भौगोलिक अतिक्रमण र अखण्डताको लागि एकजुट हौं – नेपाल चलचित्र कलाकार संघ

काठमाडौँ : पछिल्लो समयमा भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत अन्य भूभागलाई आफ्नो नक्सामा आधिकारिक रुपमा समाबेस गरेकोप्रति नेपाल चलचित्र कलाकार संघको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको सम्प्रभुतामाथि भारतले गरेको अतिक्रमणबाट सिंगो देश आक्रान्त र क्षुब्ध छ । राष्ट्रिय स्वाधिनताको रक्षाको लागि आम नेपाली जनता भारतिय रवैया विरुद्ध एकजुट हुनु आजको आवश्यकता बनेको छ । यस संवेदनशील परिस्थितिमा नेपाली चलचित्र क्षेत्रका सम्पूर्ण कलाकारहरु भौगोलिक अतिक्रमण र अखण्डताको लागि जस्तोसुकै बलिदानी गर्न तयार रहेको स्पष्ट पार्न चाहान्छौं ।

इतिहासमा प्रष्ट रुपले छुट्याइएको नापि नक्साको प्रमाणलाई आधार मानि दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु, कूटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षको सहमतिमा, ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुङ्याउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको कदमको घोर भत्सर्ना गर्दछौँ ।