट नै बोकेर आएकी थिए। तानसेन आएको एक वर्षमा कान्छो छोरा जन्मियो। सुत्केरी अवस्थामा पनि उनले मजदुरी गर्नु परेको थियो। उनको चारजना साना छोराछोरी थिए। ‘श्रीमानको एक्लो कमाइले खान बस्न पुग्दैनथ्यो’ उनले थपिन् ‘काखमा सानो बच्चा च्यापेर सिमेन्ट, बालुवा मुछ्ने र ढुंगा, इट्टा बोक्ने काम गरे।’ श्रीमान र आफुको कमाइले जेनतेन खानबस्न पुगेको थियो। तर केहि वर्षपछि आफुसँगै मजदुरी गर्दै आएका श्रीमानको मृत्यु भयो। श्रीमानको मृत्युको बेला छोराछोरी पनि साना थिए। अब ती छोराछोरी हुर्काउने सम्पूर्ण जिम्मेवारी नरमतिको काँधमा आयो। उनलाई झनै दुःखका भारीले च्याप्न थाल्यो। तरपनि एक्लो मजदुरीले छोराछोरीलाई हर्काइन्। दुइ छोरीको विहे भइसकेको छ भने जेठो छोराले बिहे गरिसकेका छन्। उनले आफ्नै परिवार हेर्दै आएका छन्। आफुसँग कान्छो छोरा बस्दै आएको नरमतिले बताइन्। पछिल्लो समयमा दुःखबाट मुक्त हुने आशामा रहेकी उनलाई अर्को बज्रपात निम्तिएको छ। आजभन्दा १० वर्ष पहिले ५५ वर्षीय श्रीमान् गुमाएकी ६० वर्षीय नरमतिलाई अहिले कान्छो छोरा गुमाउनु परेको अर्को पीडा थपिएको छ। अब हेरौ यो मार्मिक भिडियो ।